भदौरे पञ्चासे महोत्सव सकियो

पोखरा ।
कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकीय गाँउ भदौरेमा २४ औं भदौरे पञ्चासे महोत्सव भएको छ । तमु ल्होसार, अन्नपूर्ण गाउँपालिका वडा स्तरीय फुटबल प्रतियोगिता, भेट्रान्स फुटबल प्रतियोगिता, मौलिक साँस्कृतिक प्रस्तुति लगायतका कार्यक्रमसहित महोत्सव भएको हो ।
महोत्सव पुष ९ गतेदेखि सुरु भएको थियो । महोत्सव समापन कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाश बरालले आफूलाई सेवकको रुपमा निर्वाचित गराएको हुँदा विकास निर्माणका कार्यमा सेवककै रुपमा सक्रिय हुने बताए । भदौरे फुटबल खेलमैदानमा प्यारापिटको आवश्यकता रहेको बताउँदै सांसद बरालले त्यसका लागि आवश्यक पहल गर्ने जनाए ।
अन्नपूर्ण गाउँपालिका वडा ४ का वडाध्यक्ष आइन्दल गुरुङले भदौरे विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्रोत्साहन गर्न पनि उनले आग्रह गरे ।
मौले चरचरे बन उपभोक्ता समूहका अध्यक्ष रुपेश गुरुङ, नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाका सहसचिव तारकाजी गुरुङ, महोत्वस संयोजक मनबहादुर गुरुङलगायतले भदौरे गाउँको विकासलाई अघि बढाउन आग्रह गरे ।
भदौरे क्लबका अध्यक्ष जीवन गुरुङले महोत्सव भव्यरुपमा सम्पन्न गर्न साथ दिने सबैप्रति आभार व्यक्त गरे । २०५५ देखि नै युवालाई खेलप्रति आकर्षण गर्न भदौरे महोत्सवमा विभिन्न खेल राखिदै आएको उनले जानकारी दिए । भदौरे गाउँको पर्यटन र खेलकुदको विकासका लागि भदौरे क्लबको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ ।
महोत्सवमा भएको फुटबल प्रतियोगितामा नौडाँडालाई हराउँदै भदौरे विजेता बनेको छ । भदौरेले ३–१ गोल अन्तरले फाइनल खेलमा नौडाँडालाई पराजित गरेको हो । योसँगै भदौरेले नगद ५५ हजारका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बन्दै नौडाँडाले नगद ३५ हजार रुपैयाँका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
धेरै गोलकर्ताको उपाधि भदौरेका सन्दीप गुरुङ, उत्कृष्ट गोलकिपर नौडाँडाका समीर सुवेदी र उत्कृष्ट खेलाडीको उपाधि भदौरेका बिशाल विकले प्राप्त गरेका छन् । मैत्रिपूर्ण भेट्रान्स फुटबल प्रतियोगितामा भने ढिकुरपोखरी विजेता बनेको छ ।
महोत्सव तथा भदौरे गाउँको प्रचारमा भूमिका खेल्ने एक जना पत्रकारलाई सम्मानसमेत गरिएको छ । यस पटक पत्रकार राजु गिरीलाई गरिएको क्लबका अध्यक्ष गुरुङले जनाए । गिरीलाई नगद ५ हजार, दोसल्ला र कदर पत्रसहित सम्मान गरिएको हो । पत्रकार गिरी गन्थन डटकमका समाचार प्रमुख हुन् ।
तपाईको प्रतिक्रिया