यी हुन् कास्कीमा प्रमुख दलका उम्मेदवार

पोखरा ।
आसन्न निर्वाचनमा प्रमुख दलहरुले उम्मेदवारहरु टुंगो लगाएका छन् । कास्कीमा प्रतिनिधिसभा तर्फ ३ र प्रदेशसभा तर्फ ६ क्षेत्रमा दलहरुले उम्मेदवार टुंगो लगाएका हुन् । कास्की १ मा कांग्रेसबाट किशोरदत्त बराल उम्मेदवार बनेका छन् । कास्की कांग्रेसका सभापति बरालले कांग्रेसका अर्का नेता कृष्ण केसीको टिकट हत्याउँदै उम्मेदवार बनेका हुन् ।
कास्की २ मा नेकपा एसले श्रीनाथ बराललाई उठाएको छ । बरालको क्षेत्र कास्की १ भएपनि पाँच दलीय गठबन्धनबाट उनलाई कास्की २ मा उठाउन लागिएको हो । बरालको नाम क्षेत्र १ बाट सिफारिस गरिएपनि कास्की २ नेकपा एसले पाउने भएपछि उनी टिकटको रेसमा थिए ।
कास्की ३ मा माओवादीको तर्फबाट गण्डकी प्रदेशका अर्थमन्त्री समेत रहेका रामजी बराल उम्मेदवार तोकिएका छन् । यहाँबाट माओवादीको उम्मेदवार टुङ्ग्याउन पार्टीलाई गाह्रो भएको थियो । अर्का नेता राजकाजी गुरुङ ‘करन’ पनि टिकटको प्रत्यासी रहेपनि अन्त्यमा रामजी बरालले टिकट पाएका हुन् ।
प्रदेशसभातर्फ गठबन्धनका उम्मेदवार पनि ताेकिएका छ । नेपाली कांग्रेसले कास्कीको ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ३ मा आफ्ना उम्मेदवार उठाउने छ । कांग्रेसले कास्की १ ‘ख’ मा दीपक गुरुङ ‘माइला’लाई उम्मेदवार बनाएको छ । कास्की २ ‘ख’ मा विन्दू थापा र ३ ‘ख’ मा प्रकाश बराल उम्मेदवार बनेका छन् ।
माओवादीले पनि ३ क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने छ । कास्की १ ‘क’ मा दीपक कोइराला, कास्की २ ‘क’ मा विश्वप्रकाश लामिछाने र कास्की ३ ‘क’ मा दुर्गादत्त भण्डारीले टिकट पाएका छन् । यता नेकपा एमालेले पनि प्रतिनिधि सभातर्फ कास्कीका ३ क्षेत्रमा आफ्नो उम्मेदवार यसअघि नै टुंगो लगाइसकेको थियो । कास्की १ एमालेका उम्मेदवार मनबहादुर गुरुङ बनेका छन् भने कास्की २ मा विद्या भट्टराई र कास्की ३ मा दामोदर बैरागी एमालेको उम्मेदवार हुन् । प्रदेशसभा तर्फ एमालेले कास्की १ क मा खगराज अधिकारी, कास्की १ ख मा वेदबहादुर गुरुङ श्याम लाई टिकट दिएको छ । कास्की २ क मा भिम कार्की र कास्की २ ख मा मिना गुरुङ उम्मेदवार बन्दा कास्की ३ क मा गणेशमान गुरुङ र ख मा राजीव पहारीले टिकट पाएका छन् ।

तपाईको प्रतिक्रिया