
सञ्जय रानाभाट, पोखरा ।
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गण्डकी प्रदेशले शुक्रबार बजेट ल्याउँदै छन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार गण्डकी सरकारले आगामी वार्षिक बजेट सार्वजनिक गर्न लागेका हो ।
शुक्रबार अपरान्ह ३ बजे बस्ने प्रदेशसभा बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री जीतप्रकाश आलेमगरले बजेट प्रस्तुत गर्ने छन् ।
३३ अर्ब आसपासको बजेट ल्याउने सरकारको तयारी छ । कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन र सिँचाइ, प्रदेश गौरवका आयोजना पूरा गर्न जोड दिँदै बजेट ल्याउने सरकारकी प्रवक्ता सरस्वती आर्यल तिवारीले बताइन् ।
वर्तमान आर्थिक संकटका कारण आगामी वर्षका लागि ल्याइन लागेको बजेटको आकार घट्ने प्रवक्ता तिवारीले सुनाइन् ।
प्रदेशको राजस्व लक्ष्य अनुसार नउठेको र समानीकरण अनुदान घटेका बेला आउने बजेट गत वर्षभन्दा खुम्चिने निश्चित
प्रदेशको आयस्रोत वृद्धि नभएको र राजस्व पनि कम उठेकै कारण प्रदेश सरकारले आगामी वर्षका लागि ल्याउन लागेको बजेट खुम्चिने पक्का छ । प्रवक्ता तिवारीले आगामी बजेट विगतको भन्दा घटेर आउने जनाइन् । ‘वर्तमान अवस्थालाई मूल्यांकन गरी प्रदेश सरकारले बजेट ल्याउँछ । प्रदेशको बजेट ३२/३३ अर्ब हारहारीमा आउँछ,’ उनले थपिन् ।
यसअघि प्रदेशले आफ्नो क्षमताभन्दा ठूलो बजेट ल्याउँदा कार्यान्वयनमा चुनौती देखिएको छ । चालु आर्थिक वर्षमा अघिल्लो सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याए पनि कार्यान्वयनमा चुनौति देखिएको छ । सरकारले लिएको आन्तरिक राजस्वको लक्ष्य पूरा भएन भने पुँजीगत बजेट खर्च हुन सकेन । आम्दानी र खर्च गर्ने दुवै क्षमता कम भएपछि बजेटको आकार घट्ने अर्थमन्त्री कार्यालय स्रोतले जनाएको हो ।
केन्द्रबाट आउने समानीकरण अनुदान पनि कम भएपछि प्रदेश सरकारले बजेटको आधार घटाउने भएको हो । ‘प्रदेश नीति तथा योजना आगोगले सिफारिस गरेको मन्त्रालयको सिलिङ अनुसार काम भइरहेको छ,’ एक कर्मचारीले भने, ‘सिलिङभन्दा तल माथि पनि हुन सक्छ । तर, हामीले योजना हाल्दा अत्यावश्यक योजनालाई प्राथमिकता दिएका छाैं ।’ आउने वर्ष सरकारले ३० लाख्भन्दा तलका योजनालाई प्राथमिकतामा नदिने गरी बजेट आउने सरकारको दाबी छ ।
प्रदेशमा उठेको राजस्वलाई आधार मान्दै बजेट निर्माण गरिएको हो । सरकारले बजेट घटाएर ल्याउने भए पनि स्वास्थ्य क्षेत्रको बजेट भने चालु वर्षकै हारहारीको हुनेछ । खानेपानी, सिँचाइ र ऊर्जा केन्द्रीत भई बत्ती उज्यालो गण्डकी प्रदेश बनाउने गरी बजेट आउने सरकारकी प्रवक्ता तिवारीले बताइन् । ‘कृषिका कार्यक्रमलाई प्रभावकारी बनाउने योजना छ । चक्लाबन्दीलाई निरन्तरता दिने भन्ने छ । खानेपानी, शिक्षाका कुरालाई यो सरकारले निरन्तरता दिन्छ,’ तिवारीले भनिन् ।
प्रदेश सरकारले चालु आवका लागि ल्याएको बजेटमा कर तथा राजस्वबाट ११ अर्ब ३४ करोड ३७ लाख उठाउने लक्ष्य लिइएको थियो । तर, लक्ष्यको आधामात्र राजस्व उठेको अवस्था छ । केन्द्र सरकारले दिने समानीकरण अनुदान पनि यो वर्ष १ अर्बले घटेको छ ।
सोही अनुसार नै नीति तथा योजना आयोगले बजेट बनाउन मन्त्रालयहरुलाई सिलिङ तोकिदिएको छ । सिलिङ तोकिए पनि थोरै तलमाथि हुने अर्थ मन्त्रालयले जनाएको छ । ‘योजना आयोगले दिएको सिलिङलाई आधार बनाएर बजेट बनाउने काम भइरहेको छ । तर, सिलिङ अनुसार केही तलमाथि पनि हुन सक्छ । धेरै तलमाथि त पर्दैन तर, केही तलमाथि पर्छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो । बजेटमार्फत सरकारले प्रशासनिक खर्च घटाउने र अनुत्पादक क्षेत्रमा खर्च कटौटी गर्ने योजना आउने दाबी गरिएको छ ।
गण्डकीको विगतको बजेट
आर्थिक वर्ष बजेट
०७४/७५ १.२ अर्ब
०७५/७६ २४.२ अर्ब
०७६/७७ ३२.१३ अर्ब
०७७/७८ ३४.८४ अर्ब
०७८/७९ ३०.०३ अर्ब
०७९/८० ३५.९१ अर्ब

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।







जाडो छल्न माथिल्लो मुस्ताङका विद्यार्थी बेँसी झरे
व्यक्तिगत विवरण सच्याउन बाटो खुल्यो
हिउँदभरि सुनसान हुन्छ बुकीपाटन
प्रभु ग्रुपका अध्यक्ष भट्टचन सिआईबी हिरासतबाट रिहा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया