वारागुङमा एक हप्ते स्याउ बगैचा व्यवस्थापन सम्वन्धि तालिम

जोमसोम– बर्सेनि भदौ÷असोज र कार्तिक महिना राताम्मे फल्ने स्याउका बगानहरु अहिले उजाड छन् । यहाँको बगैचाबाट स्याउ टिपेर बजारिकण गरिएसंगै मुस्ताङका स्याउ पात झरेर उजाड बनेका हुन् ।
स्याउ उत्पादनको प्रचुर संम्भावना रहेको मुस्ताङमा स्याउ खेतीलाई आधुनिक र वैज्ञानिक पद्यतीबाट कृषकलाई आवश्यक तालिम दिएर स्याउको उत्पादनशील र गुणस्तर वृद्धि गर्न विभिन्न तालिमहरु संञ्चालन गरिएका छन् । स्याउको खेती र उत्पादनशील बनाउन स्याउको उपयुक्त बगैचा व्यवस्थापन अतिनै आवश्यक हुन्छ । मुस्ताङमा पुसदेखि माघ महिनासम्म स्याउ बगैचा व्यवस्थापन र स्याउ बोटको हाँगाबिगा काँटछाँट गर्ने गरिन्छ । स्याउको उपयुक्त बगैचा व्यवस्थापनले मात्र स्याउको उत्पादन वृद्धि र गुणस्तर कायम हुन सक्तछ ।
कृषि ,शिक्षा,स्वास्थ्य र पर्यटनलाई पहिलो प्राथमिकता राखेर स्थानीयको जिवनस्तर उकास्न प्रतिवद्ध रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले शनिवारदेखि कृषकलाई एकहप्ते स्याउ खेती गर्ने तरिका सिकाउँन सुरु गरेको छ । वारागुङले पालिकाका ५ वटै वडाका कृषकहरुलाई लक्षित गरी स्याउ बगैचा व्यवस्थापन संम्वन्धि तालिम दिन सुरु गरेको हो ।
गाउँपालिकाका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले एकहप्ते पालिका स्तरीय अगुवा कृषकहरुलाई परम्परागत तथा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती तालिमको उद्घाटन गरे । पालिकाले कृषि ,पर्यटन र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आईरहेको र कृषिक्षेत्रलाई उत्पादनशील र वैज्ञानिक बनाउन कटिवद्ध रहेको अध्यक्ष गुरुङले बताए ।
वारागुङ मुक्तिक्षेत्र गापाको आयोजनामा संञ्चालित तालिममा स्याउ बोट काँटछाँट, स्याउ ग्राफटिङ र बगैचा व्यवस्थापन सम्वन्धित तालिम दिईने छ । यसका लागि वारागुङले करिव ५ लाख बजेट विनियोजन गरी कृषकलाई तालिमको अवसर प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले जानकारी दिए । उनका अनुसार स्याउ संम्वन्धि तालिममा प्रत्येक वडाका ५÷५ जना कृषक गरी २६ जना कृषकको सहभागी रहेको प्रमुख प्रशासकीय अधिकृत रानाले बताए ।‘ सबै वडाबाट मापदण्ड अनुसार सिफासिर भएका कृषकलाई सहभागी गराएका छौ, अन्य ईच्छुक तालिम लिन चाहनेलाई पनि सहभागी गर्नेछौं,’प्रशासकीय अधिकृत रानाले थपे,‘स्याउ खेतीका लागि आधारभुत तालिम हो,यो कृषकले जान्न र बुझ्नै पर्ने हुन्छ, त्यसो भयो भने मात्र कृषकले स्याउबाट बढी भन्दा बढी लाभ लिन सक्छन् ।’
वारागुङ मुक्तिक्षेत्रका कृषकलाई स्याउ बगैचा व्यवस्थापन सम्वन्धि तालिमको सहजीकरण गर्न फलफुल विकास केन्द्रका वागवानी विकास अधिकृत उपसचिव र शीतोष्ण वागवानी विकास केन्द्र मार्फाका अधिकृत पद्मनाथ आत्रेय कागबेनी छन् । उनीहरुले कृषकलाई स्याउ संम्वन्धि सैद्धान्तिक र व्यवहारिक तालिम दिने जनाईएको छ । वारागुङले वडाबाट सिफासिर भई आएका कृषकलाई निःशुल्क उपकरणसहित तालिम दिन थालेको हो ।
शीतोष्ण हावापानीमा उत्पादन हुने स्याउ लगायतका फलफुल बोटहरुको काम नलाग्ने हाँगाबिगा काँछाँट तथा बगैचा व्यवस्थापन गर्नुपर्ने हुन्छ । तर,बिना तालिम जथाभावी हाँगाबिगा काट्दा उत्पादन र गुणस्तरमा समेत असर पुग्दछ । स्याउमा अनाधिकृत फैलिएका हाँगाविगा काँटछाँट गर्दा सूर्यको प्रकाश बोटको सबै भागमा पुग्दछ भने बोट पनि राम्ररी सप्रिन्छ । स्याउ बोटमा दुई फरक विरुवा तर जातीय गुण एउँटै भएका विरुवाका भागलाई एक आपसमा जोडेर कलमी (ग्राफटिङ) गरिन्छ । यसरी ग्राफटिङ गर्दा एउँटै विरुवामा फरक फरक फल लाग्दछ । वारागुङले तामिलमा स्याउको कलमी गर्ने तरिका पनि सिकाउने प्रशिक्षक पद्मनाथ आत्रेयले जानकारी दिए ।
तालिममा स्याउ बगैचामा सिंचाईको प्रयोग, प्रकोप नियन्त्रणका लागि विषादीको प्रयोग र स्याउ बगैचमा मलजल गर्ने लगायत तरिका सिकाईने उनले बताए ।
तपाईको प्रतिक्रिया