त्रिभुवन भन्थे—बाँचिन्जेल न हो सम्झने, सँगै हुने

पोखरा ।
प्रियजन बितेर शोकाकुल आफन्तलाई सम्झाउँदै पत्रकार त्रिभुवन पौडेलले लेखेका थिए, ‘मान्छे बित्छन् भन्ने सोचेर भयो र ? बाँचिञ्जेल न हो सम्झने, सँगै हुने माया गर्ने । त्यही भएर म छोरासँग जीवनभरि सँगै हुन्छु ।’ उनले यो पनि भनेका थिए, ‘म मेरो बाबा बित्ने बेला सानै थिएँ ।’
अरुलाई त्यसो भनेर सम्झाउने पौडेल नै अब रहेनन् । सानो छोरा, श्रीमती, आमासहितका परिवार र साथीसंगीलाई छाडेर यो संसारबाट बिदा भए । छोरासँग जीवनभर सँगै हुने उनको चाहना अधुरो भयो । यती एयरलाइन्सको आइतबार पोखरामा भएको जहाज दुर्घटनामा परेर पत्रकार पौडेलको निधन भएको छ ।
२ दसकदेखि पोखराको पत्रकारिताका क्रियाशील पत्रकार पौडेल प्रेस सेन्टरको सचिवालय बैठकका लागि भनेर काठमाडौं गएका थिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पौडेल आइतबार पोखरा फर्कने क्रममा दुर्घटनामा परे । महासंघ गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष पौडेलको शव आइतबार साँझ पहिचान भएको छ ।
राष्ट्रिय स्वाभिमान साप्ताहिक, पोखरा हटलाइन दैनिक, रेडियो अन्नपूर्ण र नेपाल टेलिभिजनमा आवद्ध भएर पत्रकारिता गरेका पत्रकार पौडेल ३७ वर्षका थिए । पूर्ण व्यावसायिक पत्रकारितामा सक्रिय छँदै व्यावसायिक धर्म निर्वाह गर्न कुनै कसर बाँकी नराखेका उनी पछिल्लो समय राजनीतिमा समेत सक्रिय थिए । नेकपा माओवादी केन्द्रको प्रादेशिक जिम्मेवारीमा रहेका उनी पत्रकारिता र राजनीतिलाई समाजसेवाका लागि नै केन्द्रित गर्नुपर्ने मान्यता राख्थे ।
पत्रकार पौडेलको निधनमा पोखराका पत्रकारहरुले ठूलो शोक महसुस गरेका छन् । मिलनसार स्वभावका पत्रकार पौडेलको निधनमा पत्रकारहरुले आफूहरु निशब्द भएको बताएका छन् । अग्रज पत्रकार बद्रीविनोद प्रतीकले भनेका छन्, ‘त्रिभुवन बाबु, तिमीले किन झुक्यायौ भन त ?’
नेपाल पत्रकार महासंघले पौडेलको निधनमा १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । १३ दिनसम्म शोकसभा बाहेक कुनै पनि औपचारिक कार्यक्रम नगर्ने र १३ दिनसम्म केन्द्रीय कार्यालयसहित प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय भएको महासचिव रोशन पुरीले जानकारी दिएका छन् ।
साथीहरु र आफन्तजनका लागि सरसहयोगका लागि सधैं तत्पर रहने स्वभावका पौडेल करुणा भाव प्रशस्त थियो । दुई दिनअघि मात्रै उनले आफ्नो फेसबुक स्टोरीमा सडक कुकुरलाई खाना खुवाएको तस्बिर राखेका थिए । र उनले लेखेका थिए, ‘यी खुसी, हामी पनि खुसी ।’ तर उनै त्रिभुवन पौडेल भने धेरैलाई बेखुसी बनाउँदै बिदा भए ।
तपाईको प्रतिक्रिया