नेतृत्वमा मिलन, द्वन्द्वपीडितको बेहाल

पोखरा ।
सशस्त्र युद्ध गर्ने माओवादी र त्यो बेला सरकारमा रहेको नेपाली कांग्रेस पटक पटक सत्तामा पुगे । बारम्बार यी २ दलबीच सत्ता सहकार्य र गठबन्धनसमेत बन्यो । दशक लामो युद्धका क्रममा मारिएका, बेपत्ता पारिएका र यातना भोग्नेहरुको समस्या भने ज्यूका त्यू छन् ।
अहिले माओवादीका तत्कालीन कमान्डर पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका छन् । बेपत्ता परिवार समाज कास्की अध्यक्ष अणनाथ बरालले आफूहरु न्यायको प्रतीक्षामा रहेको जनाए । भने, ‘हाम्रा नानीबाबुलाई ओच्यानबाटै उठाएर लगे, नियन्त्रणमा लिएर मारे ।
बाख्रा, कुखुराको त तथ्यांक हुन्छ, हाम्रा आफन्तको तथ्यांक नहुने, नदिने कसरी हुन्छ ?’ कार्यक्रममा द्वन्द्व पीडितले लामो समयसम्म संक्रमणकालीन न्याय नटुंगिने विस्फोट हुन सक्ने चेतावनी दिए ।
नेपाल फोरम फर रिइस्टोरेटिभ जस्टिसले मानव अधिकारका लागि महिला एकल महिला समूह कास्कीको समन्वयमा आयोजना गरेको नेपालको संक्रमणकालीन न्यायमा मेलमिलापको राष्ट्रिय खाकासम्बन्धी परामर्श बैठकका सहभागीले यस्तो बताएका हुन् ।
नेपाल फोरम फर रिइस्टोरेटिभ जस्टिसका अध्यक्ष राम तिवारीले संक्रमणकालीन न्यायको प्रक्रिया सिधा रेखामा अघि नबढ्ने जनाए । उनले भने, ‘कतै समयमै प्रक्रिया सकिएको छ, कतै कतै यसका लागि स्थायी संयन्त्र नै बनाइएका छन् ।’
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बेपत्ता र सहिद परिवारसहित द्वन्द्वपीडितका समस्या निकै संवेदनशील रहेको बताए । उनले सामूहिक प्रयत्नमा चाडै समस्या समाधान हुने अपेक्षा गरे ।
अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष चन्द्रा अधिकारीले विस्तृत शान्ति सम्झौता भएको २ दशक बितिसक्दा पनि सत्यनिरुपण र मेलमिलाप नहुनु दुखद् भएको बताइन् । उनले भनिन्, ‘अब पनि द्वन्द्वका घाउ फेरि नकोट्याऔं, उहाँहरुलाई न्याय दिन यथासक्य पहल गरौं ।’
राष्ट्रिय मानवअधिकार आयोग पोखराका अधिकृत मोहन काफ्लेले समुन्नत समाजका लागि सकेसम्म मेलमिलापमा जानु उपयुक्त हुने बताए । उनले भने, ‘मेलमिलापबाट समस्या सुल्झिँदा त्यो राम्रो र दीर्घकालीन हुन्छ । केही गम्भीर अपराधमा क्षमादान हुन नसक्ने कुराचाहिँ बिर्सनु हुँदैन ।’
नागरिक संवाद केन्द्र गण्डकी संयोजक जूनाकुमारी गुरुङले मेलमिलापले दुवै पक्षको जित हुने बताइन् । राजनीतिक नेतृत्वमा इच्छाशक्तिको अभाव र कानुनी जटिलताले समस्या सुल्झिन नसकेको दाबी गरिन् ।
मानवअधिकारका लागि महिला एकल महिला समूह गण्डकी प्रदेश अध्यक्ष प्रमिला तझ्याले सत्ता र शक्तिको खेलले समस्या समाधान हुन नसकेको तर्क गरिन् । कोपिला नेपालकी क्षमता खड्काले बेपत्ता र सहिद परिवारका सदस्यले पहिचानसहितको परिचय पत्र माग्दा पनि नपाएको बताइन् ।
कार्यक्रममा नेपाल फोरम फर रिइस्टोरेटिभ जस्टिसका परियोजना संयोजक शुभनारायण यादव, द्वन्द्व पीडित रमा नेपाली, मानव मिलनकी इन्दिरा पौडेल लगायतले बोलेका थिए ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया