खण्डहर तातोपानी नाका गुलजार बन्दै

समाधान संवाददाता २०७६ जेठ १२ गते १२:५२

रमेश लम्साल
तातोपानी

गोरखा भूकम्पका कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी असाध्यै खुसी भएका छन् । देशको अर्थतन्त्रको प्रमुख मेरुदण्डका रुपमा समेत रहेको उत्तरी छिमेकी देश चीन जोड्ने उक्त नाका यही जेठ १७ गतेदेखि सञ्चालनमा आउँदै छ ।

नाका सञ्चालन हुने खबर सुनेपछि स्थानीय छिरिङ शेर्पाले भने, ‘हामीले त नयाँ जीवन प्राप्त गरेको जस्तो लागेको छ ।’ भूकम्पपछि खण्डहर बनेका तातोपानी, लिपिङ बजार लगायतका क्षेत्र यतिखेर क्रमश गुलजार बन्दै गएका छन् । भत्किएका घर र संरचनालाई मर्मत सम्भार गर्दै स्थानीयवासी नाका खुल्ने खबरसँगै उत्साहित मात्रै भएका छैनन्, आर्थिक उन्नयन हुनेमा आशावादी देखिएका छन् ।

Advertisement

भोटेकोसी गाउँपालिकाका मिङ्मा शेर्पा भन्छन्, ‘नेपाल सरकारको ठूलो प्रयासपछि नाका सञ्चालनमा आउन लाग्नु हामी सबैका लागि खुसी र उत्साहको कुरा हो ।’ स्थानीयवासीमा उत्साह भर्न गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं सिन्धुपाल्चोकका सांसद अग्निप्रसाद सापकोटा लगायतले शनिबार तातोपानी नाका र कोदारी राजमार्गको स्थलगत निरीक्षण गरे ।

नेपाल इन्टरमोडेल यातायात विकास समितिले निर्माण गरेको सुक्खा बन्दरगाहसमेत उनीहरुले निरीक्षण गरे । गृहमन्त्री थापाले भने, ‘देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने यो नाका सञ्चालनमा आउन लागेको छ, नेपाल सरकारले शान्ति सुरक्षाको सबै प्रबन्ध गरेको छ, ‘एक चीन नीति’ विरुद्ध हुने सबै प्रकारका गतिविधि पूर्णरुपमा बन्देज गर्दै नाकालाई थप व्यवस्थित बनाउँछौं ।’

Advertisement

नाका खुल्ने भएसँगै पर्यटन, आर्थिक प्रवद्र्धन र दुई देशको सम्बन्धलाई समेत नयाँ उचाइमा लगेको स्मरण गर्दैै उनले नाका आसपासका स्थानीयवासीले थप व्यवस्थित बनाउन सहयोग गर्नुपर्नेमा जोड दिए । सांसद सापकोटाले ठूलो मेहनत र प्रयासबाट नाका सञ्चालनमा आउन लागेकाले कुनै पनि प्रकारको कमजोरी हुुन नदिन सबैले ध्यान दिनुपर्ने बताए ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला गरेको सार्थक प्रयासका कारण नाका खुल्ने अवस्थामा आइपुगेको स्मरण गर्दै उनले थपे, ‘यतिखेर परीक्षणका रुपमा नाका खुल्दै छ, अवाञ्छित गतिविधि नियन्त्रणका लागि सबैको साथ र सहयोग जरुरी छ, नेपाल सरकार, स्थानीय सरकार र नागरिकले आपसी हित र चासोलाई सम्बोधन गर्नुपर्छ ।’ भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले स्थानीय सरकारका तर्फबाट नाका व्यवस्थित गर्न सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भूकम्पपछि करिब बन्द रहेको अध्यागमन कार्यालय स्थापना भइसकेको जानकारी दिए । उनले कार्यालयलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको बताए ।

भन्सार विभागका निर्देशक शिव भण्डारीले भन्सार कार्यालयलाई सञ्चालनमा ल्याउन प्राविधिक तयारी भइरहेको र नाका खुल्नुअगावै सञ्चालनमा ल्याइने बताए । भूकम्पका कारण तातोपानीमा रहेका सम्पूर्ण संरचनामा क्षति पुगेपछि नाका बन्द थियो । नाकामा आवश्यक सबै संचरना निर्माण भइसकेका छन् । अध्यागमन कार्यालय, भन्सार कार्यालय र सुरक्षा निकायका कार्यालय खडा भइसकेका छन् ।

तपाईको प्रतिक्रिया