राष्ट्रपति छान्न आज मतदान

काठमाडौं ।
मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।
संघीय संसद् र प्रदेशसभा सदस्यका लागि उक्त कक्षमा बेग्लाबेग्लै २ मतदान केन्द्र निर्माण गरिएको छ । मतदान अधिकृतसहितको टोली खटिएर मतदान केन्द्र निर्माण गरिसकिएको छ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो । राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० मतदाता हुनुहुन्छ । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ ।
निर्वाचनलाई व्यवस्थित गर्न मतदाता र मिडियाकर्मीका लागि विश्राम गर्ने बेग्लाबेग्लै पालसहितको स्थानको व्यवस्था मिलाइएको छ । निर्वाचनमा संघीय सांसदको १ मत बराबर ७९ र प्रदेशसभा सदस्यको १ मत बराबर ४८ मतभार कायम गरिएको छ । निर्वाचनका लागि संघीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिस्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वाेच्च अदालतका उपरजिस्ट्रार लोकनाथ पराजुली खटिएका छन् ।
निर्वाचन र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्थाका साथै दुवै मतदान केन्द्रमा सात–सात जनाको कर्मचारीको टोली खटिनेछ । राष्ट्रपति पदको निर्वाचनमा ९ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।
समग्र निर्वाचनका लागि पौडेलका तर्फबाट रमेश लेखक र नेम्वाङका तर्फबाट महेश बर्ताैला प्रतिनिधिका रूपमा छन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिउँसो ३ बजे मतदान सकिएसँगै मतगणनासुरु गर्ने र साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरेको छ । निर्वाचनमा मतदानका लागि सबै प्रदेशका सांसद काठमाडौं आइपुगिसकेका छन् ।









नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रदीप पौडेल महामन्त्रीमै लड्ने
संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया