२५ जनालाई स्वरोजगार कर्जा

समाधान संवाददाता २०७९ फागुन २१ गते १३:४६

काठमाडौं ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले २५ जना युवालाई स्वरोजगार कर्जा वितरण गरेको छ । शुक्रबार कोषको १४ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुलाई कर्जा वितरण गरिएको हो । सेरामिक्स, कफी सप, बेकरी, तरकारी उत्पादन तथा अन्य व्यवसायका लागि २५ जनालाई २ लाख रुपैयाँका दरले कर्जा वितरण गरिएको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिए ।

युवाहरुलाई राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, कोषका उपाध्यक्ष डा. देवराज रोका ‘कल्याण’ र कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले संयुक्तरुपमा हस्तान्त्रण गरे । सो रकम सही सदुपयोग गरी सफल उद्यमी बन्न राष्ट्रिय योजना आयोगका सदस्य डा. राउतले आग्रह गरे ।

अहिलेसम्म ९५ हजारलाई स्वरोजगार बनाएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको दाबी

Advertisement

कोषले शुक्रबार १४ औं स्थापना दिवस पनि शुक्रबारै मनाएको छ । कार्यक्रमको राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतले उद्घाटन गरे । उनले बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन कोषको भूमिका महत्वपूर्ण रहेको बताए । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवराम न्यौपानेले कोषले स्थापनाको १४ वर्ष पूरा गर्दा प्राप्त सफलताको प्रशंसा गर्दै कोषबाट प्राप्त कर्जालाई सही ठाउँमा सदुपयोग गर्न सेवाग्राहीलाई आग्रह गरे ।

कोषका उपाध्यक्ष डा. देवराज रोका ‘कल्याण’ले कोषले विशेष गरी आर्थिक रुपमा विपन्न १८ वर्षदेखि ६० वर्ष उमेर समूहका बेरोजगार, युवा तथा साना व्यवसायीलाई बिना धितो स्वरोजगार कर्जा, सहुलियत ब्याजदरमा कर्जा लगानी, सुलभ व्याजदरमा व्यावसायिक कर्जा, कोषले व्यवसायी तथा व्यवसायी परियोजनाको निःशुल्क बीमा तथा असल कर्जाग्राहीको ब्याजमा ६० प्रतिशत अनुदान लगायतका सेवाहरु दिँदै आएको जानकारी दिए ।

Advertisement

कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले कोषको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए । कोषले हालसम्म ९५ हजार १६१ जनाको संख्यामा स्वरोजगार सिर्जना गरेको जानकारी दिए । नेपाल सरकारद्वारा तत्कालीन अर्थमन्त्रालय अन्तर्गत रहने गरी २०६५ फागुन १९ गतेबाट औपचारिक शुरुआत भएको कोष अहिले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको अधिकारीले जनाए । उनले हालसम्म कोषमार्फत लक्षित वर्गलाई १२ अर्ब ९३ करोड ११ लाख ८५ हजार रुपैयाँ लगानी गरिसकेको सुनाए ।

कोषले स्थापनाको १४ वर्षको अवधिमा ४२ हजार बढी युवा तथा साना व्यवासायीलाई अभिमुखीकरण तालिम, करिब साढे ८ हजार जनालाई सीपमूलक तालिम, विभिन्न संस्थाका ६ हजार जनालाई अनुशिक्षण तालिम प्रदान गरेको विवरण प्रस्तुत गरेका थिए ।

नेपाल सरकारबाट प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ अन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन नियमावली, २०७७ अनुसार सञ्चालित कोषले सहुलियत व्याजदरमा प्रतिव्यक्ति रु दुई लाखसम्म आवधिक ऋण उपलब्ध गराई तिनीहरुको आय आर्जनमा वृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउन भूमिका खेल्नुका साथै उद्यमशीलताको विकास मार्फत मुलुकभित्र स्वरोजगारका अवसर सिर्जना गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

कोषले आर्थिक रुपले विपन्न महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारु, सीमान्तकृत, लोपोन्मुख, अल्पंख्यक, मुस्लिम, अपांगता भएका व्यक्ति, द्वन्द्व पीडित तथा पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरिब किसान, मजदुर, सुकुम्बासी वा साना व्यवसायी एवं युवाहरु तथा परम्परागत सीप भएका जात जातिहरुलाई व्यावसायिक खेती, पशुपंक्षीपालन, कृषिजन्य उद्योग वा सेवामूलक स्वरोजगार कार्यक्रम लगायतका क्षेत्रमा काम गरिरहेको पनि जनाएको छ ।

तपाईको प्रतिक्रिया