प्रवद्र्धनको पर्खाइमा हरिहर मन्दिर

राष्ट्रिय समाचार समिति (रासस) २०७९ माघ ६ गते ११:११

गण्डकी ।
पोखरा महानगरपालिका– १७ मा पर्दछ सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर । पोखराको प्राचीन धार्मिक महत्वको तीर्थस्थलका रुपमा मन्दिरले चर्चा कमाएको छ । रामकालीन कहानी जोडिएको मन्दिर स्थापनाको प्रमाण भने १८ औं शताब्दीका छन् ।

Advertisement

मन्दिरका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीका अनुसार यहाँस्थित हरिहर मन्दिरको प्राप्त लालमोहरबाट मन्दिर विसं १८६४ सालमा स्थापना भएको पुष्टि हुन्छ । प्राचीन मन्दिर जीर्ण भएपछि पुरानै मौलिकस्वरुप अनुसार हाल रहेको मन्दिर निर्माण भएको छ ।

पछिल्ला समयमा हरिहर मन्दिर क्षेत्रलाई व्यवस्थित गर्ने काम भइरहेको बताउँदै अध्यक्ष भण्डारीले मन्दिरको प्रवेशद्वार निर्माणसँगै मन्दिर परिसरमा हनुमानको मूर्ति, १०८ शिवलिंग, १०८ धारा आदि निर्माण गरिएको जानकारी दिए । यहाँ प्रत्येक वर्षको माघे सङ्क्रान्तिका दिन लाग्ने मेला रामकालीन समयदेखि नै सञ्चालनमा आएको किम्बदन्ती रहेको ८४ वर्षीय कर्णाखर भण्डारीले बताए ।

प्राचीन मन्दिर जीर्ण भएपछि पुरानै मौलिकस्वरुपमा हालै यसको निर्माण भएको छ

‘हरिहर मन्दिर, सीताको पाइलाको चक्रआदि यहाँको ऐतिहासिकताका ज्वलन्त प्रमाण हुन्’, उनले भने, ‘मन्दिरको पुनःनिर्माणका क्रममा खन्दा तत्कालीन समयमा हातले नै बनाइएका इँटा फेला परेका थिए ।’ विसं २०१३ मा राजा महेन्द्रको पोखरा भ्रमणका क्रममा यहाँको ऐतिहासिकतालाई बुझेर सीतापाइला भन्ने गरिएको स्थानमा उत्खनन् गर्न लगाउँदा सीताको पाइलाको चक्र फेला परेको उनले सुनाए । सीता पाइलाको चक्र रहेको वर पीपलको फेद नै एउटै रहनु यहाँको अर्को विशिष्टता हो ।

Advertisement

मन्दिरको नजिकै रहेको महतगाँैडा र टुङ्ग्यालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुंगेसाँघु पनि यहाँको ऐतिहासिकताको ज्वलन्त प्रमाण हो । माघे संक्रान्तिमा यसै क्षेत्रमा लाग्ने मेला भएकाले यसलाई ढुंगेसाँघुको मेला भन्ने गरिएको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिरका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी बताउँछन् ।

ढुंगेसाँघुसँग नाम जोडिएको मेला भने भगवान रामसीताको कथासँग पनि जोडिएको छ । भगवान राम र सीताले माघे सङ्क्रान्तिको दिनमा यही स्थानमा बसेर खाजा खाएको धार्मिक विश्वासका आधारमा प्राचीनकालदेखि यस दिनमा यही जम्मा भएर शखर, चिउरा, तरुल खानेगरी मेलाको सुरुआत हुँदै आएको विश्वास रहेको उनले बताए ।

माघे सङ्क्रान्तिका दिनमा सम्पूर्ण देवीदेवता हरिहरको दर्शनका लागि यही स्थलमा आउने भएकाले यहाँ आएर स्नान एवम् दर्शन गर्नेले सम्पूर्ण देवीदेवताको दर्शन गर्न पाउने धार्मिक विश्वास पनि कायमै छ । अध्यक्ष भण्डारीका अनुसार यहाँस्थित हरिहर मन्दिरको प्राप्त लालमोहरबाट मन्दिर विसं १८६४ मा स्थापना भएको पुष्टि हुन्छ ।

स्थानीय मन्दिर व्यवस्थापन समितिका सदस्य डिलुमाया भण्डारीले हरिहर मन्दिरमा रहेको मूर्ति पोखरा क्षेत्रकै प्राचीन मूर्ति रहेको बताइन् । समय समयमा मन्दिर परिसरमा नाग देखापर्ने र हरिहरको मूर्तिको छिद्रबाट अनाँैठो जीव देखिने गरेको उनले सुनाइन् ।

मन्दिर परिसरमा समय समयमा बाघ देखिने गरे पनि मन्दिरमा पालिएका गाई सुरक्षित रहनुलाई धार्मिक आस्था एवम् विश्वासका साथ हेर्ने गरिएको छ । यस क्षेत्रका रहेका सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर, सीता मन्दिर, शिव मन्दिर, नारायण मन्दिर, सिद्धेश्वर मन्दिर, गणेश मन्दिर आदिका कारण यहाँको गरिमा र महत्व बढाएको सदा शिवजी सिद्देश्वर हरिहर मन्दिरका पूर्व अध्यक्ष ऋषिराम भण्डारी बताउँछन् ।

यस क्षेत्रमा शिवरात्री, रामनवमी, कृष्णा जन्माअष्टमी, जनैपूर्णिमा लगायत चाडपर्व र तिथिमा पनि विशेषमासमेत भीड लाग्ने गरेको छ । कुनै प्राविधिकको सहयोग बिना नै प्राचीनकालदेखि नै प्राकृतिक रुपमा बनेको सेती नदी माथिको ढुङ्गे साँघुमा ठूला सवारीसाधन आवातजावत नगरे पनि ट्याक्सी र मोटरसाइकल भने ओहोरदोहोर गर्दछन् । यहाँको ढङ्गेसाँघु कसरी बन्यो भन्ने सम्बन्धमा चासो भए पनि यो अझै अनुसन्धानको पर्खाइमा छ । पोखरा उपत्यकाको उत्पत्तिसँगै यहाँ उक्त पुल निर्माण भएको हुन सक्ने तर्क छ ।

प्राचीनकालमा अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको आसपासका हिमताल फुट्दा भीषण बाढीसँगै आएको माटो, बालुवा, गेग्य्रान, चट्टान र वनपैदावारका कारण पोखरा उपत्यकाको उत्पत्ति भएको अनुमान गरिन्छ । त्यही समयमा सेती नदी माथिको प्राकृतिक ढुंगेसाँघुको निर्माण भएको भूगर्भविद्हरू बताउँछन् ।

पोखरा उपत्यका बन्ने क्रममा सेती नदीको दायाँबायाँ जमिनमा धाँजा फाटेर विपरीत दिशाबाट एकै साथ ढलेका ठूलाठूला दुईवटा चट्टान एकापसमा जोडिएको र नदीको पानीले तल्लो भाग खोलेर निकास बनाएपछि जोडिएको उपल्लो भागले पुलको आकार लिएको हुनसक्ने अनुमान गरिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया