रुपामाथि झोलुंगे पुल

भीमपाणि बराल २०७९ साउन ११ गते ११:१०

लेखनाथ ।
रुपा गाउँपालिका ६ भंगराकी ६२ वर्षीया मनमाया केसीलाई पोखरा जानपरे रुपाको खोलाको छेउ हुँदै बस चढ्नुपथ्र्याे । सोझै पोखरा जाने बाटो नहुँदा फेरो मार्नुको विकल्पै थिएन । अब भने उनी सिधै पचभैयाँ हुँदै पोखरा जान सक्ने भएकी छन् ।

Advertisement

रुपातालमाथि झोलुंगे पुल बनेपछि उनको बाटो छोट्टिएको हो । मनमाया जस्तै भंगाराका ३०/३५ घरका बासिन्दाको यात्रा अब सहज बनेको छ । झोलुंगो पुलको हुँदै पचभैयाबाट बेगनासताल भएर एक, डेढ घण्टामै उनीहरु पोखरा पुग्न सक्ने भएका छन् ।
पोखरा ३१ को पचभैया, सुन्दरीडाँडा, माझीकुना लगायत बेगनासका स्थानीयलाई पनि रुपाकोट जान सोझो बाटो बनेको छ ।

तालमाथि पुल बनेपछि यात्रा सहज हुनुका साथै पर्यटन प्रवद्र्धनसमेत हुने पर्यटन व्यवसायी दामोदरभक्त थापा बताउँछन् ।
गण्डकी प्रदेश सरकारले पोखरा ३१ को सिमलडाँडा र रुपा गाउँपालिकाको भंगरालाई जोड्ने गरी सागुरेटुँडाबाट बेलाउते टुँडासम्म २ सय ६९ मिटर लामो झुलुंगे पुल बनाएको हो । पुलले वारिपारिका बासिन्दालाई भौतिक रुपमा सहित भावनात्मक रुपमा समेत नजिक्याएको स्थानीय बताउँछन् ।

०७७ जेठबाट काम सुरु गरी ०७९ को असारमा पुलको काम सकिएको हो । १ करोड ३६ लाख ९६ हजार ७ सय ३० रुपैयाँ लागतमा पुल बनेको हो । १२ वटा फलामे लट्टा प्रयोग गरी निर्माण गरिएको पुल मंगलबार अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले उद्घाटन गरे । उनले यो पुलले भौगोलिक रुपले टाढा रहेका स्थानीयलाई भावनात्मक रुपले नजिक ल्याएको उल्लेख गरे ।

प्रदेश सरकारका बारेमा केही भ्रामक कुरा उठिरहे पनि ती कुरा कर्मले असत्य साबित हुने उनले बताए । सानातिना विकास, निर्माणको काम स्थानीय सरकार र ठूला योजना केन्द्रीय सरकारको मातहतमा रहँदा मझौला खालका योजना प्रदेश सरकारले बनाउने उनले बताए । यो पुल प्रदेश सरकारकै योगदानमा बनेको राम्रो उदाहरण भएको कोइरालाको भनाइ छ ।

Advertisement

पोखरा ३१ का वडाध्यक्ष ढकनाथ कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी दिननाथ ढकाल, ध्रवनाथ अधिकारी, सिमलडाँडा आमा समूहकी अध्यक्ष लक्ष्मी गुरुङ, इन्जिनियर हरि थापा र वडा नं ३१ की वडा सचिव दुर्गा न्यौपाने लगायतले बोलेका थिए । आगामी दिनमा भपुललाई आधार मानेर सडक र अरु पूर्वाधार बनाउन सरोकारवालाले आग्रह गरेका छन् ।

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया