महेन्द्र गुफामा विकास परियोजना सुरु

पोखरा ।
पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफामा गण्डकी प्रदेश सरकारको सहयोगमा बृहत् विकास परियोजना सुरु भएको छ ।
सामुदायिक विद्यालयतर्फ नेपालकै पहिलो नमुना विद्यालय विन्ध्यवासिनी माध्यमिक विद्यालय, बाटुलेचौरको संरक्षण तथा व्यवस्थापनमा संचालित महेन्द्र गुफामा विद्यालयले तयार पारेको व्यवस्थित विकासको गुरुयोजना अनुरुप एक वर्षभित्र सक्ने गरी विभिन्न योजना समेटिएको परियोजना सुरु भएको हो ।
महेन्द्र गुफा परिसर सुधार तथा विभिन्न पूर्वाधार निर्माण कार्यको आइतबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास एवं यातायात व्यवस्था मन्त्री कुमार खड्काले शिलान्यास गरे । मन्त्री खड्काले पोखराभित्रका विभिन्न पर्यटकीय क्षेत्रलाई एकापसमा जोड्ने गरी योजना वनाउनुपर्नेमा जोड दिए ।
पोखरा पर्यटनको राजधानी भएको बताउँदै मन्त्री खड्काले पर्यटकीय क्षेत्रको सुधारबाट मात्रै आर्कषण बढाउन सकिने स्पष्ट पारे । उनले पोखरा १६ मा रहेका पर्यटकीय क्षेत्रलाई लक्ष्य गरी तीन पांग्रे सवारी चलाउने विषयमा छलफल चलिरहेको सुनाए ।
पूर्वाधार कार्यालयका प्रमुख ई डा. महेन्द्र बानियाँले प्राकृतिक गुफाको अस्तित्वलाई वचाएर यसको सौन्र्दयकरण गर्नुपर्ने विचार राखे ।
सहरी विकास तथा भवन कार्यालयका सिनियर डिइ सोभियत खड्काले परियोजना सम्पन्न भएपछि महेन्द्र गुफामा पर्यटकको थप आर्कषण वढ्ने विश्वास व्यक्त गरे । विद्यालय व्यवस्थापन समिाि अध्यक्ष चन्द्राकुमारी अधिकारी थापाले महेन्द्र गुफा र चमेरे गुफाको व्यवस्थित विकास गर्न विद्यालयले गुरुयोजना तथार पारेको र सो अनुरुप कार्य सुरु भएकोमा खुसी व्यक्त गरिन् ।
ठेकेदार कम्पनी लुना बिल्डर्सका इन्जिनियर व्रह्मकुमार श्रेष्ठ, महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समिति संयोजक गुरुदत्त भट्टराई, विन्ध्यवासिनी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ लगायतले कार्यक्रममा बोलेका थिए ।
आगामी १ वर्षभित्र सम्पन्न हुने परियोजना अन्तर्गत जमिन सम्याउने, गन्धर्व संग्रहालय, म्युजियम, एम्पिथियटर हल, एसेम्बली हल, मेस र गार्डेन निर्माण हुने सहरी विकास तथा भवन कार्यालयले जनाएको छ । यसका लागि लुना बिल्डर्स एन्ड कन्ट्याक्टर प्रालिले ८ करोड ५६ लाखमा सम्झौता गरी काम थालेको छ ।
तपाईको प्रतिक्रिया