‘एमाले सरकार बने शिक्षा र स्वास्थ्य सित्तैमा’
कास्कीमा एमालेको ७१६५ सदस्यीय निर्वाचन परिचालन कमिटी

पोखरा ।
एमाले कास्कीले बुधबार कार्यकर्ता भेला गरेर आसन्न प्रतिनिधि सभा तथा गण्डकी प्रदेश सभा सदस्य निर्वाचनका उम्मेद्वारको परिचय गराएको छ । भेलाले आगामी मंसिर ४ गते हुने आम निर्वाचनको सञ्चालन तथा व्यवस्थापनका लागि ७ हजार १ सय ६५ सदस्यीय निर्वाचन परिचालन मुल कमिटी गठन गरेको छ ।
पार्टीका कार्यवहाक अध्यक्ष तेजनारायण अधिकारीको संयोजकत्वमा गठित कमिटीमा जिल्ला कमिटी पदाधिकारी, सदस्य, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटी, पालिका कमिटी, इलाका कमिटी, सम्पर्क मञ्च, ७२ वडा कमिटी, इलाका कमिटीका शाखा कमिटी, सबै जनसंगठनका कमिटीका पदाधिकारी तथा सदस्यलाई समेटेको सचिव बैनबहदुर अधिकारी क्षत्रीले जानकारी दिए । कमिटीको सचिवालय शान्तिवन स्थित जिल्ला पार्टी कार्यालयमा रहनेछ ।
भेलाले पार्टीका कास्की इन्चार्ज कृष्ण थापाको संयोजकत्वमा निर्वाचन अनुगमन तथा निर्देशन कमिटी गठन गरेको छ । पार्टीका पोलिटब्युरो सदस्यहरु सल्लाहकार रहेको कमिटीमा कास्की भूगोल रहेका सबै केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकाय तथा विभागका पदाधिकारी, सल्लाहकार परिषद्का सदस्य, गण्डकी प्रदेशका पदाधिकारी, जिल्लाका पदाधिकारी सदस्य छन् ।
भेलाले सबै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको कार्यालय मंसिर २९ गतेभित्र खोल्ने निर्णय गरेको छ । पार्टी विधान अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले सहयोग तथा सहजीकरण गर्ने छन् ।
भेलामा पार्टीका स्थायी समितिका सदस्य तथा कास्की क्षेत्र नम्बर १ प्रदेश सभा (क)का उम्मेद्वार खगराज अधिकारीले प्रदेश सभाको निर्वाचनमा एमालेको नेतृत्वमा गण्डकी प्रदेश सरकार बनाउने दाबी गरे । संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बनेको राम्रा र जनपक्षीय कामलाई निरन्तरता दिनुका साथै नवीनता थप्ने उनले घोषणा गरे । गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेबारसमेत रहेका अधिकारीले अब बन्ने सरकारले आगामी ५ वर्ष भित्रमा शिक्षा र स्वास्थ्यलाई निशुल्क गर्ने जनाए ।
‘समाजवादको यात्रा तय गर्न बहुमत प्राप्त स्थिर सरकार चाहिन्छ,’ उनले भने, ‘शिक्षा स्वास्थ्यलाई निशुल्क बनाएर समाजवादमा जाने आधार तय गर्न सकिन्छ ।’ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका अधिकारीले आफ्नै कार्यकालमा १० वर्ष भित्रमा कानुन बनाएर चिकित्सा शिक्षा निशुल्क गर्ने निर्णय गरेको जानकारी दिए ।
प्रदेशको १४ प्रतिशत बहुआयामिक गरिबीलाई ४ प्रतिशतमा झारेर सम्पन्न प्रदेश बनाउने घोषणा गर्दै नेता अधिकारीले सुकुम्बासीलाई निस्सा नभएर सक्कली लालपुर्जा वितरण गर्ने दाबी गरे । उनले पार्टीका नेता पृथ्वीसुब्बाको सरकारले सुरुवात गरेको हरेक घर एक रोजगार कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरे । जग्गा जमिन बाँझो नराखेर सामूहिक लगानी गरेर उत्पादकत्व बृद्धि गर्ने उनले बताए । नेता अधिकारीले प्रदेश स्तरीय बसपार्क निर्माणदेखि ७ देखि १० हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने योजना सुनाए ।
सुस्ता बर्दघाटसम्म गण्डकी प्रदेशको पहुँच बढाउने जानकारी दिँदै उनले नवलपुर र मुस्ताङका स्थानीय समुदायलाई प्राथमिकता दिएर सिमाको रक्षा गर्ने बताए । एमालेका पूर्व स्थायी समितिका सदस्य सोमनाथ अधिकारी प्यासीले कास्कीका सबै नेता तथा कार्यकर्ता निर्विवाद ढंगले काम गरेर ११ जिल्लाका लागि सकारात्मक सन्देश दिन सुझाव दिए । उनले कास्की आन्दोलन र लडाईको हिसाबले जेठो जिल्ला भएकाले नेता तथा कार्यकर्ता जिम्मेवार र जवाफदेही बन्न आग्रह गरे ।
पार्टीका पोलिटब्युरो सदस्य सीता गिरी ओलीले एमालेसँग एक्लै लड्ने सामथ्र्य कुनै दलसँग नभएको दाबी गरिन् । उनले सबै संसदीय मोर्चामा खुला प्रतिस्पर्धा गरेर पार्टीले श्रेष्ठता हासिल गर्ने बताइन् । एमाले कास्की इन्चार्ज कृष्ण थापाले भेलापछि सबै नेता तथा कार्यकर्ता एमालेको पक्षमा चुनावी माहौल बनाउन जुट्ने बताए । उनले पार्टीका नेता तथा उम्मेद्वारको विरुद्धका गतिविधि गर्नेलाई ठाउँको ठाउँ कारवाही गर्ने घोषणा गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार विद्या भट्टराई, पार्टीका केन्द्रीय सदस्य तथा कास्की २ प्रदेश सभा (क)का उम्मेद्वार भीम कार्की, पार्टीका केन्द्रीय सदस्य तथा कास्की ३ प्रदेश सभा (ख) उम्मेदवार राजीव पहारी, पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा कास्की ३ प्रदेश सभा (क)का उम्मेद्वार गणेशमान गुरुङ, कास्की क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार मनबहादुर गुरुङ, कास्की क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार दामोदर पौडेल बैरागी, कास्की १ प्रदेश सभा (ख)का उम्मेद्वार वेदबहादुर गुरुङ (श्याम), कास्की २ प्रदेश सभा (ख)का उम्मेद्वार मिना गुरुङ, जिल्ला कमिटी कास्कीका कार्यवहाक अध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षत्री लगायतले आगामी निर्वाचनमा एमालेलाई जिताउन अपनाउने रणनीतिको बारेमा प्रकाश पारे ।
तपाईको प्रतिक्रिया