४ करोड ३० लाखमा पाेखरा २७ को भवन बन्ने

लेखनाथ ।
साविक लेखनाथ नगरपालिकाको प्रशासनिक भवन रहेको तालचोकमा पोखरा महानगरपालिका वडा नं २७ को कार्यालय बन्ने भएको छ । लामो समयदेखी भाँडाको घरमा कार्यालय सञ्चालन गरी सेवा प्रदान गर्दै आईरहेको वडा नं. २७ ले सुबिधा सम्पन्न कार्यालय भवन बनाउने भएको हो ।
वडाध्यक्ष पूर्णकुमार गुरुङले भवनको शनिबार शिलान्यास गरेका छन । वडाध्यक्ष गुरुङले नयाँ भवन निर्माणपछि सेवाग्राहीले सर्वसुलभ र थप व्यवस्थीत तरिकाले सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे । भवनमा लिफ्ट पनि राखिने उनले बताए । साविक लेखनाथ नगरपालिकाको कार्यालय परिसरभित्र पुर्वतर्फको भागमा २४१ वर्गमिटर क्षेत्रफलमा बन्ने अत्याधुनिक सुविधासम्पन्न भवन ३ तलाको हुनेछ भने भुकम्प प्रतिरोधात्मक,अपांग तथा जेष्ठ नागरिकमैत्री समेत हुने गुरुङले जानकारी दिए ।
चार करोड ३० लाखको लागतमा निर्माण हुने भवन निर्माणको ठेक्का नेचुरल फर्निसिङ एण्ड कन्सट्रक्सन प्रा.लि. काठमाण्डौंले प्राप्त गरेको छ । २०७९ माघमा ठेक्का सम्झौता भएको र २०८० माघसम्म भवन निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य लिएको निर्माण कम्पनीका प्रतिनिधी रमेश मैनालीले बताए ।
पोखरा महानगरपालिका बनेपछि अहिलेसम्म वडा नं २,७,११,१२,१९,२०,२२,३०र ३२ ले नयाँ भवनबाट सेवा प्रवाह गरिसकेका छन् भने वडा नं ५,६,८,१७,१८,२६,२७ र ३१ मा भने नयाँ भवन बन्ने प्रक्रिया रहेको पोखरा महानगरपालिकाका सव ईन्जिनियर द्रर्पण पोखरेलले जानकारी दिए ।
साविक लेखनाथ नगरपालिकाको पुरानो प्रशासनिक भवन वडा नं २७ को कार्यालय सञ्चालन भइरहेको अवस्थामा कोभिडको समयमा पोखरा महानगपालिकाले शिसुवा अस्पताल मार्फत कोभिड उपचार केन्द्र सञ्चालन गर्दै आएको भए पनि अहिले भवन खाली अवस्थामा छ ।
तपाईको प्रतिक्रिया