मुख्यमन्त्री अफर त्याग्दा अहिले उम्मेदवार बन्न पाएँ

सञ्जय रानाभाट २०८० वैशाख ६ गते १७:१२

१० वैशाखमा हुने तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेसबाट गोविन्द भट्टराई यो क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार छन् । रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित हुँदा रिक्त निर्वाचन क्षेत्रमा उम्मेदवार भट्टराई आफू पौडेलको उत्तराधिकारीका रुपमा मैदानमा आएको बताउँछन् ।

उपनिर्वाचन आउन अब केही दिनमात्र छ, तपाईंको तयारी के छ ?
मेरो तयारी व्यक्तिगत चिनजान र यो ठाउँमा मैले काम गरेको आधारमा हो । यो चुनाव मैले एक्लै लडेको पनि होइन । नेपाली कांग्रेस र गठबन्धनमा आवद्ध सम्पूर्ण दल लडेको हुँदा सबै जना परिचालित भएर चुनाव लड्न कुरा भयो । मेरो व्यक्तिगत तयारी एउटा छ; त्योभन्दा पनि पार्टी र गठबन्धनबाट भएकाले सामूहिक तयारीमा जुटेका छौं ।

कांग्रेस छाडेर स्वर्णिम वाग्ले तपाईंसँग प्रतिस्पर्धामा आएको कुराले के अर्थ राख्छ ?
पार्टी छोड्ने, आउने क्रम त भइहाल्छ । पार्टी छोडेर पहिला भइरहेको भन्दा राम्रो अवसर खोज्ने प्रयास त भइरहन्छन् ।

Advertisement

स्थापनाकालदेखि नै दुइटा सोच देखिन्छ । जति दुख पाए पनि जति संघर्ष, जेल बस्नुपरे पनि नेपाली जनतालाई स्वतन्त्रता दिलाउन, प्रजातन्त्र स्थापना गर्न अविचलित लाग्ने निष्ठाको राजनीति गर्ने एकथरी छन् । सँगसँगै अर्कोथरी विचलनको राजनीति गर्ने देखिए ।

पञ्चायत कालमा अञ्चलाधीश प्राप्त गर्न जाने पनि थिए । मन्त्रीको लोभमा जाने पनि भेटिए । अहिले अन्य दलको लोभ देखेर जाने भेटिएका छन् । यो कुनै नौलो विषय पनि होइन । मान्छेमा कहिलेकाहीँ विचलन पनि आउँदो रै’छ ।

Advertisement

त्यो विचलनका कारण मान्छेले पार्टी छोड्छन् । फेरि त्यो सोचमा परिवर्तन भएपछि ती मान्छे फर्कने गरेका पनि छन् । यस कारण यो पार्टी हाँक्ने भनेको दह्रो सोच र प्रतिबद्धता, सिद्धान्तप्रतिको निष्ठा, इमान्दारी, नैतिकता र लोभलालचमा नफस्ने मान्छेहरु नै हो । यस कारणले त कांग्रेस कांग्रेस भएको छ ।

कांग्रेसमा लामो विरासत हुँदाहुँदै वाग्लेले छाड्नुभयो, कमजोरी पार्टीका पनि थिए कि ?
पार्टीभित्रका कतिपय तिक्तताले गर्दा केही साथीहरु त्यो ठाउँमा पुग्नुभएको छ । मलाई के लाग्छ भने अहिले केन्द्रीय कार्यसमितिको बैठकले केही निर्णय गरेको छ । तनहुँ र चितवनको हकमा अब केही दिनमै त्यो असन्तुष्टि पनि विस्तारै हट्दै जालान् । अब तनहुँमा हामी भारी मतान्तरका साथ चुनाव जित्छौं ।

कुरा रह्यो लामो विरासतको; अघिल्लोपटक १० वर्षीय क्रियाशीलता नपुगेका कारणले नै उहाँ केन्द्रीय सदस्य बन्न सक्नु भएन ।

विरासत गफ गर्ने विषय होइन । कसले कहाँ पढेको हो ? कसले कहाँबाट संघर्ष गरेको, त्यो इतिहासले देखाउँछ । म सबै सत्यतथ्य बोल्ने मान्छे हुँ । मेरो विरासत खुला किताब जस्तै छ । घर, परिवार इतिहास खोतल्दै गयो भने भेटिन्छ । यहाँ आफैं विरासत बनाउँदै जान्छन् र देखाउँछन् पनि । यस्तो विरासत भएको मान्छे मेरो जिल्लामा कोही आउँछ जस्तो मलाई लाग्दैन ।

वाग्लेको उपस्थितिले प्रतिस्पर्धाचाहिँ त्रिपक्षीय हुन्छ भन्न सकिएला ?
होइन, यहाँ दुई पक्षीय भिडन्त हुन्छ । जित्ने कांग्रेस पार्टीले हो । निकटतम प्रतिस्पर्धी नेकपा एमाले हुन्छ । तेस्रो अब को हुन्छ; त्यो समयले नै बताउला ।

कांग्रेसभित्र पनि तपाईंले लामो समय अवसर पाउनु भएन नि, किन ?
अवसर त मैले वडामा चुनाव लड्ने पनि पाएको थिएँ, लडिनँ । स्थानीय चुनावमा भाग लिन र आउट पोस्ट तयार गर्ने मलाई घाँसीकुवा गाविसको अध्यक्षको अफर गरिएको थियो । त्यो लिइनँ । विगतमा तनहुँमा जुन परिस्थिति सिर्जना भयो, तनहुँमा धेरै पुराना नेता भएको हुँदा पनि वास्तवमा थिचिएको अवस्था थियो ।

अहिले पनि प्रदेशमा चुनाव लडेर मुख्यमन्त्री हुन अवसर आएको थियो । त्यो बाटो रोजिनँ । मैले यहाँ बसिराख्दा ती पदमा काम गरेका मान्छेलाई निरुत्साहित गरिनँ । अर्को, मलाई समानुपातिकमा पनि राखिएको थियो । समानुपातिकमा पनि जान्नँ, मैले प्रत्यक्ष निर्वाचन नै लड्छु भनेर निर्णय गरेँ ।

०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमै हार्नुभएको हो नि, होइन ?
त्यति बेला कांग्रेसमा आन्तरिक कलह थियो । अहिले यस्तो परिस्थिति छैन । अहिले परिस्थिति चेन्ज भएको छ । केन्द्रमा हाम्रो सरकार छ । प्रदेशमा हाम्रो सरकार बन्ने अवस्था छ । सत्ता पक्ष सँगसँगै छौं । पहिला जे भयो; त्यो दुर्घटना थियो । तनहुँमा कांग्रेस पत्तासाफ हुने अवस्था जो आयो ।

अहिले कांग्रेसमा सुधार आएको छ भन्ने मंसिरकै चुनाव हेर्दा पनि हुन्छ । केन्द्रमा र प्रदेशमा कांग्रेस उम्मेदवार भारी मतान्तरले विजयी भएको अवस्था हो । अहिले यहाँ अवस्था सुधारिएको छ ।

रामचन्द्र दाइलाई मतदान गर्ने अत्यन्त खुसी हुनुहुन्छ, उहाँ देशको राष्ट्रपति बन्नुभएको छ । अर्को पक्ष रामचन्द्र दाइले अघि बढाएका जे जति योजना थिए, राजनीतिक विचारलाई बोक्न उत्तराधिकारीको रुपमा म आएको छु ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया