गुरिल्ला अल्ट्रा ट्रेल म्याराथन असार २ गते

रुकुम (पूर्व) ।
लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वको भूमेमा ‘पाँचौ गुरिल्ला अल्ट्रा म्याराथन २०८०’ प्रतियोगिता हुने भएको छ । भूमे र थबाङ गाउँपालिकाको भाग समेटेर यस वर्ष पनि असार २ गते पाँचौ गुरिल्ला म्याराथन प्रतियोगिता भूमे गाउँपालिकाले आयोजना गरिने भएको छ ।
तत्कालीन माओवादीले ०५२ सालदेखि १० वर्ष सञ्चालन गरेको सशस्त्र युद्धताका युद्धमा गुरिल्लाहरुले हिँडेको गोरेटो, बंकर, तालिम र सेल्टर लिएका सुन्दर गाउँ वस्तीहरु समेटर दुई जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
अघिल्लो गाँउपालिका नेतृत्वले प्रायोजन गरिएको गुरिल्ला म्याराथनलाई निरन्तरता दिइरहेका भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताए । ‘गुरिल्ला म्याराथन डौड देश विदेशमा समेत चर्चा कमाएको छ, यसलाई आगामी वर्षहरुमा पनि गाउँपालिकाले निरन्तरता दिनेछ,’ उनले भने ।
रुकुम(पूर्व)को महत गाउँबाट सुरु हुने दौड, लाबाङ, रोल्पाको घामचिन, धङनेई, जलजला, चलाबाङ, थबाङ, मारीङ हुदै खावाङ बजार छिचोलेर ५० किलोमिटर लामो दुरीको हुनेछ । १० किमी फन रन अन्तर्गत महतगाउँबाट सुरु भई सेवङ्पो, खाबाङ तिला, मारिङ, खाबाङ गाउँ हुँदै खाबाङ बजारमा टुंगिने छ ।
‘म्याराथन खेलले यो क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवद्र्धनमा ठुलो सहयोग पुगेको छ । पालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गरेर खेललाई ब्राण्डिङ गरेका छौ जसमा कार्यपालिका सदस्यहरु र स्थानीय युवाको प्रमुख भूमिका छ,’ भूमे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिं श्रेष्ठले जानकारी गराए । २०७४ मा सहासिक खेल पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले गुरिल्ला ट्रेल रेस पहिलोपटक सुरु गरेको म्याराथनका संस्थापक तथा अभियन्ता सुनील रोका मगरले बताए ।
स्थानीय संस्कृति, जनजीवन, भूगोलका साथै युद्व पर्यटनलाई विकास र विस्तार गर्दै तत्कालीन जनयुद्धको ऐतिहासिकलाई प्रचार गर्न र जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य अनुरुप प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
यो वर्ष ५२ किमी र १० किमीको दुई विधामा महिला र पुरुषतर्फ म्याराथन प्रतियोगिता हुनेछ । ५२ किमीको अल्ट्रा म्याराथनका प्रथम, दोस्रो, तेस्रो र चौथौ विजेतालाई क्रमश ५० हजार ३५ हजार, १५ हजार र ८ हजार पुरस्कार राशि राखिएको छ । १० किमी फन रेसतर्फको विजेतालाई क्रमश १० हजार, ७ हजार ५ सय, ५ हजार र २५ सय राखिएको छ ।
तपाईको प्रतिक्रिया