फोहोरको डंगुरबाट माथि उठ्न चाहन्छिन् मीना घर्तीमगर

समाधान संवाददाता २०७६ वैशाख १९ गते ८:५८

विकास रोकामगर

मीना घर्तीमगर पोखरा महानगरको ‘ल्यान्डफिल्ड साइट’मा काम गर्छिन् । उनको काम भनेको महानगरले फालेको फोहोर बटुल्नु र त्यसलाई कुहिने र नकुहिनेमा छुट्याउनु हो । उनले फोहोर केलाएर काम लाग्ने चिजहरु निकालेर बेच्दै जिविकोपार्जन पनि गरिरहेकी छिन् ।

मीनाले त्यहाँ काम गर्न थालेको ५ वर्षभन्दा बेसी भइसकेको छ । उक्त कामबाट १ दिनमा उनले ४-५ सयसम्म कमाउँछिन् । ७ सदस्य रहेको उनको परिवारमा अधिकांशले त्यही काम गर्छन् ।

Advertisement

मीना दिउँसो कलेज जान्छिन् । बिहान बेलुका ल्यान्डफिल्ड साइटमा फोहोर केलाउँछिन् । कालिका सेकेन्डरी स्कुलमा ११ कक्षामा विज्ञान विषय लिएर पढिरहेकी उनी त्यही फोहोर केलाएरै आफ्नो पढाइ खर्च जुटाउँछिन् । बचेखुचेको पैसा घरपरिवारलाई सहयोग गर्न पनि भ्याइहाल्छिन् ।

‘सधैं त्यही काम नगर्नुपरे हुन्थ्यो’ भन्ने मीनाको चाहना हो । फोहोरको दलदलबाट निस्केर प्रतिष्ठित जीवन बाँच्ने उनको उद्देश्य छ । ‘त्यही भएर पढ्दैछु । परिवार वर्षौंदेखि यही फोहोर केलाउँदै हुर्कियो । अब म पढेर परिवारका लागि केही गर्छु,’ उनी सुनाउँछिन् ।

Advertisement

मीनालाई कसैसँग केही गुनासो छैन, केही भन्नु छैन । मात्रै छ त सरकारलाई । सरकारले आफूले ‘श्रमिकका लागि गरेको प्रतिवद्धतामात्रै पूरा गरिदिए नि हुन्थ्यो नि !’ भन्ने उनको गुनासो छ । भन्छिन्, ‘हाम्रा लागि तयार भएका अधिकार दिए हुन्थ्यो । धेरै कोषहरु प्नि हुन्छन् रे ! त्यो पनि उपलब्ध गराइदिए पढाइका लागि यत्ति दुख गर्नुपर्थेन ।’

विष्णु कुँवर पोखराकै पहिलो ट्याक्सी चालक महिला हुन् । २०६७ सालदेखि ट्याक्सी चलाउन सुरु गरेकी उनी एउटी आत्मनिर्भर श्रमिक हुन् । ‘सानैदेखि मलाई अरुभन्दा पृथक गर्नुपर्छ भन्ने लाग्थ्यो । त्यतिबेला पोखरामा महिला ड्राइभर थिएनन् । त्यसैलेल यही रोजें,’ गर्विलो भावमा सुनाइन्, ‘अहिले त यही काम गरेरै छोर्छाेरीलाई पढाइरहेकी छु ।’ दिनमा २ हजारसम्म कमाइ हुने उनको भनाइ थियो ।

नारी जागरण अभियानले मंगलबार मीना र विष्णुसहित ५ श्रमिकलाई सम्मान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट उनीहरुले सम्मान ग्रहण गरेका हुन् । सम्मानित हुनेमा डुंगा चालक अर्जुन मगर, निर्माण व्यवसायी शर्मिला रोकामगर र रामघाटमा बालुवा चाल्ने काम गर्दै आएकी पूर्णकला बस्नेत छन् ।

कार्यक्रममा मजदुरी गर्दै पढाइ खर्च जुटाइरहेकी मीनाको १२ कक्षासम्मको पढाइ खर्च प्रदेश सकारले बेहोर्ने मुख्यमन्त्री गुरुङले घोषणा गरे । उनले भने, ‘मीना फोहोरमा फुलेकी सुन्दर कोमल फूल हुन् । उनको आँतलाई प्रदेश सरकार सम्मान गर्दछ ।’ उनले मीनालाई पढाइसँगै नेपालमै केही गरेर उदाहरणीय बन्न सुझाव दिए । जागरणकी संयोजक अञ्जु क्षेत्रीले मीनालाई ५ हजार रुपैयाँ र दोसल्ला तथा अन्यलाई १÷१ हजार रुपैयाँले सम्मान गरेको जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया