संक्रामक तथा सरुवा रोग अस्पतालमा लिफ्ट नहुँदा बिरामीलाई सकस

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गरेका छन् । निरीक्षणमा पुगेका मुख्यमन्त्री पाण्डेले आइतबार अस्पतालको निरीक्षण गर्दै अहिले भइरहेको भन्दा स्तरीय र बिस्तारित सेवा दिन निर्देशन दिएका हुन् ।
संक्रामक तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका बिरामीबाट अन्य रोगका बिरामीमा संक्रमण नहोस् भन्ने उद्देश्यले उपचार सेवामा विशेष ध्यान दिन मुख्यमन्त्री पाण्डेले सुझाव दिए । ‘सेवा थप सुधार गरेर यहाँ आउने बिरामीलाई सहुलियतमा सजिलो गरी सुविधा दिनुपर्छ,’ मुख्यमन्त्री पाण्डेले भने ।
अस्पतालमा उपचार गर्न जाने बिरामीको सजिलोका लागि र्याम्प निर्माण भएको भएपनि लिफ्ट नहुँदा समस्या हुने गरेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर विकास गौचनले मुख्यमन्त्री पाण्डेलाई जानकारी गराए । बिरामीको सुरक्षाका लागि लिफ्ट राख्न जरुरी छ । ¥याम्प भएर आउजाउ गर्ने ठाउँ पनि व्यवस्थित गर्नुपर्ने रहेछ,’ डाक्टर गौचनले मुख्यमन्त्रीलाई भने ।
मुख्यमन्त्री पाण्डेले अस्प्तालमा रहेका बिरामीको अवस्था, उपचार गराउन आउने दर, प्रविधि र उपकरणको उपलब्धता, जनशक्तिको अवस्था, भौतिक अवस्था लगायत बारेमा जानकारी लिएका थिए । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव बिनोदबिन्दु शर्मा, अस्पतालका डाक्टर बिकास गौचन लगायतले अस्पतालको अवस्थाका बारेमा जानकारी गराएका थिए । अस्पतालले छिट्टै डायलायसिस सेवा सुरु गर्ने गरी तयारी गरिरहेको छ । उक्त अस्पतालबाट जनरल ओपिडि सेवा देखि बिरामी भर्ना, उपचार नियमित हुँदै आएको छ ।
सरुवा तथा संक्रामक रोग लागेका बिरामीलाई छुट्टै आइसोलेट गरेर अन्य बिरामीलाई छुट्टै सेवा दिने गरिएको डाक्टर गौचनले बताए । पोखरा महानगर ३० स्थित प्रदेश सरकार मातहतको उक्त अस्पतालको अहिले नयाँ भवन निर्माणाधीन छ । निर्माणाधीन भवनको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले छिटो काम सम्पन्न गराउनुपर्नेमा जोड दिए ।
तपाईको प्रतिक्रिया