
पोखरा ।
पोखरा संसारभरका पर्यटकले घुम्न आउने ठाउँ हो । तर, कमै देशका सरकार तथा राष्ट्रप्रमुखको पाइला यो सहरमा परेको छ । औंलामा गन्न सकिने ती भिभिआइपीमध्ये एक थिइन् बेलायती महारानी एलिजाबेथ द्वितीया । ७ दशक बेलायतकी महारानी रहेकी उनी विसं २०१७ फागुन १९ मा पोखरा आएकी थिइन् । महारानीसँगै उनका श्रीमान् ड्युक अफ एडिन्बरा फिलिप पनि संगै आएका थिए ।
पोखरा विमानस्थलमा शाही पाहुनाको भव्य स्वागत गरियो । एलिजाबेथ र फिलिपको स्वागतका लागि पोखरा विमानस्थलमा २ सय भूतपूर्व गोर्खा सैनिक सहभागी थिए । पोखरामा देशैभरबाट गोर्खा पूर्वसैनिकहरु स्वागतका लागि पुगिसकेका थिए ।
उनीहरूको नेतृत्व भिक्टोरिया क्रस विजेता क्याप्टेन लालबहादुर थापाले गरेका थिए । पोखरा विमानस्थलमा पोखराका विद्यालयका छात्रछात्राहरुलाई पनि लगिएको थियो । ‘पोखरा उपत्यकाका त्यतिबेलाका स्कुलका सम्पूर्ण विद्यार्थी, शिक्षकहरुसहित एयरपोर्टमा भेला हुने र स्वागत गर्ने लाइनमा बसेर भन्ने दृष्टिकोणबाट सहभागिता भएको हो,’ बाल्यकाललाई सम्झिँदै कृषि वैज्ञानिक अनिल सुवेदीले भने ।
बेलायतमा सबैभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बुधबार निधन भएको छ । उनका श्रीमान् फिलिपको २०७७ चैतमा निधन भएको थियो । सुवेदीले सामाजिक सञ्जालमा महारानीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको पोखरा भ्रमण पनि सम्झिएका छन् ।
आमाले स्वागत समितिमा रहेर महारानीलाई स्वागत गरेको सुवेदी बताउँछन् । ‘मेरी आमा कृष्णकुमारी सुवेदी तत्कालीन समयमा कास्की जिल्ला महिला संगठनको सभापति हुनुहुन्थ्यो । स्वागत समितिमा मेरो आमा पनि सहभागी हुनुहुन्थ्यो । स्वागत समितिमा एकजनामात्र महिला मेरी आमा हुनुहुन्थ्यो, उहाँले चाहिँ एयरपोर्ट भित्रपट्टि स्वागत गर्न बस्नुभएको हो,’ उनले भने ।
महारानी एलिजाबेथका श्रीमान् फिलिपलाई परिचय दिँदै आमा कृष्णकुमारीले स्वागत गरेको फोटो रहेको कृषि वैज्ञानिक सुवेदी बताउँछन् । ‘मेरी आमाले स्वागत गर्ने क्रममा त्यतिबेलाको फोटोग्राफीको स्थितिमा रानीसँगको फोटोग्राफी त भएन सायद छुट्यो होला,’ उनले भने, ‘तर महारानीका श्रीमान् फिलिपसँगको फोटोग्राफ अहिले पनि छ ।’
महारानीको स्वागतका लागि एयरपोर्टमा गेट बनाउने, मञ्च सजाउने काम आफ्नो बाबुले गरेको इतिहास अध्येता सुनील उलक बताउँछन् । महारानी दम्पतीको स्वागतका लागि स्वागतद्वारहरु बजारभरि बनाइएको थियो । भीमसेन टोलका स्थानीयहरुको सक्रियतामा बनाइएको सेलरोटीको स्वागतद्वारको चर्चा त्यो बेला निकै चलेको थियो,’ बाबु जगन्नाथ उलकलाई उद्धृत गर्दै सुनीलले भने ।
आफ्नो बुबाले सो समयका फोटोहरु खिचेको सुनील बताउँछन् । ‘भीमसेन टोलमा भुत्तेको नामले प्रख्यात सिद्धिलाल चुल्याजुले सेलरोटी बनाएका थिए । सजाउने काम सबै टोलबासी मिलेर गरेका थिए । सोही दिन महारानीका तर्फबाट भारतीय पेन्सन क्याम्पमा पूर्व गोर्खा सैनिक पत्नीहरुलाई लुगा सिलाउने हाते मेसिन उपहार दिइएको थियो,’ सुनीलले फेरि आफ्नै बाबुलाई उद्धृत गरे ।
महारानी एलिजाबेथले पोखरा टुँडिखेलस्थित तत्कालीन मिसन हस्पिटल पनि अवलोकन गरेकी थिइन् । त्यहाँबाट रानी एलिजाबेथ जिपमा र उनका श्रीमान् प्रिन्स फिलिपले भने हिँ पैदल फर्किएका थिए । विन्ध्यवासिनीसम्मै उनी हिँडेर आउने इच्छा गरेपछि तत्कालीन युवराज वीरेन्द्रले साथ दिएको पुराना लिखतहरुमा भेटिन्छ । पोखराअघि महारानी एलिजाबेथ दम्पतीले टोली चितवन भ्रमण गरेको थियो । एलिजाबेथ गोर्खाली सैनिकलाई माया गर्ने राष्ट्र प्रमुखका रुपमा थिइन् ।
बेलायतको दैनिक पत्रिका द गार्डियनका अनुसारका एलिजाबेथका जेठा छोरा ७३ वर्षीय चाल्र्स नयाँ राजा घोषित भएका छन् । नेपाल सरकारले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा तीन दिन शोक मनाउने भएको छ ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया