समृद्धिका लागि सिद्धार्थ लोकमार्ग स्तरोन्नति

समाधान संवाददाता २०७९ साउन २४ गते १०:४५

पोखरा ।
सिद्धार्थ आर्थिक करिडोरका स्थानीय तहका प्रमुखहरुको मञ्च (मेयर्स फोरम)ले सिद्धार्थ आर्थिक करिडोरको मुल आधार सिद्धार्थ लोकमार्गको स्तरोन्नति लगायतका भौतिक पूर्वाधारलाई सामूहिक तथा संस्थागत रुपमा अगाडि बढाउने निर्णय गरेको छ ।

मञ्चले लोकमार्गको स्तरोन्नति लगायत अन्य पूर्वाधार विकासका आयोजनालाई यथाशीघ्र अगाडि बढाउनको लागि सामूहिक रुपमा प्रतिवद्धता गरेको अध्यक्ष तथा तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले जानकारी दिए । पोखरामा भएको सिद्धार्थ आर्थिक करिडोरः सिकाई गोष्ठी तथा प्रभावकारी स्थानीय सेवाका लागि सार्वजनिक निजी साझेदारी (सानिसा) विषयक कार्यक्रमपछि जारी संयुक्त पोखरा घोषणापत्रमा लोकमार्गलाई फराकिलो बनाउन बजेट विनियोजन गर्नका लागि पहल गर्ने उल्लेख छ ।

समय समयमा मर्मत संहार नहुँदा पोखरादेखि सुनौलीसम्मको लोकमार्ग जीर्ण छ । धेरै ठाउँमा घुम्ती र साँघुरो भएकाले दूरी छोटो भएता पनि यात्रा गर्दा धेरै समय लाग्ने भएकाले त्यसको सट्टामा द्रुतमार्ग (फास्टट्रयाक) निर्माणको गर्नुपर्ने सबाल बेला बखत उठ्ने गरेको छ । पोखरादेखि सुनौलीसम्मका १५ स्थानीय तहले विगत ३ वर्षदेखि साझा मञ्च बनाएका छन् । लोकमार्गको स्तरोन्नति लगायत अन्य विकास निर्माणका पूर्वाधारलाई अगाडि बढाउने निर्णय भएको फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

Advertisement

तानसेन नगरपालिकाका योजना अधिकृत विष्णु पौडेलले मञ्चको कामलाई छिटो र छरितो बनाउन सबै जिल्लाका पालिकालाई समेटेर सानो टिम बनाएर काम थाल्ने निर्णय गरेको सुवेदीले जानकारी दिए । उनले टिमले कार्यक्रम तथा कार्ययोजना बनाएर सूचनाआदान प्रदान गर्ने बताए । मञ्चमा आबद्ध सबै नगरपालिकाले सिद्धार्थ आर्थिक करिडोरको समग्र विकासका लागि आफ्नो नीति कार्यक्रममा समेट्न पर्ने र बजेट विनियोजन गर्नुपर्ने बताए । करिडोर क्षेत्रको कार्यक्रमलाई केन्द्र विन्दुमा राख्न सबै पालिकाले फोकल पर्सन तोक्ने निर्णय भएको छ ।

पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पृथ्वी राजमार्गभन्दा सिद्धार्थ लोकमार्ग आसपासको क्षेत्रलाई नयाँ ढंगले विकास गर्नुपर्ने विचार राखे । सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार सिद्धार्थ आर्थिक करिडोर क्षेत्रमा सबै पालिकाको संयुक्त परियोजना सञ्चालन गर्न आवश्यक भएको उल्लेख गर्दै मेयर आचार्यले करिडोर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नेटवर्क आवश्यक भएको जनाए । उनले स्थानीय तहको अलावा पोखरादेखि सुनौलीसम्मका उद्योग वाणिज्य संघ, पर्यटन व्यवसायीका संस्थासमेत एकसाथ अगाडि बढ्नुपर्ने बताए ।

Advertisement

बुटवल उपमहानगरपालिकाका मेयर खिलराज पाण्डेले लोकमार्गमा सिद्धबाबाको पहिरोको जोखिमलाई कम गर्न बुटवलदेखि दोभानसम्म ५ किलोमिटरको सुरुङमार्गलाई प्राथमिकतामा राखेर काम भएको जानकारी दिए । कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले प्राकृतिक नगरी पोखरा र सांस्कृतिक नगरी जनकपुरसँग मित्रवत सम्बन्ध आवश्यक भएको उल्लेख गरे ।

समुन्नति परियोजना (इपिआई)का टिम लिडर डा हीरामणि घिमिरेले सार्वजनिक निजी साझेदारीको अवधारणालाई करिडोरमा आवद्ध स्थानीय तहमा मूर्त रुप दिन स्पष्ट नीतिगत मार्गदर्शन र कानुनी तथा संस्थागत संरचना आवश्यक भएको बताए । तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले सिद्धार्थ आर्थिक करिडोरका सिकाई र सन्देशलाई अभिलेखमा व्यवस्थित गर्नेदेखि मेयर्स फोरमको सचिवालयलाई सुदृढ र संस्थागत बनाएर लैजाने निर्णय भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया