पूर्वाधार

घरपझोङको नवनिर्मित भवनमा लामा राखेर पुजा

गाउँपालिकाले ७ करोड ५९ लाख ८५ हजार लागतमा डाँफे हरि सन्त जेभी कन्ट्रक्सनसंग भवन बनाउने सम्झौता गरेको थियो ।

समाधान संवाददाता २०८० जेठ १९ गते १४:३०

जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिकाले आफ्नो भव्य प्रशासकीय भवन बनाएको छ ।संघीय सरकारको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत बजेट साझेदारी जोमसोममा ३ तले आरसीसी पक्की प्रशासकीय भवन निर्माण गरेको हो ।
गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माणको सम्पूर्ण पूर्वाधार तयार भएसंगै घरपझोङ गाउँपालिकाले बिहिबार बिहान स्थानीय लामाहरु राखेर क्षमा पुजा अर्थात स्वस्ति शान्ति पुजा गरेको गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । पुजाका लागि घरपझोङ गाउँपालिका अन्तर्गत स्याङ,मार्फा र ठिनी गुम्बाका ७ जना लामाहरुले बुद्धिस धर्म परम्परा अनुसार स्वस्ति शान्ति पुजा गरेको अध्यक्ष लालचनको भनाई छ ।‘गापाको नयाँ भौतिक संरचना निर्माण हालै सकियो,निर्माणको क्रममा अनिष्ठ हुने सामान प्रयोग भएमा र भवन रहेको जग्गा शुभ रहोस भन्ने कामना गर्दै पुजाआजा गरेका हौं,अध्यक्ष लालचनले भने,‘अब स्वस्ति शान्ति पुजा सक्यौं,अब जतिबेला सर्दा पनि हुन्छ, हामी उपयुक्त समय मिलाएर नयाँ प्रशासकीय भवनमा सर्नेछौं ।’


घरपझोङ गाउँपालिकाले नियमित कार्यालय खुल्ने समय अगावै पुजाआजाको कार्यक्रम तय गरेको थियो । प्रशासकीय भवनको स्वस्ति शान्ति पुजामा गाउँपालिका सबै जनप्रतिनिधि र कर्मचारीहरुले सहभागीता जनाएका थिए ।पुजापछि गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र उपाध्यक्ष जमुना थकाली लगायतका जनप्रतिनिधिले पुजामा सहयोग गर्ने लामाहरुलाई गाउँपालिका भित्र रहेका धार्मिक तथा पर्यटकीय गन्तव्य समेटिएको फोटो मायाको चिनो स्वरुप प्रदान गरेका थिए ।


यसअघि घरपझोङले आर्थिक वर्ष २०७८÷०७९देखि भवन बनाउने काम थालेको थियो । गाउँपालिकाले ७ करोड ५९ लाख ८५ हजार लागतमा डाँफे हरि सन्त जेभी कन्ट्रक्सनसंग भवन बनाउने सम्झौता गरेको थियो । अहिले प्रशासकीय भवनको ३ तले भौतिक संरचना निर्माणका साथै रंगरोगन र फिनिसिङको काम सबै सकिएको गापाका ईन्जिनीयर सकलदेव शर्माले जानकारी दिए ।
घरपझोङको नयाँ प्रशासकीय भवनमा कुल ३२ वटा कोठा छन् । यो मुस्ताङकै ४ स्थानीय तहमा निर्माण भएको प्रशासकीय भवन मध्ये नमूना प्रशासकीय भवन रहेको दावी गरिएको छ । भवनमा अध्यक्ष र उपाध्यक्षको अलग÷अलग कार्यकक्ष सहितको सचिवालय कक्ष ,न्यायिक समितिको कार्यकक्ष,सभाहल,प्रशासकीय प्रमुखको कार्यकक्ष,पालिका अन्तर्गतका सबै बिषयगत शाखाका अलग÷अलग कार्यकक्ष,स्तनपान कक्ष,सेवाग्राही अपांगमैत्री ग्राउन्ड फ्लोर र शौचालय आदी छन् ।
निकै आर्कषक र भव्य घरपझोङको प्रशासकीय भवन जोमसोम बजारको कालिगण्डकी पक्की पुलको पश्चिमतर्फ मुख्य राजमार्गसंगै जोडिएकाले यो भवन आन्तरिक पर्यटकका लागि अवलोकनको केन्द्र समेत बन्ने विश्वाश गरिएको छ ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया