अधिकृतबीच शुभकामना आदानप्रदान

समाधान संवाददाता २०७९ असोज ९ गते १५:१३

पोखरा ।
कस्केली अधिकृत समाज कास्कीले विजयादशमी, दीपावली तथा छठ लगायतका पर्वको अवसरमा शुभकामना आदनप्रदान गरेको छ । राष्ट्रिय चाडका अवसरमा शुभकामनासँगै स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले बताए ।

Advertisement

सो अवसरमा मृगौला तथा मुटुरोगसम्बन्धी सचेतनासमेत दिइएको थियो । वरिष्ठ युरोलोजिस्ट डा प्रकाश क्षेत्रीले प्रत्येक व्यक्ति आफ्नो स्वास्थ्यप्रति बेलैमा सचेत बनेमा मृगौला रोगबाट बच्न सकिने बतए । पिसाब कम हुने तथा रगत देखा पर्ने, बान्ता हुने, हातखुट्टा तथा अनुहार सुनिने, शरीर चिलाउने, निन्द्रा नलाग्ने, उच्च रक्तचाप बढ्ने, खाना नरुच्ने जस्ता समस्या भएमा मृगौलामा गडबडी हुन सक्ने उनले औंल्याए ।

डा क्षेत्रीले भने, ‘यस्ता लक्षण देखिए हेलचेक्रयाई गर्नु हुँदैन । स्वास्थ्य परीक्षण गराउनुपर्छ ।’ सामान्यतः नून कम खाने, दुखाईका औषधी जे पायो, त्यही नखाने, नियमित स्वास्थ्य परीक्षण गराउने गरेमा यसबाट जोगिन सकिने उनको सुझाव छ । मृगौलाको पोखरामा सफल प्रत्यारोपण हुने गरेको जानकारी दिँदै उनले यसको सबै किसिमको रोगको उपचार पोखरामा नै सम्भव रहेको जनाए । मृगौला प्रत्यारोपण नियमित सेवाका रुपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निशुल्क उपलब्ध छ ।

Advertisement

कन्सल्टेन्ट फिजिसियन डा विश्वराज बरालले पछिल्लो समय फैलदै गएको डेंगुका कारण थप सजग हुनुपर्ने बताए । डेंगुबाट जोगिनका लागि लामखुट्टे बस्न सक्ने पानी जमेका स्थानको सरसफाइमा ध्यान दिन उनले आग्रह गरे । धेरै लामो समयसम्म ज्वरो आउने, बान्ता हुने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य परीक्षण गराउन उनले सुझाए ।

कार्यक्रममा समाजका सल्लाहकार दुर्गाबहादुर शाह(बाबा), भगवान पन्त, प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल, विश्वनाथ पराजुली, समाजका उपाध्यक्ष लोकनाथ दवाडी, सचिव महेश पौडेल लगायतले चाडपर्वले सबैमा सुख शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया