गण्डकीको आर्थिक वृद्धिदर सबैभन्दा बढी

समाधान संवाददाता २०८० जेठ ३ गते १०:४२

पोखरा ।
चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार आर्थिक वर्ष २०७९/८० को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी सार्वजनिक गरेको तथ्यांकमा गण्डकीको आर्थिक वृद्धिदर सबैभन्दा धेरै हुने अनुमान गरिएको हो । गण्डकीको आर्थिक वृद्धिदर ३.३ प्रतिशत र सबैभन्दा कम बागमती प्रदेशको १.४४ रहने अनुमान गरिएको हो ।

संशोधित अनुमानअनुसार गत आर्थिक वर्षमा गण्डकी प्रदेशको वृद्धिदर सबैभन्दा बढी ६.३५ प्रतिशत देखिएको छ भने सबैभन्दा कम मधेश प्रदेशमा ४.६ प्रतिशत रहनेछ ।

चालु आर्थिक वर्षमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ५३ खर्ब ८१ अर्ब हुने अनुमान गरिएको कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । जसमा सबैभन्दा बढी ३६.८ प्रतिशत योगदानसहित बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब १९ खर्ब ८१ अर्ब हुने अनुमान रहेको कार्यालयले जनाएको छ ।

Advertisement

सबैभन्दा कम ४.१ प्रतिशतको योगदान कर्णाली प्रदेशको उपभोक्ताको मूल्यमा करिब २ खर्ब १ अर्ब रुपैयाँको हाराहारीमा हुने अनुमान रहेको छ । बागमती प्रदेशपछि कुल गार्हस्थ्य उत्पादनमा बढी योगदान पु¥याउने प्रदेशहरूमा क्रमशः कोशी, लुम्बिनी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेश छन् ।

चालु आर्थिक वर्षमा कोशी प्रदेशको आर्थिक वृद्धिदर २.० प्रतिशत, मधेश प्रदेशको १.६९ प्रतिशत, लुम्बिनीको २.०६ प्रतिशत, कर्णाली प्रदेशको १.९१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.७८ प्रतिशत वृद्धि हुने तथ्यांक कार्यालयको प्रक्षेपण छ ।

Advertisement

बागमतीबाहेक सबै प्रदेशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी छ । औद्योगिक वर्गीकरणअनुसार आर्थिक क्रियाकलाप हेर्दा गत आर्थिक वर्ष र चालू आर्थिक वर्ष बागमती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी रहने अनुमान छ ।

राष्ट्रिय तहमा दोस्रो हिस्स ओगटेको व्यापार क्षेत्र कोशी, मधेस र लुम्बिनी प्रदेशमा दोस्रो हिस्सामै कायम रहेको छ भने वागमती प्रदेशमा घरजग्गा सम्बन्धी कारोबार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो छ । यसैगरी गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो रहेको छ भने मधेस प्रदेश बाहेक सबै प्रदेशहरुको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिएको निर्देशक भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया