वर्षाले लोकमार्गका दर्जनौं स्थानमा पहिरो, सयौं यात्रु अलपत्र


बागलुङ ।
चार दिनदेखि निरन्तर परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रूकम खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। सडक खण्डको निसीखोला गाउँपालिका–४ जिरीखोला, कालापैराखोला लगायत दर्जनौं स्थानमा माथिदेखि झरेको पहिराले सडक अवरूद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन्।
बुर्तिबाङ बजारदेखि छोटो तथा लामो दुरीमा सञ्चालन हुने सवारी साधानसमेत ठप्प बनेका छन्। लोकमार्गमा बिहीबारदेखि नै सवारी साधानहरू ठप्प भएका छन् भने आधा दर्जन गाडी पहिरोमै फसेका छन्। पहिरामा फसेका सवारी साधन निकाल्ने प्रयास भए पनि निरन्तर वर्षा भइरहेको हुँदा निकाल्न नसकिएको बस चालक प्रकाश सेन्चुरीले बताए। उनी ३७ जना यात्रु लिएर रूकुमदेखि काठमाडौं हिँडेका थिए। अहिले कालापैराको पहिरामा फसेका छन्।
दसैं मनाएर काठमाडौं फर्किएका यात्रु लिएर आएको उनी बताउँछन्। ‘दसैंको अघिल्लो दिनदेखि परेको पानीले सडक हिलाम्मे बनाएको छ, मेरो गाडी पहिरामा फसेको दुई दिन हुन लाग्यो, ३७ जना प्यासेन्जर लिएर काठमाडौं हिँडेको पहिरामा गाडी फसेर तनाव भयो,’ उनले भने । रूकुमदेखि काठमाडौं हिँडेका प्रेम पुन मगरले पहिराका कारण आफूहरू अलपत्र परेको बताए। उनले सानो बजार नजिकै पहिरामा गाडी फसेपछि बास पाउनसमेत मुस्किल परेको जानकारी दिए।
‘यस्तो समस्यामा परिन्छ भनेको भए त पानी बिदो भएपछि हिँड्ने थियौं। काठमाडौं पुग्न हतार थियो र हिँडियो। अहिले बीच बाटोमा अलपत्र परियो। यो पहिरो कहिले पन्छाएर बाटो खुलाउने हो, पानी परिरहेको छ, गाह्रो हुने भयो,’ उनले भने। पहिराले सडक पूर्ण रूपमा अवरुद्ध हुँदा जिरीखोला र कालापैरा खोलाको पहिरो छेउमा सयौं संख्यामा यात्रुहरू अलपत्र छन्। लोकमार्गको वैकल्पिक सडक पनि ठप्प हुँदा यात्रुहरू समस्यामा परेको स्थानीय मनप्रसाद पौडेलले बताए।
‘गाउँपालिकाले पारिपट्टिको सडक सञ्चालन गर्नुपर्थ्यो। अहिले यसरी सयौं मान्छेहरू बीच बाटोमा अलपत्र पर्नुपरेको छ, पारिको सडक खुलेको भए त बुर्तिबाङ त पुग्न सक्थे नि,’ उनले भने, ‘यो सडक खुल्ने कहिले हो, नखुल्दासम्म यात्रुहरूलाई धेरै समस्या हुने भयो, खुलाउने प्रयास त गरेका छन्, कति बेला खुल्ने हो अब ?
बुर्तिबाङदेखि रूकुम र रूकुमदेखि काठमाडौं, बागलुङ, पोखरा जाने गाडीहरू लोकमार्गको छेउछाउमा रोकिएका छन् भने यात्रुहरू भोकले ब्याकुल बनेका छन्। नजिक होटल तथा पसल नहुँदा आफूहरूले समस्या भोग्नुपरेको यात्रु गोमा सुनारले बताइन्। पैसा भएर पनि होटल पसलहरू नजिक नहुँदा भोकै बस्नुपरेको उनको भनाइ छ।
‘निकै समस्यामा परियो, दसैं मानेर मात्रै पोखरा हिँडेको, पोखरामा आफन्तहरू हुनुहुन्छ, टीका लगाउन जान थालेको, हिजो दिउँसोदेखि यहाँ आएर रोकिएको अहिलेसम्म यहीँ छौं। नजिक होटल पसल पनि भेटिएन, भोकले मर्न लागियो। डोजरले बाटो खुलाउन त लागेको छ तर यहाँ मात्रै रैनछ पहिरो, धेरै ठाउँमा गएको रैछ,’ सुनारले भनिन्।
निसीखोला गाउँपालिका–४ का वडाध्यक्ष टीकानिधि पौडेलले सडक खुलाउने प्रयास गरिरहे पनि वर्षाले गर्दा पहिरो खसिरहेको बताए। उनले केही स्थानको पहिरो पन्छाए पनि अझै केही स्थानमा हटाउन बाँकी रहेको जानकारी दिए। वर्षा नरोकिँदा निरन्तर पहिरो झरिरहेको उनको भनाइ छ।
‘हिजोदेखि नै हामीले सडक खुलाउन थालेका थियौं। हिजो केही ठाउँमा खुलाएका थियौं, रातभरिको वर्षाले फेरि पहिरो झरेर सडक अवरूद्ध बनाएको छ। हामी निरन्तर छाता ओढेर भए पनि सडक खुलाउन लागिरहेका छौं,’ अध्यक्ष पौडेलले भने, ‘वर्षा नै रोकिएन, यसले थप समस्या बनायो। यात्रुहरूलाई पनि निकै समस्या भएको छ। पानी रोकियो भने त सडक खुलाउन धेरै समय लाग्ने थिएन।’
विद्यालयसहित चार घर पहिराको उच्च जोखिममा
निरन्तर वर्षाका कारण बागलुङको काठेखोलामा एक विद्यालयसहित चार घर पहिराको उच्च जोखिममा परेका छन्। काठेखोला गाउँपालिका–२ भिमापोखरास्थित जनप्रिय आधारभूत विद्यालयको सातकोठे भवन र स्थानीय शमशेर मल्ल, गणेशबहादुर थापा, डिलकुमारी हमाल र लक्षु हमालको घर पहिराको उच्च जोखिममा परेको स्थानीय गंगा थापा ‘भिक्षु’ले जानकारी दिए।
पहिराले घर बगाउन थालेपछि चार परिवारलाई सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ। डिलकुमारी हमाल र लक्षु हमालको घर विद्यालय भवनसँगै जोखिममा रहेको थापाले बताए। भवनको अगाडिदेखि ठूलो पहिरो जाँदा विद्यालय जोखिममा परेको प्रधानाध्यापक नरबहादुर थापा बताउँछन्। विद्यालय अगाडि मोटरबाटो रहेको र समय–समयमा डोजरले सडक खन्दा त्यसको थर्कोले पहिरो गएको उनको भनाइ छ।
‘स्कुल अगाडि मोटरबाटो छ, बेला–बेला मोटरबाटोमा डोजर चलाउँछन्। डोजरको थर्कोले यति ठूलो पहिरो गयो, पहिराले सातकोठे भवन बगाउने जोखिम बढेको छ,’ उनले भने, ‘विद्यालयको तलपट्टि सडक निर्माण नगरेको भए अहिले यस्तो जोखिम हुने थिएन।’
आठसम्म पढाइ हुने विद्यालयमा ८२ विद्यार्थी अध्ययनरत छन्।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।
तपाईको प्रतिक्रिया