ह्यान्डबलमा गण्डकीलाई स्वर्ण पदक

समाधान संवाददाता २०७६ वैशाख ११ गते १५:११

समाधान संवाददाता
पोखरा

नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मंगलबार भएको भएको पुरुषतर्फको ह्यान्डबल खेलमा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । नेपालगञ्ज रंगशाला परिसरमा भएको फाइनलमा गण्डकी प्रदेशले विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफलाई ३७—३३ गोल अन्तरले पराजित गर्दै समूहतर्फ पहिलो स्वर्ण पदक प्राप्त गरेको हो ।

गण्डकीको जितमा सन्तोष श्रेष्ठले सर्वाधिक १६ गोलको योगदान दिए । कप्तान विशाल बस्नेतले ८, शरन थापाले ५, दिनेश श्रेष्ठले ४, चन्द्र केसीले ह्याट्रिक र विमल थापाले १ गोलको योगदान दिए । एपिएफका लोकेन्द्र चन्द र सञ्जीप कार्कीले समान १० गोल गरेका हुन् । खेलको सुरुवातमै गोल खाँदै ६–२, ९–३ को नजितालाई पुनरावलोकन गर्दै गण्डकीले पहिलो हाफ

Advertisement

१२–१२ गोलमा बराबरीमा पुर्‍याउन सफल भएको थियो । दोस्रो हाफमा सुधार गर्दै गण्डकीले जित हासिल गरेको हो ।

महिलातर्फको ह्यान्डबलमा त्रिभुवन आर्मीले स्वर्ण पदक जितेको छ । फाइनलमा आर्मीले एपिएफलाई १७–१४ को गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक हात पा¥यो । आर्मीको जितमा कविता राइले सर्वाधिक ८ गोल गरिन् । एपिएफकी साधना बमले ४ गोल फर्काइन् ।

Advertisement

महिलातर्फको ह्यान्डवल खेलमा गण्डकी प्रदेशले कास्य पदक प्राप्त गरेको छ । मंगलबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई ७–५ को गोल अन्तरले पराजित गर्दै कास्य पदक हात पारेको हो । गण्डकीको जितमा योगिता गुरुङले सर्वाधिक ४ गोलको योगदान दिइन् । कोमली खड्का, स्वेता गुरुङ र निश्मा बस्नेतले समान १ गोल गरे ।

प्रदेश नम्बर १ का जिना राइ र निशा राइले समान २ गोल र रमिला बस्नेतले १ गोल गरे । प्रदेश नम्बर १ का खेलाडीले पटक पटक पोस्टमा प्रहार गरेको बल गण्डकी प्रदेशका गोलरक्षक विमला भुजेलको विफल पारिन् । उनले करिब ४ वटा वान भर्षेस वान वल उत्कृष्ट बचाउ गरेकी हुन् ।

पुरुष तर्फको ह्यान्डवल खेलमा त्रिभुवन आर्मीले कास्य पदक हात पारेको छ । नेपलागञ्ज रंगशाला परिसरमा मंगलबार बिहान भएको खेलमा आर्मीले प्रदेश नं ३ लाई ४२–२४ गोलको फराकिलो अन्तरले पराजित गर्दै कास्य पदक हात पारेको हो ।

ह्यान्डबलमा नेपाल पुलिस र एनआरएनएबाहेक ९ टिमको सहभागिता थियो । वैशाख ५ गते प्रतियोगिता सुरु भएको हो ।

तपाईको प्रतिक्रिया