सेदीमा १ अर्ब लगानीमा दोर्जे फार्म रिसोर्ट

पोखरा ।
लेकसाइडको सेदीमा पर्यटक आकर्षित गर्नका लागि विभिन्न नयाँ अवधारणा ल्याउन थालिएको छ । बाल्कोनीसहितको भिल्ला घर, नयाँ शैलीमा सेवा, सुविधा भएका होटल तथा फार्म हाउस सञ्चालनमा आउन लागेको हो । सेदीमा पर्यटनको दीर्घकालीन सम्भावना देखेर दोर्जे लामाले पाँच वर्षको तयारीपछि पर्यटक लक्षित फार्म हाउसको अवधारणा रिसार्ट सञ्चालनमा ल्याएका हुन् । सेदी सराङकोट केबलकारभन्दा माथि ३१ रोपनीमा रिसोर्ट छ ।
पोखरा घुम्न आएका पाहुनालाई फार्म हाउसमा स्वागत गरी स्वदेशमै उत्पादित खानेकुराहरु खुवाउने र आरामदायी बसोबासको व्यवस्था गर्ने उद्देश्यका साथ फार्म हाउसको अवधारणा ल्याएको लामाले बताए । ‘स्वदेश तथा विदेशका पर्यटन क्षेत्रमा मेरो सामान्य घुमाइ र अध्ययनबाट यस्तो कन्सेप्ट ल्याएको हुँ । खाना आफ्नो स्वास्थ्यसँग सिधै जोडिएको हुनाले मान्छेहरु आर्गानिक, थोरै खाने मीठो खाने, राम्रो र शुद्ध खाने भन्ने अवधारणा आएको छ,’ उनले भने ।
फर्म हाउसमा प्राविधिक, व्यावसायिक कृषि र पर्यटनसम्बन्धी गतिविधि देख्ने र बुझ्ने अवसर पाइन्छ । जिम हल, स्विमिङ पुल पनि फर्म हाउसमा छन् । भिल्लाको बालकोनीबाट फेवातालसहितको मनोरम दृष्य देख्न सकिन्छ । हनिमुन मनाउन आउने जोडीलाई लक्ष्य गरी फर्म हाउस सञ्चालनमा ल्याइएको लामा बताउँछन् ।
यहाँ कोठाको शुल्क दिनको २५ हजारबाट सुरु हुन्छ । असार ३ गतेबाट बुकिङ खुल्ने फार्म हाउस ६ गतेबाट सफ्ट ओपनिङ गर्ने तयारी छ । कंक्रिटको जीवनबाट प्राकृतिक जीवनमा डोहो¥याउनका लागि फार्म हाउस पर्यटनको राम्रो गन्तव्य हो ।
नेपालमै भिल्लामध्ये फार्ममा कोठा ठूलो भएको दाबी लामाले गरे । ‘यहाँ आउनले ग्राहकलाई अनुभव दिन यहाँका भिल्लासहितको बालकोनी सञ्चालनमा ल्याएइको छ,’ उनी भन्छन् ।
मौलिक नेपाल ढुंगा कुदेर फार्म हाउस बनाइएको छ । आफ्नो रुचिको क्षेत्र पर्यटन भएकाले यो क्षेत्रमा केही फरक तरिकाले काम गर्न सकिन्छ कि भनेर लागिपरेको सुनाए । हालसम्म १ अर्ब लगानी भइसकेको छ । फार्म हाउसमा अझै धेरै काम गर्न बाँकी रहेकाले तत्कालै लगानीको प्रतिफल आउने उनको अपेक्षा छैन ।
‘काम गर, फलको आशा नगर’ भनेझै तत्कालै नाफा हुने अवस्था नभए पनि दीर्घकालीन रुपमा केही प्रगति होला कि भन्ने आशाका साथ लामा यसमा तल्लीन छन् । यद्यपी फार्म हाउस सुरु गरेपछि नयाँ अवधारणाको अनुभव लिन पर्यटकहरु आउने उनको अपेक्षा छ । फार्म हाउसमा अहिले २३ बालकोनीसहितका कोठा छन् । १९ डिलक्स रुम र ३ सुइट रुम छन् ।
तपाईको प्रतिक्रिया