पोखरा महोत्सव सुरु

पोखरा ।
शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि युनाइटेड क्लबले आयोजना गरेको ११ औंं पोखरा महोत्सव बुधबारदेखि सुरु भयो । ‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’भन्ने नाराका साथ माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा चल्ने महोत्सव गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुरुआत गरे ।
महोत्सवको उद्घाटनअघि पोखरा रंगशालादेखि सुरु भएको झाँकीसहितको र्याली अमरसिंहचौरमा पुगी कार्यक्रम स्थलमा पुगी सभामा परिणत भएको थियो । कार्यक्रममा मुख्यमन्त्री अधिकारीले मेला, महोत्सवले आर्थिक गतिविधिलाई चलायमानमा टेवा पुग्ने बताए ।
‘कोरोना कहरका कारण आर्थिक गतिविधि चलायमान हुन सकेन,’ उनले भने, ‘मेला महोत्सव तथा पर्यटन प्रवद्र्धनका क्रियाकलाप गरेर आर्थिक गतिविधि बढाउन आवश्यक छ ।’ उनले पोखरा र आसपासमा आयोजना हुने महोत्सवहरुले आर्थिक क्रियाकलाप बढाउन सहयोग पुगेको बताए ।
युनाइटेड क्लबले महोत्सव गरी सामाजिक काममा समेत अग्रणी भएको उल्लेख गर्दै उनले मेला, महोत्सवमा हुने व्यापारिक स्टलमा स्वदेशी उत्पादनलाई जोड दिनसमेत आग्रह गरे । युवालाई स्वदेशमै रोक्नका लागि पनि स्वदेशी उत्पादन र बजारीकरण आवश्यक रहेको मुख्यमन्त्री अधिकारीको भनाइ छ । उनले मेला, महोत्सवले स्थानीय भाषा, संस्कृतिको उत्थानसमेत गर्ने उल्लेख गरे ।
सेती नदीलाई साहसिक पर्यटकीय गन्तव्य निर्माणमा पहलकदमी गर्ने
गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङ (श्याम)ले सामाजिक काममा अग्रसर क्लबले उद्देश्य अनुसार काम गरेको बताए । गण्डकी प्रदेशमा आर्थिक क्रियाकलाप र पर्यटकीय गतिविधी बढाउन पोखरा महोत्सवले उल्लेख्य भूमिका खेलेको उनको दाबी छ ।
गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले पोखरा महोत्सव महोत्सवको पनि महोत्सव भएकाले सबैको साथ सहयोग आवश्यक भएको उल्लेख गरे । उनले महोत्सवकै आयोजना गरी सामाजिक कामका अलवा पर्यटन प्रवद्र्धनको काम गरेको बताए ।
गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले गण्डकी प्रदेशका सामाजिक संघ, संस्थामा क्लब सबैको ध्यान खिच्न सफल भएको दाबी गरे । पोखरा ताल र हिमाल हेर्ने सहरमात्र नभएर सेती नदीको बारेमा कोही कसैले चासो नदिँदा क्लबले सेती खोंचलाई साहसिक पर्यटकीय गन्तव्य निर्माणमा अगाडि बढाएको उनले उल्लेख गरे ।
राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगका सदस्य जुद्वबहादुर गुरुङले क्लबसँगको सहकार्यमा प्रकृति र संस्कृति संरक्षणको काम गरेको बताए । पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले क्लबको सामाजिक कामले वडा कार्यालयको गौरव बढाएको बताए । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले महोत्सव आसपासको क्षेत्रमा शान्ति सुरक्षालाई चुस्त, दुरुस्त बनाउन ध्यान दिने उल्लेख गरे ।
अमरसिंह माध्यमिक विद्यालयका प्रध्यानाध्यापक तेजस्वी बरालले क्लबसँग विद्यालयले शैक्षिक तथा सामाजिक काममा सहकार्य गरेको बताए । क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले महोत्सवको ११ औं संस्करणसम्म आइपुग्दा पोखरामा खुला पर्यटकीय चिडियाखाना निर्माणलाई प्रारम्भ गर्न सफल भएको उल्लेख गरे ।
यो महोत्सवदेखि पोखराको बीच भाग भएर बग्ने सेती नदीलाई साहसिक पर्यटकीय गन्तव्य निर्माणमा पहलकदमी गर्ने र आफ्नै जग्गा भएको लेखनाथको अर्चलेमा बहुद्देश्यीय भवन निर्माण गरी जेहेन्दार विद्यार्थीका लागि आवासीय व्यवस्था सहितको शिक्षालय निर्माण गर्नतर्फ लाग्ने उनले बताए ।
क्लबका अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापा, महासचिव दिनेश सुनार, कोलपाटन आमा समूहका अध्यक्ष सावित्री पौडेल लगायतले महोत्सवका बारेमा बोलेका थिए । महोत्सवको क्रममा भएको झाँकी प्रर्दशनमा नेपाल मगर संघ रामबजार इकाइ प्रथम भएको छ ।
झाँकीमा भुरुँदी स्यो बौद्ध अर्घौ तमु समाज द्वितीय, डढुवा दुर्छा लमजुङ तमु समाज तृतीय र थारु समाज कास्कीले सान्त्वना पुरस्कार पाएका छन् । महोत्सवको र्यालीतर्फ ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र पोखरा १० प्रथम, सुनकोशी आमा समूह पोखरा १० द्वितीय, नेपाल तामाङ घेदुङ संघ कास्की तृतीय र नागबेली सिर्जनशील आमा समूहले सान्त्वना पुरस्कार प्राप्त गरे ।
महोत्सवको पहिलो दिन लोकदोहोरीतर्फ प्रजापति पराजुली, जीवन दहाल, चोलेन्द्र पौडेल, शिवहरि ढुंगाना, सरला पाण्डे, तुलसा जिसी, रमा राना, दीपक अधिकारी लगायतले लोकदोहोरी प्रस्तुत गरे । साँझको लाइभ कन्सर्टतर्फ रहस्य र सैनिक साभियरको प्रस्तुति रह्यो ।
महोत्सवको दोस्रो दिन बिहीबार लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, बबिता बानिया (जेरी), शिवहरि ढुंगाना, कृष्ण सुवेदी, जीवन सिग्देल, प्रदीप त्रिपाठी, दुर्गा क्षेत्री, तुलसा जिसी, नवराज अधिकारी लगायतको प्रस्तुति रहनेछ ।
हास्यव्यंग्यतर्फ कमेडियन जादुगर दीपक थापामगरले प्रहसन देखाउने छन् । लाइभ ब्यान्डतर्फ द स्क्रयाच जर्नीको प्रस्तुति रहने महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया