साना सहरी र विद्युत प्राधिकरणबीच जुहारीले गोरखामा खानेपानीको समस्या

समाधान संवाददाता २०७६ जेठ ४ गते ९:०४

मोहसिन अलि मियाँ, गोरखा

गोरखा सदरमुकाममा खानेपानी समस्या नौलो विषय होइन । सुख्खायाम सुरु भएसँगै सदरमुकामका ढुंगेधारा र कुवाहरुमा भीडभाड बाक्लै हुने गर्छ । घरमा पानी आउन बन्द भएपछि कतिपयको त पानीकै लागि रातभर जाग्राम बस्नुपर्ने वाध्यता पनि छ । तर सदरमुकाम क्षेत्रमा खानेपानी वितरण गर्दै आएको पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति भने नेपाल विद्युत प्राधिकरणलाई दोष दिएर पन्छिँदै आएको छ ।

वर्षौदेखि विद्युत कार्यालयलाई दोष दिएर खानेपानी आपूर्ति बन्द गर्दै आएको साना सहरीले गत वर्ष मात्रै १ करोड ६ लाख खर्च गरेर सोलार प्रविधि जडान गरेको थियो । तर त्यसको समेत व्यवस्थापन गर्न नसक्दा यस वर्ष पनि उपभोक्ताले गत वर्ष जस्तै समस्या भोग्नुपरेको छ । ‘हाम्रो विद्युतमा आधारित पम्पिङ सिस्टम हो’ समितिका अध्यक्ष विनोद अर्यालले भने, ‘विद्युत अनियमित हुँदा स्वभाविक रुपमा पानी आपूर्ति प्रभावित नै हुन्छ ।’

Advertisement

त्यसो त सोलार प्रविधिको उचित व्यवस्थापन हुन नसकेको स्वयं स्वीकार्छन् । ‘हो अघिल्लो वर्ष मात्रै १ करोडको लगानीमा हामीले सोलार हाल्यौं, तर त्यसले पनि अपेक्षाकृत काम गर्न सकेको छैन,’ अध्यक्ष अर्यालले थपे, ‘यसबाट दिनको २ लाख लिटर पानी तान्छ भनेको हो तर सोलार नै जंगलमा परेछ, घाम नै राम्रोसँग नलाग्ने भएर त्यसले पनि राम्रो काम गरेको अवस्था छैन ।’

यता नेपाल विद्युत प्राधिकरण गोरखा भने लाइनका कारण खानेपानी आपूर्तिमा समस्या आएको भन्नु हास्यास्पद भएको बताउँछ । खानेपानीको आरोप आफ्नो गल्ती लुकाउन मात्रै भएको प्राधिकरणका प्रमुख माधव न्यौपाने बताउँछन् । ‘आफ्नो गल्ती ढाकछोप गर्न अरुलाई किन दोष दिने ?’ प्रतिप्रश्न गर्दै न्यौपानेले भने ‘विद्युतकै कारण पानी नआएको भन्ने कुरामा सत्यता छैन ।’

Advertisement

गत महिनादेखि लाइन विस्तार र मर्मतका कारण केही समय विद्युत अनियमित हुँदा खानेपानीलाई कुनै समस्या नपरेको उनको भनाइ छ । ‘हाम्रो सप्लाइमा थोरै समस्या हो तर हामीले त सूचना नै निकालेर लाइन बन्द गरेका हुन्छौं,’ उनले थपे, ‘बुंकोटमा लाइन हुने उहाँहरुको मुलमा लाइन नहुने भन्ने हुँदैन, यो सरासर गलत कुरा हो ।’

उनीहरुको आरोप प्रत्यारोपको मारमा परेका उपभोक्ताले भने गोरखा नगरपालिकाको कार्यालयमा गुनासो लिएर जाने गरेका छन् । साना सहरी, विद्युत प्राधिकरणको लापरबाही र खानेपानीको समस्याको गुनासो बढ्न थालेपछि बिहीबार गोरखा नगरपालिकाले दुवै कार्यालयका प्रमुखलाई बोलाएर छलफल गरेको छ । ‘उहाँहरु जुहारी खेल्नुहुन्छ, गुनासो हामीकहाँ आउँछ,’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने, ‘खानेपानीका अध्यक्ष र विद्युतको प्रमुखलाई सँगै राखेर छलफल गराएको छु, समस्या हल गर्न आ–आफ्नो ठाउँबाट प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।’

सदरमुकाममा खानेपानी बढी र कम खपत हुने क्षेत्रको पहिचान गरी वैकल्पिक विद्युतको स्रोत वयवस्थापन गरेर भए पनि खानेपानी आपूर्ति रोक्न नहुने नगरप्रमुख पन्तले बताएका छन् । ‘उहाँहरुको १ नम्बर ट्यांकीमा मात्रै समस्या हो, जेनेरेटर छ सोलार छ त्यसलाई उपयोग गर्नुपर्‍यो नि’ उनले भने ‘बजार क्षेत्रमै ३ ठाउँमा बोरिङ गरिएको छ, खै उहाँहरुले त्याहाबाट पानी निकाल्न सक्नुभएको ?’

बिहीबार नगरपालिकाको कार्यालयमा भएको छलफलमा विद्युत कार्यालयले समेत आपूर्तिमा भएको अनियमितता रोक्ने र साना सहरीले स्रोत साधानको पूर्ण ब्यवस्थापन गर्दै खानेपानी सहज बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । सदरमुकाममा गत चैतदेखि नै खानेपानीको हाहाकार छ ।

तपाईको प्रतिक्रिया