तमु ह्युल राष्ट्रिय पार्षद सभा सुरु

पोखरा ।
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १३ औं राष्ट्रिय पार्षदसभा शनिबारदेखि सुरु भएको छ । पार्षद सभामा देशभरबाट ६ सय जना प्रतिनिधिले भाग लिएको संस्थाका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए । पोखराको चिप्लेढुंगाबाट चैत १८ गते पार्षदसभाको झाँकीसहितको र्याली पोखरा सभामा पुगेर सभामा परिणत भएको छ ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आदिवासी जनजातिको मौलिक भाषा र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए । उनले संविधानको मर्म र भावना अनुसार गुरुङ भाषालाई सरकारी काम काजको भाषा बनाउनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा गुरुङ समुदायबाट राज्यको उच्च ओहोदामा पुग्न सफल गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ, गण्डकी प्रदेश सभाका सदस्य सरस्वती गुरुङ, रेखा गुरुङ, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, न्याय सेवाका सहसचिव मीना गुरुङ, कृषि विकास बंंैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, लायन्स क्लबका डिष्ट्रिक गभर्नर धीरज गुरुङ लगायतलाई फेता र घलेक लगाएर सम्मानपत्र प्रदान गरिएको छ ।
समारोहमा सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले राज्यको लगानीमा गुरुङहरुको समाज घर निर्माण हुनुपर्ने बताए । स्थानीय जनसहभागिताको रुपमा थोरै समुदायको लगानी भए पनि अरु सबै लगानी सरकारी निकायको हुनुपर्ने उनले उल्लेख गरे ।
परिषद्का केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरुङले नेपालको संविधानको धारा ७ मा सरकारी कामकाजको भाषाको रुपमा तमु (गुरुङ) भाषालाई मान्यता दिलाउने व्यवस्था गरेको जानकारी दिए । उनले नेपाल सरकारले गुरुङ भाषा पढाउने निर्णय गरे पनि आवश्यक बजेटको व्यवस्था नगरेको गुनासो गरे ।
परिषद्का महासचिव डम्बर गुरुङले भाषा आयोगले गण्डकीमा गुरुङ भाषा पढाउने कार्यक्रम लागू गर्न सिफारिस गरेको बताए । उनले पार्षदसभामा गुरुङको थाकथलोको ऐतिहासिक पहिचानसँग जोडिएको नामलाई खसकरण गरिएको अवस्थामा गुरुङको मातृभाषामा फर्काउनको लागि पहल गर्ने जानकारी दिए ।
कार्यक्रममा तमु ह्युल छोंज धीं राष्ट्रिय परिषद् कास्कीका कार्यवहाक अध्यक्ष सीता गुरुङले पाठ्यक्रमको विकास तथा सरकारी कामकाजको भाषा नबनाए गुरुङ भाषा लोप हुने दाबी गरिन् । उनले सरकारको नीति तथा कार्यक्रम एवं रातो किताबमा गुरुङ भाषाको संरक्षण तथा विकासको लागि बजेट विनियोजन नगरेको उल्लेख गरिन् ।
कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् संरक्षक परिषद् अध्यक्ष रेशम गुरुङ, परिषद्का उपमहासचिव मनोज गुरुङ, तमु बौद्ध सेवा समितिका प्रतिनिधि पुष्पबहादुर गुरुङ लगायतले गुरुङ समुदायको हकहितक बारेमा बोलेका थिए ।
कार्यक्रममा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले डा गेहेन्द्रमान उदास ‘पोखरेली’ले लेखेको आदिवासी जनजातिमा हिन्दुकरण पुस्तक लोकापर्ण गरे । २०६५ चैत १५ देखि १८ गतेसम्म चितवनमा ऐतिहासिक तमु एकता राष्ट्रिय महाधिवेशन गरी तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको स्थापना भएको हो ।









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया