
लेखनाथ ।
वर्षादको समयमा खानेपाानीको समस्या नभए पनि हिउँदमा गाग्री लिएर कुवा र खोला धाएर खानेपानीको जोहो गर्दै आएका पचभैयावासीले अब भने व्यवस्थित तरिकाले खानेपानी पाउने भएका छन् । कास्कीको रुपा गाउँपालिका वडा नम्बर ७ हंसपुरको कुर्लुङखोलाबाट पोखरा ३१ का पचभैयावासीलाई खानेपानी उपलब्ध गराइने भएको छ ।
पचभैयाबाट करिब ११ किलोमिटर परवाट लामो प्रयासपछि २०६८ सालदेखि नै कुर्लुङखोला खानेपानी योजना सञ्चालनमा आएपनि समयसमयमा हुने असहमतिका स्वरहरुले योजना बिचैमा अलपत्र त पर्ने होइन भन्ने चिन्ता आमउपभोक्तामा रहिरहेको अवस्थामा रुपा गाउँपालिकाले उक्त ठाउँबाट पानी ल्याउन सहमति दिएपछि पचभैयावासीलाई अब भने खानेपानीको समस्य नआउने भएको हो ।
उक्त ठाउँको मुहानभन्दा माथिबाट रुपाले आर्को योजनामार्फत खानेपानी योजना सञ्चालन गरे पनि पानीको स्रोतमा कमी आउन नदिने गरी केही तलबाट लिफ्टिङ गरी पानी तान्न रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले विश्वास दिलाएपछि कुर्लुङखोला खानेपानी योजना अगाडि बढ्ने भएको हो ।
यसैबिच कुर्लुङखोला खानेपानी आयोजना पचभैया खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको शनिबार सम्पन्न २४ औं बार्षिक साधारण सभा तथा ११ औं अधिवेशनमा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले पूर्वमन्त्री तथा गण्डकी प्रदेश एमाले संसदीय दलका नेता खगराज अधिकारीको रोहवारमा खानीपानीको स्रोत बढाएर पानी ल्याउँदा कुनै विवाद र अवरोध नहुने घोषणा गरेपछि योजनाले जिवन्त पाउने भएको हो ।
कार्यक्रममा बोल्दै नेता अधिकारीले अब जनताका माझ बोलेर होइन काम गरेर देखाउने समय भएको सुनाए । विकासलाई पहिलो प्रथामिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउँदै उनले खानेपानीका मुहान कोही कसै र भूगोलको मात्र नहुने बताए ।
कुर्लुङखोला खानेपानी उपभोक्ता समितिका अध्यक्ष नरनारायण थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ३१ का वडा सदस्य विनोदमणि लामिछाने, स्थानीय समाजसेवी शरदराज सुवेदी, शंकर पौडेल, धु्रवनाथ अधिकारी, पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार राममणि अधिकारी, उपभोक्ताहरुको तर्फबाट पुरुषोत्तम अधिकारी र यमुना पौडेल लगाएतले आ आफनो धाराणा राखेका थिए ।
संस्थाका उपाध्यक्ष दयासागर अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव नीलकुमारी थापाले प्रगति विवरण र कोषाध्यक्ष विन्दु परियारले आर्थिक प्रतिवेदन पेस गरेकी थिइन् । कार्यक्रम सञ्चालन कार्यालय सचिव हरिप्रसाद घिमिरेले गरेका थिए ।

भीमपाणि बराल
बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।
तपाईको प्रतिक्रिया