भदौ १ गतेदेखि व्यास नगरपालिकामा निःशुल्क सेवा

समाधान संवाददाता २०७९ साउन २४ गते १४:०४

तनहुँ ।
व्यास नगरपालिकाले आगामी भदौ १ गतेदेखि सेवाग्राहीका लागि आवश्यक पर्ने निवेदनको फोटोकपीमा लाग्ने खर्च निःशुल्क गर्ने भएको छ । व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको नियमित बैठकले उक्त निर्णय गरेको हो ।

व्यास नगरपालिका मातहतका १४ वटै वडामा उक्त सेवा निःशुल्क गर्न लागिएको नगरपालिकाका प्रवक्ता एवं व्यास– ६ का वडाध्यक्ष जीवन गुरुङले जानकारी दिए । नगरपालिकाको मूल कार्यालयमा शुल्क नलाग्ने टेलिफोन कल सेन्टरसमेत प्रयोगमा ल्याई निःशुल्क सेवा दिने निर्णय गरिएको हो ।

आव २०७९/८० का बजेट कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि वार्षिक कार्ययोजना निर्माण गर्न प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मा दिने निर्णय गरिएकोे छ । नगरपालिकाभित्रका सामुदायिक माध्यमिक विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापकको सयुक्त बैठक राखी एसइईको नतिजाको विश्लेषण गर्ने निर्णय पनि गरिएको छ । साउन २४ गते मङ्गलबारका दिन विश्व आदिवासी जनजाति दिवसका अवसरमा सार्वजनिक बिदा दिइने भएको छ ।

Advertisement

विश्व आदिवासी जनजाति दिवस साउन २४ गतेका दिन नगरपालिका अन्तर्गतका अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको हो । सितलचोक युवा क्लबद्वारा आयोजित मेयर कप फुटवल प्रतियोगिता र अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका लागि सहयोग गरिने भएको छ । नगरपालिका अन्तर्गतका मादी–सेती नदीबाट उत्खनन हुने ढुंगा गिट्टी बालुवा उत्खननसम्बन्धी प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरिएकोे छ ।

महालेखा परीक्षकको कार्यालयबाट प्राप्त आव २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन कार्यपालिका बैठकमा प्रस्तुत गरी बेरुजु फर्छर्यौट अभियानलाई तदारुकता दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया