जोमसोममा १२ थान आधुनिक सीसी टिभि जडान

समाधान संवाददाता २०८० जेठ २४ गते १६:१९

जोमसोम—धार्मिक तथा पर्यटकीय हिमालपारीको जिल्ला मुस्ताङको जोमसोम बजारक्षेत्रमा आधुनिक सीसी टिभि जडान गरिएको छ ।घरपझोङ गाउँपालिकाले मुस्ताङको मुटु जोमसोम बजारक्षेत्रमा पर्यटक तथा सर्वसाधारण र व्यवसायीहरुको शान्ति सुरक्षा कायम गर्न ,संम्भावित अपराध रोकथाम तथा न्यूनिकरण ,सवारी दुर्घटना,अवान्छित गतिविधि र जोमसोम बजार क्षेत्रलाई प्रदुषण मुक्त राख्न १२ थान सीसी टिभि जडान गरेको हो ।


गाउँपालिकाले वार्षिक कार्ययोजना अन्तर्गत पालिकाको वडा ३ को पुथाङ एअरपोर्टदेखि वडा—४ जोमसोम क्षेत्रको विभिन्न सडक मार्ग तथा वस्तीहरुमा सीसी टिभि जडान गर्न ९ लाख ८० हजार रुपैया विनियोजन गरेको थियो । जडानका लागि स्काई लिंक टेक्नोलोजीसंग ठेक्का सम्झौता गरेको थियो । जोमसोम बजार क्षेत्रमा सीसी टिभि जडान गर्न ५ महिना समय खर्चिएर कम्पनीले सर्वे अध्ययन पुरा गरेको थियो । कम्पनीले सर्वेपछिको एक महिना लगाएर जोमसोम र पुथाङ एअरपोर्ट क्षेत्रमा सीसी टिभिसहित आवश्यक उपकरण जडान गरिसकेको छ ।


पछिल्लो समय सडक यातायातको सहजतासंगै मुस्ताङमा बर्सेनि ५ लाख भन्दा बढी आन्तरिक पर्यटक र बर्सेनि ६० हजार भन्दा बढी विदेशी पर्यटक मुस्ताङ भित्रिने भएकाले पनि संम्भावित अपराध र चोरी शिकारीका घटना घट्न नदिन सीसी टिभि जडान गरिएको बताईएको छ । यसका अतिरिक्त विभिन्न जिल्लाका मानिसहरु रोजगारी र ज्यालामजदुरी गर्न मुस्ताङ आउने भएकाले मुस्ताङ जिल्ला मिश्रित वस्तीका रुपमा रुपान्तरित हुँदैछ ।

Advertisement

सडक मार्गबाट आउने पर्यटक तथा व्यवसायीहरुले जथाभावी जहाँपायो त्यही फोहोर मिल्काईदिने हुनााले पनि यि सबैको निगरानी गर्न सीसी टिभि जडान गर्नु परेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । घरपझोङ गाउँपालिकाको आर्थिक सहयोगमा जडान गरिएको सीसी टिभिको कन्ट्रोल रुमको जिम्मा जिल्ला प्रहरी कार्यालयमा दिएको अध्यक्ष लालचनको भनाई छ ।

गाउँपालिकाले सीसी टिभिको सम्पूर्ण स्वामित्व जिल्ला प्रहरी कार्यालय मुस्ताङले हस्तान्तरण गरेको छ भने ,सीसी टिभिमा देखिने प्राविधिक समस्या र मर्मत संम्भार गाउँपालिकालेनै व्यवस्था मिलाईएको अध्यक्ष लालचनले बताए ।

Advertisement


प्रमुख जिल्ला अधिकारी अनुप केसीले विकासका लागि सडक र पूर्वाधार मात्र ठुलो नहुने र यसका लागि शिक्षा,स्वास्थ्य, अपराध नियन्त्रण र शान्ति सुरक्षा महत्वपूर्ण भएको बताए । प्रविधिको सहायताले नै प्रहरीलाई शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्न सहज हुने उल्लेख गर्दै प्रजिअ केसीले अब चाँडै मुक्तिनाथ मन्दिरमा सीसी टिभि जडान गर्ने योजना रहेको बताए ।

घरपझोङद्धारा जडान गरिएको सीसी टिभिको बुधबार पालिका अध्यक्ष मोहनसिंह लालचन र प्रमुख जिल्ला अधिकारी अनुप केसीले संयुक्त रुपमा शुभारम्भ गरे ।सो अवसरमा जिल्ला प्रहरी कार्यालयको सीसी टिभि कन्ट्रोल रुमको टिभि स्लाईडमा कैंद भईरहेको भिडियो दृष्य फुटेज लगायतका विषयमा सरोकारवालाहरुलाई प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिएका छन् । कार्यक्रममा प्रशासन,सुरक्षा निकाय,जनप्रतिनिधि,कर्मचारी,पर्यटन व्यवसायी,यातायात व्यवसायी र स्थानीयबासीले सहभागीता जनाएका थिए ।


जोमसोम बजार र एअरपोर्ट क्षेत्रमा सीसी टिभि जडान सम्पन्न भएसंगै अब २४ सै घण्टा पर्यटक तथा सर्वसाधारणको हरेक गतिविधि क्यामेरामा कैद हुँने जनाईएको छ । मुस्ताङको भौगोलिक अवस्था र यहाँका वातावरणीय अवस्थालाई दृष्ट्रिगत गर्दै अत्याधुनिक सीसी टिभि जडान गरिएको स्काई लिंक कम्पनीका ईन्जिनीयर राजेन्द्र तिवारीले जानकारी दिए । उनले वर्षायामको हावापानीले क्षति नगर्ने वाटर प्रुफ,हावाको मोसन डिटेक्टर,५ मेघा पिक्चर्सको कलरफुल रेमिन र क्यामेरामै मेमोरी कार्ड राख्न मिल्ने सीसी टिभि जडान भएको ई तिवारीको भनाई छ ।


गाउँपालिकाले जडान गरेको सीसी टिभिकोकन्ट्रोल क्षमता ८ टिभिको रहेको छ ।प्रत्येक सीसी क्यामेराले करिव १०० मिटर दुरी टाढाको दृष्य कैद गर्न सक्छ । भुगोल ,नेटवर्क र हावाको प्रभावले ब्लुतुथ र वाईवाई कनेक्सनबाट अपेक्षित परिणाम आउन नसक्ने भएकाले सबै सीसी ठाउँका क्यामेराबाट अप्टिकल फाईबरबाट कन्’ट्रोल रुममा जडान गरिएको कम्पनीको भनाई छ ।


जोमसोम बजार क्षेत्रमा सीसी टिभि जडान भएसंगै अपराध अनुसन्धानमा सहयोग पुग्ने विश्वाश गरिएको छ । घरपझोङ गाउँपालिकाले आगामी वर्षहरुमा आवश्यकता र औचित्यताका आधारमा सबै पर्यटकीय गतिविधि हुने ठाउँ र धेरै मानिसहरुको आउजाउ हुने ठाउँमा सीसी टिभि जडान गर्दै जाने योजना रहेको बताईएको छ । यता जिल्ला प्रहरी कार्यालयले मुस्ताङको घाँसा,लेते,मार्फा,छुसाङ,कागबेनी र मुक्तिनाथ मन्दिर परिसरमा सीसी टिभि जडान गर्न पहल भईरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया