मादीका अपांगता प्रमाणित १३ बालबालिकालाई छात्रवृत्ति

समाधान संवाददाता २०७९ साउन १० गते १२:२८

पोखरा ।
स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराले प्रारम्भिक रुपमा पहिचान गर्दा कास्कीको मादी गाउँपालिकामा १३ बाल बालिकामा अपांगता भएको पाइएको छ । अपांगता भएका बालबालिकाको पढाइ सुधार गर्न सञ्चालित सबैका लागि पढाइ कार्यक्रमको अन्तर्गत स्वास्थ्यमा समस्या देखिएका ३० मध्ये ती बालबालिका अपांगता पहिचान भएको संस्थाका वरिष्ठ समावेशी शिक्षा अधिकृत सरिता केसीले जानकारी दिइन् ।

Advertisement

कार्यक्रमको समीक्षाको सन्दर्भमा उनले पालिकाका ५० विद्यालयका बाल विकास केन्द्रदेखि कक्षा ३ सम्मका १ हजार १ सय ७८ बालबालिकालाई प्रारम्भिक पहिचान कार्यक्रममा समेटेको बताइन् । ‘सबै बालबालिकामध्ये ३० जनाले स्वास्थ्य समस्या अनुसारको उपचार पाए,’ उनले भनिन्, ‘स्वास्थ्य समस्या देखिएका ३० मध्ये अपांगता पहिचान भएका १३ जनाले गाउँ पालिकाबाट छात्रवृत्ति पाएका छन् ।’

उनले अपांगता भएका बालबालिकाको स्वास्थ्य परीक्षणका लागि सिफारिस गरेको जानकारी दिइन् । संस्थाले कास्कीमा आवश्यकता अनुसार २७ बालबालिकालाई सहायक सामग्री वितरण गरेको छ । मादीका ५ बाल बालिकाले चस्मा पाएका छन् ।
संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी)ले ह्यान्डिक्याप इन्टरनेसनल, विश्व शिक्षासँगको साझेदारीमा कास्कीका सबै पालिकामा सबैका लागि पढाइ कार्यक्रम चलाएको छ ।

कार्यक्रममा पालिका अध्यक्ष देवीजंग गुरुङले हरेक विद्यालयका बालबालिकालाई समावेशी शिक्षाको अवधारणा अनुसार पठनपाठन गराउने जानकारी दिए । उनले बालबालिकालाई चाहिने सेवा सुविधाका लागि सामाजिक संघ, संस्थासँग समन्वय गर्ने बताए । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटा, शिक्षा शाखा प्रमुख खगेन्द्र लामिछाने, स्वास्थ्य शाखा प्रमुख गोपालचन्द्र बराल, संस्थाका समावेशी शिक्षा अधिकृतहरु लोकबहादुर गुरुङ र दिलमाया गुरुङले अपांगता भएका बालबालिकाको शिक्षा र स्वास्थ्यका बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया