सडक दुर्घटना घटाउन प्रशिक्षण

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पोखरा बस महानगर कमिटीले पोखराका नगर बसमा कार्यरत यातायात मजदूरलाई सडक (सवारी) दुर्घटना न्यूनीकरणसम्बन्धी प्रशिक्षण दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रकाश शाहले उद्घाटन गरेको कार्यक्रममा वरिष्ठ ट्राफिक प्रहरी निरीक्षक प्रविण आचार्यले ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणको विषयमा प्रशिक्षण दिए । कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक शाहले सवारी ऐन नियमको पालना गरे ट्राफिक व्यवस्थापनमा सहज हुने बताए ।
‘सवारी चालक, पैदलयात्री लगायत सरोकारवाला सबैले सवारी ऐन नियमको पालना गरे तपाई, हामी सबै सफल हुन्छौं,’ उनले भने, ‘सबै सरोकारवाला जिम्मेवारी र जवाफदेही भए सवारी दुर्घटना कम गर्न सकिन्छ ।’ उनले यातायात मजदूर र ट्राफिक प्रहरीको कार्यक्षेत्र सडक भएको उल्लेख गरे । उनले ट्राफिक प्रहरीको पहिलो साथी यातायात मजदूर भएको उल्लेख गरे ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपमहासचिव तथा गण्डकी इन्चार्ज विष्णुबहादुर पराजुलीले ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणका लागि संगठनले ‘म जिम्मेवार यातायात मजदूर’ भन्ने सचेतनामूलक कार्यक्रम चलाएको जानकारी दिए । संगठनका गण्डकी प्रदेश अध्यक्ष विष्णुबहादुर केसीले संगठनले ट्राफिक प्रहरीसँग दसैं, तिहार, छठ लगायतका चाड पर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन र सडक सुरक्षाका लागि साझा प्रस्तावपत्र अनुसार काम गर्ने बताए ।
कार्यक्रममा संगठनका गण्डकी प्रदेश कमिटी उपाध्यक्ष श्यामकुमार बजगाईं, पोखरा बस महानगर कमिटी अध्यक्ष बेनीराज थिङ, सचिव किशोर घिमिरेले सवारी दुर्घटना न्यूनीकरणका लागि सक्रियतापूर्वक लाग्ने बताए । प्रशिक्षणमा पोखरा नगर बसमा कार्यरत १ सय ४ यातायात मजदूरको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया