राधाकृष्ण गुरुकुलमा नयाँ भवन

पोखरा ।
पोखरा महानगरपालिका ३२ श्यामघाट (लामेआहाल) स्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको नवनिर्मित ४ कोठे भवन उद्घाटन गरिएको छ । बिहीबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भवन उद्घाटन गरे ।
प्रमुख आचार्यले अनुशासन, असल आचरण र नैतिक शिक्षामा आधारित संस्कृत शिक्षाको थप विकास र सुदृढीकरण आवश्यक रहेको बताए । आधुनिकताको विकाससँगै व्यक्तिमा आत्मानुसासन प्रवद्र्धनमा संस्कृत भाषा तथा गुरुकुल विद्यालयको योगदान महत्त्वपूर्ण रहेको उनले बताए ।
नवनिर्मित भवनले सहज सिकाइका लागि विद्यार्थीको मनोबल उच्च हुनुका साथै हौसला र प्रोत्साहनसमेत मिल्ने उनले विश्वास व्यक्त गरे । विद्यालयको भौतिक संरचना निर्माण तथा शैक्षिक सुधारका लागि पोखरा महानगरपालिकाको तर्फबाट थप सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।
पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले संस्कृत तथा गुरुकुल शिक्षामा विद्यालय अग्रणी रहेको बताए । विद्यालय सञ्चालनमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसंग आवश्यक समन्वय तथा पहल गर्ने उनले आश्वासन दिए ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिकामार्फत प्राप्त ३६ लाख र जनश्रमदान तथा दाताको सहयोग गरी भवन निर्माणमा ४१ लाख ६५ हजार खर्च भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिभक्त सिग्देलले जानकारी दिए । आर्थिक अभावका कारण विद्यालयमा अझै पनि व्यवस्थित शौचालय र खानेपानीको अभाव रहेको सिग्देलले सुनाए ।
कक्षा ६ देखि १० सम्म पढाई हुने यो विद्यालयमा २५ विद्यार्थी आवासीय सुविधासहित अध्ययनरत छन् । प्रधानाध्यापक प्रकाश उपाध्याय रेग्मीले महानगरको सहयोगमा ५ शिक्षक कार्यरत रहेको र हालसम्म दरबन्दीको व्यवस्था नभएको उल्लेख गरे । दरबन्दी नहुँदा शिक्षकहरूले न्यूनतम पारिश्रमिकमा पढाउनुपर्ने भएका कारण स्थायी रूपमा शिक्षकलाई रोक्न नसकिएको गुनासो रेग्मीको छ ।
२०७० मा स्थापित यो विद्यालयले २०७१ सालदेखि पठनपाठन सुरु गरेको थियो । विद्यालयमा हाल नेपाली, सामाजिक, गणित, अङग्रेजी, वेद, संस्कृत भाषा, कर्मकाण्ड र व्याकरण लगायत विषय पढाइ हुन्छ । विद्यालयबाट एसइईका २ ब्याच विद्यार्थी पास आउट भइसकेका छन् ।









फूलबारीको प्रगति टोल विकास संस्थामा गुप्ती गुरुङ
प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीबाट एमालेमा युवा आकांक्षी कम
आचारसंहिता कडा, बालबालिका प्रयोग गर्न र टोपी–टिसर्ट बाँड्न रोक
गोरखाका ७०६ विद्यार्थीलाई न्यानो कपडा : चिसोमा स्कुल जान सहज
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया