बाच्छेबढुवामा ल्यान्डफिल पुर्न थालियो

पोखरा ।
पोखरा महानगरपालिकाले पोखरा १४ बाच्छेबढुवामा रहेको ल्यान्डफिल साइटमा फोहरमैला फाल्न आइतबारदेखि बन्द गरिएको छ । अंग्रेजी नयाँ वर्ष अर्थात् आगामी पुस १७ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि महानगरले विमानस्थल नजिकै रहेको ल्यान्डफिल साइटमा फोहरमैला लैजान बन्द गरेको हो ।
अहिले ल्यान्डफिल साइट पुर्न थालिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि एयरपोर्ट नजिकैको सो ल्यान्डफिल साइट मुख्य बाधक बनेको थियो । ल्यान्डफिल साइटका कारण विमानस्थल सञ्चालनमा ढिलाइ भएपछि महानगरले लामो समयदेखि फोहरमैला व्यवस्थापनका लागि वैकल्पिक स्थानको खोजी गरे पनि सफल हुन सकेको छैन ।
विमानस्थलको अर्को अवरोधका रुपमा रहेको रिठेपानीडाँडा कटानको कामसमेत अहिले भइरहेको छ । सोही डाँडा कटानको माटो ल्याएर अहिले ल्याडफिल साइट पुर्न सुरु गरिएको हो । महानगरले ल्यान्डफिल साइटमा फोहर लैजान बन्द गरेर त्यसलाई पुर्न सुरु गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए । महानगरको फोहरमैला व्यवस्थापनका लागि तत्कालका लागि वडामा नै अल्पकालीन व्यवस्था मिलाइएको छ ।
‘ल्यान्डफिल्ड साइटमा आजदेखि फोहर फालिने छैन । तत्कालका लागि फोहर व्यवस्थापनका गर्न महानगरका विभिन्न वडामा अल्पकालीन व्यवस्था मिलाइएको छ’, प्रमुख आचार्यले भने, ‘फोहरमैला व्यवस्थानका लागि केही ठाउँ हेरिएको छ भने त्यसपछि प्रशोधन केन्द्रसहितको व्यवस्थित ल्यान्डफिल साइट निर्माण गरिनेछ ।’
प्रशोधन केन्द्र स्थापनाका लागि हाल विभिन्न विकल्पमा छलफल भइरहेको महानगरले जनाएको छ । महानगरले छिमेकी भारतसहित देशभित्रका विभिन्न स्थानमा पुगेर फोहर व्यवस्थापनका उपायका बारेमा जानकारी लिएको थियो ।
लामो समयदेखि विमानस्थल सञ्चालनका अवरोधका रुपमा रहेका रिठ्ठेपानीडाँडा कटान र ल्यान्डफिल साइट हटाउने काम भएपछि तोकिएकै मितिमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने विश्वास गरिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका प्रवक्ता अनुप जोशीले विमानस्थल सञ्चालनका लागि आवश्यक काम भइरहेको जानकारी दिए । उनले ४० मिटर अग्लो रिठ्ठेपानी डाँडा १४ मिटर काटिसकिएको र बाँकी अवधिमा सबै काम सम्पन्न हुने र ल्यान्डफिल साइट हटेसँगै उडानमा थप सुनिश्चितता भएको सुनाए ।
पोखरा विमानस्थल चिनियाँ कम्पनी सिएएमसिईले निर्माण गरेको हो । यसअघि गतवर्ष चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेलमा विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो ।
चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विमानस्थलका लागि विसं २०३२ मा जमिन अधिग्रहण गरिए पनि ४ दशकपछि निर्माण सुरु भएको थियो । विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकोमा विसं २०७४ देखि निर्माण सुरु भएको हो ।









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया