माघबाट पाल्पा हाउस सञ्चालन

पोखरा ।
पोखराको न्युरोडमा ‘पाल्पा हाउस’ निर्माण गरिएको छ । करिब डेढ करोड लागतमा रानीमहल स्वरुपमा २ तले भवन निर्माण पूरा भएको हो । १० वर्षका लागि जग्गा लिजमा लिएर निर्मित पाल्पा हाउसको आन्तरिक सजावटमा अझै कम्तीमा १ करोड लाग्ने अनुमान छ ।
पाल्पाली चिनारी ढाका, करुवा लगायत कृषिजन्य उत्पादन एक थलोमा उपलब्ध गराउने उद्देश्यले पाल्पा हाउस प्रालिले यो सञ्चालनमा ल्याउन लागेको हो । कम्पनी अध्यक्ष कुलप्रसाद घिमिरेले पाल्पाली उत्पादन अब यहाँबाट एकै थलोमा उचित मूल्यमा उपलब्ध गराइने बताए । यसले पाल्पा र पोखराको पर्यटनसहित आर्थिक गतिविधिमा ठूलो महत्व राख्ने उनको विश्वास छ ।
नयाँ र नौलो स्वरुपमा पाल्पा हाउस निर्माणका निम्ति पाल्पाली समाज पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारीले पहल थालनी गरेका हुन् । पाल्पा हाउस सम्भवतः आगामी माघ पहिलो सातादेखि औपचारिक सञ्चालन गर्ने लक्ष्य रहेको समाजका पूर्व अध्यक्षसमेत रहेका कम्पनी अध्यक्ष घिमिरेले बताए ।
समाजका अध्यक्ष रेशम थापाले आर्थिक गतिविधिसँगै पर्यटन पर्यटनमा यसले विशेष महत्व राख्ने बताउँछन् । पाल्पाली समाज पोखराले विस्तारै बृहत् रुप लिंदै गएको उनको भनाइ छ ।
न्युरोडस्थित भाटभटेनी सुपरस्टोर आडैमा रहेको पाल्पा हाउसमा ७० जना सेयर सदस्य छन् । यहाँ १७सटरमध्ये ९ ओटा बुकिङ भइसकेको सञ्चालकमध्येका एक जगदीश गौतमले बताए ।
पाल्पाली ढाका, करुवा, तरकारी, फलफूलका अलावा पाल्पाली स्वाद हाँसको छोइला, मिसमास, चुकाउनी, बटुक समेत यहाँ सञ्चालन हुने रेस्टुरेन्टका परिकार हुने छन् ।
तपाईको प्रतिक्रिया