कुश्मामा निर्माणाधीन पूर्वाधारको अनुगमन

समाधान संवाददाता २०७५ चैत २९ गते ११:१६

रामकृष्ण लामिछाने
पर्वत

कुश्मा नगरपालिकाले गाउँगाउँमा निर्माणाधीन पूर्वाधारको अनुगमन गर्न अभियान सुरु गरेको छ । आव ०७५÷०७६ मा नगरपालिकाका १४ वटै वडामा विभिन्न शीर्षकका आयोजना सुरु भएका थिए । केही वडाले आयोजना सम्पन्न गरिसकेकमा छन् ।

नगरपालिकाले सडक, खानेपानी बिजुली, विद्यालय भवन लगायत पूर्वाधार निर्माणमा करोडौं विनियोजन गरेको थियो । आवश्यकताका आधारमा नगरपालिकाको कार्यपालिकामार्फत बजेट विनियोजन गरेको उपप्रमुख सीता काफ्ले लामिछानेले बताइन् । कुश्मा नगरपालिकामा कुश्माबजारबाहेक सबै सडक कच्ची छन् । अन्यत्र पक्की सडक पुगेको छैन । खानेपानीदेखि विद्यालयका समस्या धेरै छन् । नगरपालिकाले सबै आवश्यकता पु्रा नगरे पनि साना योजनाको सम्बोधन गरेकोे छ ।

Advertisement

नगरपालिकाले योजनाहरु निरन्तर अनुगमन गरी बढी आवश्यक पर्ने ठाउँलाई प्राथमिकता दिएर योजना सञ्चालन गरेको उनले बताइन् ।
कुश्मा नगरपालिका १० मा सडक स्तरोन्नति र १२ मा सडक निर्माण भइरहेको छ । स्थानीय नागरिक हेम शर्माले भने,‘ नगरपालिका बनेको गाउँमा खानेपानीको समस्या समाधान हुन सकेको छैन । ’

नगरपालिकाले अहिले खानेपानी नभएको ठाउँमा खानेपानीको सुविधा पुर्‍याउन, सडक सहज बनाउन, सिचाइको सुविधा दिन तल्लीन रहेको बताउँछ । नगरवासीको विकासको चाहनासँगै पूर्वाधारको गुणस्तरमा विशेष ध्यान छ ।

Advertisement

नागरिकको चाहना बढी र बजेट कमी भएका कारण नगरपालिकाले आवश्यकता अनुसारको काम गर्न नसकेको नगरपालिकाले जनाएको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा आएको नेताहरुले बताइरहँदा अहिलेसम्म पनि सिंहदरबार गाउँमा आएको महशुस गर्न नपाएको नगरवासीले गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया