चुनावी रणनीति बनाउन एमालेको भेला

समाधान संवाददाता २०७९ असोज २५ गते ११:०९

पोखरा ।
आम निर्वाचनको रणनीति बनाउन नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले कार्यकर्ता भेला गर्न लागेको छ । जिल्ला कमिटी कास्कीको सोमबार बसेको सचिवालयको बैठकले उम्मेद्वार परिचयसहितको कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो ।

Advertisement

प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका उम्मेद्वारको परिचय कार्यक्रमसहित यही असोज २६ गते गरिने कार्यकर्ता भेलाले निर्वाचन परिचालन कमिटी गठन गर्ने जिल्ला कमिटी कास्की सचिव बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । बैठकले पार्टीका केन्द्रीय कमिटीका सदस्य तथा कास्कीका इन्चार्ज कृष्ण थापाको संयोजकत्वमा स्टेरिङ कमिटी गठन गरेको छ ।

जिल्ला कमिटी कास्की अध्यक्ष मनबहादुर गुरुङ कास्की क्षेत्र नम्बर १बाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार भएकाले अध्यक्ष गुरुङको परामर्शमा उपाध्यक्ष तेजनारायण अधिकारीलाई कार्यवाहक दिने निर्णय बैठकले गरेको छ । बैठकले कास्की भूगोल भएका पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संगठन कमिटीका सदस्यबाट साथ सहयोग लिने गरी कमिटी बनाउन पदाधिकारीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षता तथा स्थायी समितिका सदस्य तथा संगठन विभागका प्रमुख खगराज अधिकारीको उपस्थितिमा बसेको बैठकले कास्कीका प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी र प्रदेश सभा निर्वाचन समन्वय कमिटीलाई बैठक बसेर आम निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ । जिल्ला कमिटी कास्कीका सदस्य तथा आर्थिक विभागका प्रमुख चिरञ्जीवी पोखरेलकी आमा तुलसी पोखरेलेका असामयिक निधनप्रति समवेदना प्रकट गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया