
सञ्जय रानाभाट
पोखरा ।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यहाँबाट प्रतिनिधि सभा सदस्यका लागि ७ औं पटक चुनावी मैदानमा छन् । ०४८ सालमा पहिलो पटक चुनाव लडेका पौडेलले ५ चुनाव जितिसकेका छन ।
०७४ सालमा वाम गठबन्धनका कृष्णकुमार श्रेष्ठसँग पहिलो पटक पराजित पौडेल यो पटक तनहुँ १ बाट चुनाव जितेर प्रधानमन्त्री हुने धोकोका साथ मैदानमा छन् । तर, आफ्नै पूर्व सहकर्मी तथा कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिँदा पौडेललाई चुनाव जित्न भने सहज छैन । जोशी स्थानीय कार्यकर्ता र मतदातासँग लोकप्रिय हुँदा पौडेलको मत काट्न सक्ने कांग्रेस नेताहरु नै बताउँछन् ।
‘जोशीले स्थानीय स्तरमै रहेर राजनीति गर्नुभयो । पौडेल सधंै केन्द्रमै रमाउनुभयो,’ ती नेताले भने, ‘पछिल्ला दिनमा २ नेताले एकअर्कालाई निषेध गर्दा तनहुँ कांग्रेसमा मत विभाजन भएको छ ।’ यसको फाइदा एमाले उम्मेदवारलाई पुग्ने देखिन्छ ।
यहाँ कांग्रेसका पौडेल, स्वतन्त्रबाट जोशी र एमालेका एकबहादुर रानाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । जनधारका हिसबाले यहाँ कांग्रेसको राम्रो पकड छ । तर, पूर्व सहकर्मी पौडेल र जोशी भिड्दा यसको फाइदा एमाले उम्मेदवारलाई हुन सक्छ । ‘एमालेको गठबन्धनसँग एक्लै भिड्न सक्ने राम्रो तयारी छ ।
त्यसमाथि सहकर्मीबीच प्रतिस्पर्धा हुँदा हामी सजिलै चुनाव जित्छौं,’ एकबहादुरले भने । स्थानीय तहको चुनावको मत हेरेर राष्ट्रिय राजनीतिमा खासै असर नपर्ने उनी बताउँछन् । ‘स्थानीय चुनावमा उम्मेदवारले असर गर्छ । पार्टीले पाउने भोट प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा देखिन्छ । यहिी चुनाव कुरिरहेका छौं,’ उनले भने ।
०७४ को प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएपछि पौडेलका विरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए । आफ्नो मत काट्ने डरले पौडेलले जोशीको भ्रष्टचार मुद्दा भएकाले उम्मेदवार हुन नमिल्ने भन्दै उजुरी दिएपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । कांग्रेसले जोशीलाई त्यसपछि ५ वर्ष पार्टीबाट निस्कासन ग¥यो । त्यसपछि झनै यी दुई नेता सम्बन्ध चिसियो । त्यो निर्वाचनमा एमालेका श्रेष्ठसँग पौडेलले ६ हजार ८ सय २ मतले चुनाव हारे ।
त्यति बेला पौडेललाई हराउन जोशीले भूमिका खेलेको पौडेल पक्षको आरोप छ । यता, गोविन्दाराज जोशीका छोरा दीपकराज जोशीले आफ्ना बुवा स्थानीयमा लोकप्रिय र काम गरेर देखाएका मान्छे भएकाले चुनाव जित्न कठिन नहुने दाबी गर्छन् । भन्छन्, ‘१८ वर्षसम्म केन्द्रीय राजनीतिमा काम गरेर बुबाले यो क्षेत्रका लागि धेरै काम गर्नुभएको छ । अहिले पनि ती कामले बुबा लोकप्रिय हुनुहुन्छ । ती का बुवाले चुनाव जित्ने आधार छन्,’ दीपकले भने ।
उनले आफूहरुलाई एमालेले सहयोग गरेको भए ४/५ सिट एमालेकै थपिने जनाए । ‘तनहुँ जिल्लामा हाम्रो राम्रो छ । एमालेले साथ दिए सबै क्षेत्रमा जित्न सकिन्थ्यो । यहाँ पार्टी, सिद्धान्तभन्दा पनि विकास कस्ले गर्ने भन्ने जनताले खोज्ने रहेछन्,’ उनले भने ।
कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनाल कांग्रेसले सजिलै चुनाव जित्ने बताउँछन् । भन्छन्, ‘स्वतन्त्रले भोट पक्कै काट्छन् । तर, हामीसँग गठबन्धको भोट भएकाले चुनाव जित्न कठिन हुँदैन,’ उनले भने । तनहुँ १ बाट प्रतिनिधि सभाका लागि जनता समाजवादी पार्टीबाट पासाङ थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनोदकुमार घर्ती, नेपाल मजदूर किसान पार्टीबाट रामकृष्ण त्वायना, हाम्रो नेपाली पार्टीबाट प्रवीण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कृष्णप्रसाद पौडेल, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेसनलिस्प पिपुल्स पार्टीबाट ताजमहमद मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीबाट हस्तबहादुर किचिम थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास सिग्देल चुनावी मैदानमा छन् । स्वतन्त्रतर्फ जोशीसहित रामचन्द्र कार्की, बेलबहादुर दरै र पृथ्वीनारायण श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् ।
गत वैशाख ३० को स्थानीय तहको निर्वाचनमा आइपुग्दा जोशीका छोरा दीपकराज जोशी क्षेत्र नम्बर १ अन्तर्गत पर्ने व्यास नगरपालिकाको मेयरका उम्मेदवार बनेका थिए । दीपकले ११ हजार ८ सय २६ मत ल्याएका थिए । उनलाई एमालेले समर्थन गरे पनि चुनाव हारे । व्यासबाट नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत ल्याएर चुनाव जिते ।
स्थानीय निर्वाचनमा दीपकले लोकप्रिय मत ल्याउनु र उक्त क्षेत्रमा पौडेलको उम्मेदवार पर्नुले जोशीले स्वतन्त्र उम्मेदवार दिएको उनी निकट एक नेताले बताए । ‘स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उठ्दा पनि दीपकले ठूलो जनाधारको मत प्राप्त गर्नुभयो । यसमाथि गोविन्दराज जोशी नै चुनावमा उठ्दा त कांग्रेस सबैले उहाँलाई मत दिन सक्ने सम्भावना हुन्छ,’ ती नेताले भने, ‘उहाँको लोकप्रियता हेर्दा पौडलको भन्दा बढी मत ल्याउन सकिन्छ ।’
जोशी पक्षकै एक नेताका अनुसार जोशीले चुनाव नजिते पनि पौडेलको मत राम्रो काट्न सक्छन् । उनी भन्छन्, ‘उहाँले चुनाव नजिते पनि कांग्रेसको मत काट्न सक्ने उहाँ बलियो उम्मेदवार हो । पौडेलका मत काटिन्छन् ।’
यसमा सत्ता गठबन्धन एकातिर र प्रमुख प्रतिपक्ष एमाले अर्कोतिर हुँदा प्रतिस्पर्धा र नतिजाको बारेमा विश्लेषण हुन थालेको छ ।
विश्लेषणको मुख्य आधार गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा हो । वडाध्यक्षले पाएको मतको अनुपातलाई विश्लेषण गर्दा यहाँ कांग्रेस बलियो छ । तनहुँ १ मा देवघाट गाउँपालिका, आबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, भानु नगरपालिका, व्यास नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३ र १४ पर्छन् ।
स्थानीय निर्वाचनमा तनहुँ १ को मत
–कांग्रेस ३३,१०६
–नेकपा एमालेले २२,२१०
–नेकपा माओवादी केन्द्रले ८,४७४
–नेकपा एकीकृत समाजवादीले ८९२

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया