मुक्तिनाथ क्षेत्रमा नयाँ बसपार्क निर्माण गरिने

समाधान संवाददाता २०७६ वैशाख २९ गते १४:०५

सुन्दरकुमार थकाली
मुस्ताङ

हिन्दु र बौद्ध धर्मालम्बीको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकैको पुराङ रानीपौवामा अर्को बसपार्क निर्माण गरिंदै छ । आर्थिक वर्ष ०७५÷०७६ को बिनियोजित १० लाख बजेटबाट बसपार्क निर्माण सुरु भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जनाएको छ ।

पछिल्लो समय मुक्तिनाथ आउने सवारी साधन बढेपछि साविकको बसपार्क सांँघुरो भएको हो । साविककै कालोपत्रे बसपार्कको दक्षिणतर्फ अर्को बसपार्क निर्माण हुने गाउँपालिकाका असिस्टेन सब इन्जिनियर मीनबहादुर सार्कीले जानकारी दिए । नयाँ बसपार्क र साविकको कालोपत्रेलाई जोड्ने गरी बसपार्क बनाइनेछ । नयाँ बसपार्कको लम्बाई ८० मिटर र चौडाइ ८५ मिटर हुनेछ । यो बसपार्क निर्माणको जिम्मा मुक्तिनाथ बसपार्क उपभोक्ता समितिले लिएको छ ।

Advertisement

यसअघि साविकको कालोपत्रे बसपार्क कागबेनी मुक्तिनाथ सडक कालोपत्रे गर्ने क्रममा स्थानीय पूर्वाधार तथा ग्रामिण सडक आयोजना (डोलीडार)ले निर्माण गरेको हो । नयाँ बसपार्क निर्माणपछि सवारी साधन भित्रिने चैते दसैं, १६ श्राद्ध, मातातीर्थ औसी र दशै तिहार जस्ता चाडपर्वमा पनि पार्किङको समस्या हुने छैन । बसपार्क निर्माणका लागि १ डोजर र २ वटा ट्याक्टरको प्रयोग भएका छन् ।

मुक्तिक्षेत्रको पर्यटकीय सम्भावनालाई ध्यानमा राखेर गाउँपालिकाले चालु आर्थिक वर्षमा आवश्यकता अनुसार बजेट बिनियोजन गरेको छ । गाउँपालिकाले यहाँ वैकल्पिक पदमार्ग सुधार, ताल संरक्षण र सार्वजनिक शौचालय विस्तारलाई प्राथमिकता दिइएको वडा नम्बर १ का अध्यक्ष वीरबहादुर गुरुङले बताए ।

Advertisement

यहाँ आकस्मिक उपचार कक्ष र सार्वजनिक शौचालयको प्रबन्ध छैन । गाउँपालिकाले बजार क्षेत्रमा शौचालय निर्माणका लागि१० लाख बजेट बिनियोजन गरेको छ । मुक्तिनाथ क्षेत्रको गाउँ झारकोटदेखि खिंगा हुँदै कालोभीरसम्म करिब ४ किलोमिटर पुरानो पैदल मार्गलाई वैकल्पिक पदमार्गको रुपमा विस्तार गर्ने योजना वडाध्यक्ष गुरुङले सुनाए । यसका लागि गाउँपालिकाले यस वर्ष ५ लाख छुट्याएकाे छ ।

तपाईको प्रतिक्रिया