पोखरा ९ र १६ मा गठबन्धनको चुनावी कार्यालय

समाधान संवाददाता २०७९ कार्तिक ६ गते ११:३१

पोखरा ।
सत्ता गठबन्धन दलको तर्फबाट कास्की क्षेत्र नम्बर–२(२) अन्तर्गत पोखरा महानगरपालिका वडा नं ९ र १६ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना भएको छ । शनिबार पोखरा ९ को महेन्द्रपुल र पोखरा १६ को मैदानमा उम्मेदवारसहित गठबन्धन दलका नेताले संयुक्त रुपमा कार्यालय उद्घाटन गरेका छन् ।

Advertisement

कार्यक्रममा कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले पोखरा ९ र १६ का समस्याका विषयमा आफू जानकार भएको र त्यसको समाधानमा लाग्ने प्रतिबद्धता गरे । उनले युवालाई स्वदेशमा नै बस्ने व्यवस्था मिलाउने गरी रोजगारीका कार्यक्रम ल्याउने जनाए ।

देशको विद्यमान परिस्थिति र संविधानको रक्षाका लागि गठबन्धनकासाझा उम्मेदवारहरुलाई कुनै तित्तता नराखी विजय गराउन उनले आग्रह गरे । ‘म नेपाली कांग्रेसको पनि उम्मेदवार हुँ । माओवादीको पनि उम्मेदवार हुँ,’ उनले भने । पोखरा १६ का दुर्गम क्षेत्रमा बाटोघाटो निर्माण गर्ने पहल गर्ने उनको भनाइ छ ।

Advertisement

गठबन्धनको तर्फबाट कांग्रेसबाट कास्की २ (ख) मा प्रदेश सभासदस्य पदमा उम्मेदवारी दिएका विन्दुकुमार थापाले ०७४ को निर्वाचनमा पोखरा ९ र १६ का जनताको माया पाएर नै विजयी भएको उल्लेख गरे । पोखरा १६ मा सहरी क्षेत्रसँगै ग्रामीण भेग समेत भएकाले नेपाली कांग्रेस नेतृत्वको सरकारले नै त्यहाँका जनताको चाहनाबमोजिमका विकास, निर्माणका कार्यलाई अग्रसरता दिएको उल्लेख गरे ।

पोखरा ९ मा नेपाली कांग्रेसका इकाइ सभापति शिवराज बास्तोला र पोखरा १६ मा इकाइ उपसभापति गणेशबहादुर थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया