मुस्ताङमा पर्यटकका ड्रोन जफत

सुन्दरकुमार थकाली २०७९ कार्तिक १६ गते १०:३४

जोमसोम ।
मुस्ताङमा १ विदेशी र १ नेपाली पर्यटकका २ ड्रोन क्यामेरा जिल्ला प्रहरी कार्यालय मुस्ताङले जफत गरेको छ । ती क्यामेरा प्रहरीले जोमसोम नागरिक उड्यन कार्यालय मुस्ताङलाई बुझाएको छ ।

शुक्रबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ कागबेनी माथिको सेल्फी पार्क र थासाङ गाउँपालिका ३ लेतेबाट अनुमती बिना उडाइएका ड्रोन प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीका अनुसार मुस्ताङको कागबेनीदेखि मुक्तिनाथ जाने सडकको सेल्फी पार्कमा भारतको हैदरावादबाट मुस्ताङ घुम्न आएका ३२ वर्षीय नागराज वाकेटीको ७ सय ५० ग्राम तौल भएको ड्रोन उठाएका थिए ।

Advertisement

ड्रोन इजाजत नभएको र स्थानीय प्रशासनबाट ड्रोन उडान अनुमतीपत्र समेत नलिई एक्लै ड्रोन उडाउदै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । कागबेनी प्रहरी चौकीले वाकेटीलाई ड्रोन क्यामेरासहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पठाएको थियो । उनलाई सोधपुछ गरी प्रहरीले छाडिएको सुवेदीले बताए ।

शुक्रबार नै लेतेमा ड्रोन उडाउँदै गरेको अवस्थामा बूढानीलकण्ठ नगरपालिका घर भई मुस्ताङ घुम्न आएका २९ वर्षीय स्वासत खरेलको २ सय ४९ ग्रामको ड्रोन क्यामेरा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Advertisement

कृषि, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, कला, संस्कृति, मनोरञ्जन, विकास तथा विपद् व्यवस्थापन, सुरक्षा तथा आम सञ्चार जस्ता बिषयमा अध्ययन, अनुसन्धान, सूचना सम्प्रेषण्, सर्वेक्षण आदिका लागि ड्रोन उपयोग गर्ने व्यक्ति ,संघ र संस्था लगायतले नेपाल नागरिक उड्यन प्राधिकरणको अनुमती लिनुपर्ने हुन्छ । यस्तै सम्बन्धित क्षेत्रको स्थानीय प्रशासनको समेत स्वीकृति लिनुपर्ने प्रावधान छ ।

चालु आर्थिक वर्षमा मुस्ताङमा ड्रोन क्यामेरा उडाउन ९ जनाले जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट लिखित अनुमती लिएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।

अन्नपूर्ण संरक्षित तथा नियन्त्रित क्षेत्रमा ड्रोन क्यामेरा उडान गरी फिल्म र डकुमेन्टी, भिडियो निर्माण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको प्रधान कार्यालयबाट पूर्व स्वीकृति लिनुपर्ने एक्याप जोमसोमका कार्यालय प्रमुख अशोक सुवेदीले जानकारी दिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया