स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य सामग्री

पोखरा ।
पोखरा महानगरपालिकामा कार्यरत ६ सय ५६ सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । महानगरपालिकाको स्वास्थ्य महाशाखाद्वारा आयोजित कार्यक्रममा प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ लगायतले ती सामग्री वितरण गरेका हुन् ।
प्रमुख आचार्यले नागरिकको स्वास्थ्य सुरक्षाको सवालमा महिला स्वास्थ्य स्वयंसेविकाले गरेको सेवा र खर्चिएको समय निकै महत्वपूर्ण रहेको बताए । ‘निस्वार्थ सेवाको भाव सामाजिक रूपमा किट ब्याग बोकेर यहाँहरूले गौरवका साथ देखाउनु भएको छ, यहाँहरूको महानता, समर्पण र सेवाप्रति म नतमस्तक छु,’ आचार्यले भने ।
महानगरको टोल टोलमा पुगेर स्वास्थ्य सचेतनाको जागरण ल्याउने र मानिसलाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउने स्वास्थ्य स्वयमसेविकालाई खटाई अनुसारको सेवा, सुविधा दिन नसकिएको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षबाट यसलाई सम्बोधन गर्न विशेष पहल गरिने जनाए । ‘स्वयंसेकिाहरूको सेवा, सुविधाका विषयमा हामीले पनि महसुस गरेकै विषय हो ।
आगामी बजेटमा स्वास्थ्य स्वयंसेविकाको सेवा, सुविधा बढाउने मेयर, उपमेयरको आश्वासन
आगामी आवदेखि यसमा थप केही व्यवस्था गर्ने सम्बन्धमा विशेष पहल गरिनेछ ।’ स्वास्थ्यका हिसाबले मानवीय सेवामा उनीहरूले दिएको समय अतुलनीय रहेको उनले बताए ।
उपप्रमुख गुरुङले आधारभूत सेवाको पहुँच नपुगेका दूर दराजमा पुगेर सरकारको उपस्थिति देखाउने स्वयंसेविकाको योगदान उल्लेखनीय रहेको बताइन् । महिला, बालबालिका र वृद्धावृद्धलाई अप्ठ्यारो परेका बेला पहिलो सेवकको रूपमा उपस्थिति जनाउने महिला स्वास्थ्य स्वयंसेविका आफैंमा अनुकरणीय भएको उल्लेख गरिन् । ‘सरकारको तर्फबाट तपाईहरुलाई जति सम्मान दिनुपर्ने हो, त्यो हुन सकिरहेको छैन,’ उपप्रमुख गुरुङले भनिन्, ‘पोखरा महानगरपालिकाको क्षमताले भ्याएसम्म आगामी बजेटमा सम्बोधन गर्ने प्रयत्न गरिनेछ ।’
पोखरा महानगरपालिका वडा नं.२ का वडाध्यक्ष दिवसमान प्रधानांगले स्वयंसेविकाहरुलाई आवश्यक सामग्रीको व्यवस्था गरिनुपर्ने बताए । उनीहरूलाई आवश्यक सम्पूर्ण प्रकारका सामग्रीसहित सेवा निवृत्तपश्चात् पाउने उपादानमा समेत वृद्धि गर्नुपर्नेमा उनले जोड दिए ।
पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगीले स्वास्थ्य स्वयंसेविकाले टोल टोलमा पुगेर स्वास्थ्य शिक्षाको चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान गरेको जनाइन् । महानगरको स्वास्थ्य समितिका उपाध्यक्ष पूर्ण लामाले महानगरद्वारा सञ्चालित स्वास्थ्य संस्थाहरूको सेवा विस्तार र क्षमता अभिवृद्धि आवश्यक रहेको जनाए । महानगरद्वारा सञ्चालित अस्पताल, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, स्वास्थ्य चौकी लगायतको सेवा विस्तार गर्दै ती स्वास्थ्य संस्था विश्वासिला र भरपर्दा बनाउनुपर्ने उनले औंल्याए ।
स्वास्थ्य कार्यालय कास्की प्रमुख बद्री अर्यालले महिला स्वास्थ्य स्वयंसेविका व्यक्तिमात्र नभएर सरकारको प्रतिनिधिका रूपमा जनताको घरदैलोमा पुग्ने गरेको जनाए । देशभरि मातृ शिशु मृत्युदर घटाउने कार्यमा उनीहरूको योगदान महत्वपूर्ण रहेको अर्यालको भनाइ छ ।
महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख कृष्ण अर्यालले महिला स्वास्थ्य स्वयम सेविकाको सक्रियताका कारण सामाजिक रूपमा धेरै परिवर्तन् भएको विचार राखे । ‘बच्चाको नाभी काट्नका लागि पुरानो हँसिया राख्ने प्रवृत्ति अन्त्य भएको छ, पखला लाग्दा पानी खानु हुँदैन भन्ने मान्यता पनि हटेको छ,‘ उनी भन्छन्, तपाईहरुका कारण बालबालिकालाई पोलियो थोपा खुवाउनु पर्छ भन्ने सुरुवात भएको छ, समाजमा आयोडिनयुक्त नून खानुपर्छ भन्ने चेतना आएको छ ।’
महिला स्वास्थ्य स्वयंसेविकाले विभिन्न खोप अभियान तथा भिटामिन खुवाउने कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन तथा सम्पन्न गर्नमा लागि योगदान गरेका छन् । उनीहरूलाई महानगरपालिकाले झोला, प्राथमिक उपचारमा प्रयोग हुने औषधीसहितको किट बक्स, लाइट, छाता लगायतका सामाग्री वितरण गरेको हो ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया