लेखनाथ साहित्य पुरस्कार बन्धुलाई

समाधान संवाददाता २०७९ पुष १३ गते १०:४९

पोखरा ।
लेखनाथ साहित्य पुरस्कार २०७९ बाट वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राडा चूडामणि बन्धुलाई सम्मान गरिने भएको छ । कविशिरोमणिको १ सय ३९ औं जन्मजयन्तीको अवसरमा पुस १५ गते हुने समारोहमा सो पुरस्कार अर्पण गर्ने कार्यक्रम छ ।

पुरस्कार राशि नगद ५० हजार र सम्मान पत्र छ । कविशिरोमणि लेखनाथ पौड्यालकी कान्छी छोरी कुन्तिदेवी भट्टराईका परिवारजनद्वारा स्थापित यो पुरस्कार लेखनाथ साहित्य प्रतिष्ठानले सञ्चालित गर्ने गरेको छ ।

विस १९९५ मा पाल्पामा जन्मेका बन्धुले भाषा, साहित्य, लोकसाहित्य अनुवाद गरी दुई दर्जनभन्दा बढी कृति प्रकाशित गरिसकेका छन् ।

Advertisement

मदन पुरस्कार २०७९, गोरखा दक्षिणवाहु २०३१ (चौथो), २०४५(दोस्रो) साझा पुरस्कार २०३७, महाकवि देवकोटा पुरस्कार, अली मियाँ सम्मान पुरस्कार, शुक्ला साहित्य पुरस्कार लगायत एक दर्जनभन्दा बढी महत्वपूर्ण पुरस्कारबाट पुरस्कृत भइसकेका बन्धु नेपाल प्रज्ञा प्रतिष्ठानमा २०४१ देखि २०४७ सम्म प्राज्ञ परिषद सदस्य र २०५३ देखि आजीवन सदस्य छन् ।

यसअघि उक्त पुरस्कारबाट नेपाली शिक्षा परिषद, प्राडा वासुदेव त्रिपाठी, जनकविकेशरी धर्मराज थापा, मदनमणि दीक्षित, मुकुन्दशरण उपाध्याया, बालकृष्ण पोखरेल, जगमान गुरुङ, वसन्तकुमार शर्मा, वैरागी काइला, सरुभक्त र रमेश खकुरेल सम्मानित भइसकेका छन् ।

Advertisement

समारोहमा कुन्तीदेखी साहित्य पुरस्कारबाट लोकगायिका हरिदेवी कोइराला र लेखनाथ सांस्कृतिक पुरस्कार २०७९ बाट साहित्यकार वेदनाथ अधिकारीलाई सम्मान गरिनेछ । यी दुवै पुरस्कारको जनही २५ हजार र सम्मान पत्र छ ।

उक्त कार्यक्रममा कविशिरोमणि लेखनाथ आधारभूत विद्यालय पोखरा २७ र लेखनाथ आधारभूत विद्यालय पोखरा २८ का विद्यार्थीलाई कुन्तिदेवी छात्रवृत्तिसमेत प्रदान गरिनेछ ।

कुन्तीदेवी साहित्य पुरस्कार र कुन्तीदेवी छात्रवृत्तिका निम्ति कुन्तीदेवी भट्टराईका परिवारजनबाट १६ लाखको अक्षयकोष राखिएको छ । लेखनाथ संस्कृतिक पुरस्कारका निम्ति लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाललले आफ्ना बुवा चन्द्रकान्तको स्मृतिमा ४ लाखको अक्षयकोषको स्थापना गरेका छन् ।

तपाईको प्रतिक्रिया