जनजनको मनमा रहेको सालिक बिनाको पृथ्वीचोक !

डम्बर अधिकारी ।
पर्यटकीय नगरी पोखरा प्रवेश गर्दै गर्दा सवारी साधानबाट कोही व्यक्ति उत्रियो भने हरेक व्यक्तिले उच्चारण गर्ने एउटै शब्द हो ‘म पृथ्वीचोक छु ,तपाई कता हुनुहुन्छ ?’ तर हरेक व्यक्तिले उच्चारण गर्ने पृथ्वीचोकमा यतिखेर पृथ्वीनारायण शाहको सालिक छैन । सालिक छ त नेपालका प्रथम शहिद लखन थापाको । तर पनि आम सर्वसाधारणको जिब्रोमा पृथ्वीचोक नै झुण्डि रहेको छ ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मानमा पञ्चायतकालमा नै पृथ्वीचोकमा मिनि पार्क निर्माण गरेर पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक राखिएको थियो । पृथ्वीचोक स्थित पृथ्वीनारायण शाहको उक्त सालिक देख्ने जो कोहीलाई पनि नेपाली हुनुमा गौरवको अनुभूति हुने गर्दथ्यो ।
त्यतिमात्र होइन पृथ्वीनारायण शाहको उक्त सालिकको वरिपरि उभिदै गर्दा पृथ्वीनारायण शाहले आम नेपाली नागरिकलाई एकताको एउटै मालामा गाँसेको अनुभूति हुन पुग्दथ्यो । तर दुरभाग्य जनआन्दोलन भाग —२ पछि परिवर्तनका नाममा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (हालको माओवादी केन्द्र)का अबुझ नेता तथा कार्यकर्ताको अगुवाईमा पृथ्वीनारायण शाहको सालिक तोडफोड गर्ने कार्य भयो ।
अर्थात पृथ्वीचोकको अस्मिता लुटियो । जतिबेला पृथ्वीनारायण शाहको सालिक तोडफोड गर्ने माओवादीका अगाडि राज्य र आमनागरिक मूक दर्शक बन्न पुगे । राज्य र आम नागरिक मूक दर्शक बन्दै गर्दा पृथ्वीचोकबाट पृथ्वीनारायण शाहको नाम निशाना मेटाउने काम भयो । जुन स्थानमा यतिखेर नेपालका प्रथम शहिद लखन थापाको सालिक रहेको छ ।
रातारात सहिद लखन थापाको सालिक राखिनु कति जायज ?
पृथ्वीचोकमा यतिबेला प्रथम शहिद लखन थापाको सालिक राखिएको छ । सुरुमा पृथ्वीनारायण शाहको सालिक रहेको पुरै भागलाई समेटेर सालिक राखिएको भएपनि उक्त सालिकलाई पोखरा महानगरपालिका नै हटाएको थियो । सडकको भाग विस्तार गरेर महानगरपालिकाले पुनः शहिद लखन थापाको सालिक राखेको छ ।
शहिद थापाको सालिक स्थापनाको पृष्ठभूमिलाई फर्केर हेर्ने हो भने रातारात पृथ्वीनारायण शाहको सालिक हटाएर शहिद लखन थापाको सालिक स्थापना गरिएको थियो । जुन कार्यको त्यतिबेला जनस्तरबाट चर्को विरोध भएको थियो । तर सशस्त्र द्धन्द्धबाट आएको माओवादीको धङधङकी अगाडि कसैले खुलेर विरोध गर्न सक्ने अवस्था थिएन । जसका कारण पृथ्वीनारायण शाहको सालिक पृथ्वीचोकमा पुनःस्थापना गर्ने कार्य अगाडि बढ्न सकेन ।
गैरजिम्मेवारी पूर्ण कार्यलाई महानगरपालिकाद्धारा वैधानिकता
तत्कालिन समयमा पोखराको पृथ्वीचोकबाट पृथ्वीनारायण शाहको सालिक हटाएर सहिद लखन थापाको सालिक राख्ने जुन कार्य भयो । त्यो कार्य सरासर गैर जिम्मेवारी पूर्ण कार्य हो । उक्त गैरजिम्मेवारी पूर्ण कार्यलाई पोखरा महानगरपालिका स्वयंले वैधानिकता दिने कार्य गरेको छ ।
महानगरपालिले गरेको उक्त निर्णय सच्याउनु जरुरी छ । अन्यथा पोखरा महानगरपालिकाको जिम्मेवार तहमा रहेका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण पोखरा महानगरबासीलाई एउटा इतिहास मेटाउन खोजेको धब्बा लाग्नेछ ।
सहिद लखन थापाको सालिक उपयुक्त स्थानमा राख्दा उत्तम
पृथ्वीचोकमा सहिद लखन थापाको सालिक राखेको विषय प्रति आम सर्वसाधारणले भित्रि हृदय देखि नै अस्वीकार गरेका छन् भन्दा कुनै फरक पर्दैन । किनकि आम सर्वसाधारण पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक नै स्थापना हुनु पर्छ भन्ने पक्षमा छन् ।
पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक पुनः स्थापना गर्दै गर्दा हाल पृथ्वीचोकमा रहेको शहिद लखन थापाको सालिकलाई पोखराकै अन्य कुनै उपयुक्त चोक वा स्थानमा राख्दा कसैले केही आपत्ति हुँदैन । यसका अतिरिक्त शहिद लखन थापाको सालिक विभूत पार्कमा राख्दा समेत उचित हुने देखिन्छ । यस विषयमा पोखरा महानगरपालिकाको विशेष ध्यान पुग्नु पर्दछ ।
पुस २७ मा दिईएको सार्वजनिक विदाले जगाएको आशा
मुलुकमा नयाँ सत्ता समिकरण निर्माण हुँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको मागका कारण सरकारले राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारको यो पछिल्लो निर्णयले पृथ्वीनारायण शाह प्रति हेर्ने दृष्टिकोण र सम्मानमा राज्यको नजर फेरिएको अनुभूति आम सर्वसाधारणले गरेका छन् ।
यसैसन्र्दभमा पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक पुनः स्थापना गर्ने विषयमा राज्यको ध्यान पुग्ने छ भन्ने धेरैको अनुमान छ । यस विषयमा विभिन्न राजनीतिक दलहरु गण्डकी प्रदेश सभा र संघीय संसदमा सशक्त ढंगले आवाज उठाउनु पर्ने देखिन्छ । यसका अतिरिक्त आम सर्वसाधारणले जनस्तरबाट समेत राज्यको ध्यानाकर्षण गराउनु जरुरी देखिन्छ ।
तपाईको प्रतिक्रिया