व्यास नगरपालिकाको सार्वजनिक सुनवाइ

समाधान संवाददाता २०८० साउन १ गते १२:५०

दमौली ।
तनहुँको व्यास नगरपालिकाले आव ०७९/०८० को तेस्रो चौमासिक तथा वर्षभरमा सम्पादन गरेका वार्षिक कार्यक्रम र विकास आयोजना, सुशासन तथा सेवा प्रवाह सम्वन्धमा आईतबार सार्वजनिक सुनुवाइ भएको छ ।

Advertisement


नगरपालिकाको सभाहलमा आयोजित सो कार्यक्रममा ०७९ चैतदेखि २०८० असार मसान्तसम्म नगरपालिकाबाट सम्पादन भएको विभिन्न विकास आयोजना तथा सेवा प्रवाहको बारेमा आम नागरिकलाई जानकारी गराएको थियो । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विषयगत शाखा प्रमुखहरु तेस्रो चौमासिकमा भएको काम कारबाहीको जानकारी गराएका थिए ।


नगरपालिका तथा वडामार्फत सम्पन्न भएका काम कारबाहीमा आम नागरिकले जिज्ञासा, प्रश्न र गुनासो राखेका थिए । सम्बन्धित प्रश्नको बारेमा नगरप्रमुख न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले प्रष्ट पारेका थिए ।


नगरपालिका तथा वडा कार्यालयहरुको बिचमा नागरिकको सम्बन्ध र संवाद स्थापित गर्न र त्यस्तो सम्बन्धको माध्यमबाट गाउँपालिकाको समग्र विकास गर्न र नागरिकको प्रत्यक्ष सहभागिताको माध्यमबाट नगरपालिकाको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाई जिम्मेवारी र जवाफदेही संस्कृतिको विकास गर्न सार्वजनिक सुनुवाइको आयोजना गरिएको नगरप्रमुख न्यौपानेले बताए ।


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदान गरेको अधिकारको आधारमा नै सार्वजनिक सुनुवाइ गरिएको भन्दै नगरप्रमुख न्यौपानेले नगरपालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजानिक गरी त्यस सम्बन्धमा सार्वजनिकस्थलमा सेवाग्राही नागरिकले उठाएका प्रश्नमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त सुझावलाई ग्रहण गरी जिम्मेवार संस्कृतिको विकास गर्न कार्यक्रमको आयोजना गरिएको बताए ।

Advertisement


प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सार्वजानिक सुनुवाइको क्रममा आम जनताको गुनासो सुन्ने, समाधानका विषयमा छलफल हुने हुँदा यसको महत्व विशिष्ट रहेको बताए । सार्वजनिक सुनुवाइको माध्यमबाट सेवाग्राही नागरिकले उठाएका प्रश्नमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त सुझावलाई ग्रहण गरी नगरपालिकाद्वारा सम्पादन हुने कामलाई अझ नागरिकमैत्री बनाउन सहयोग पुग्ने उनले बताए ।


कार्यक्रममा पूर्वाधार विकास शाखा प्रमुख डा.राजु पौडेल, उद्योग पर्यटन तथा श्रम रोजगार प्रवद्र्धन शाखा प्रमुख राजेन्द्र कार्की, पशु विकास शाखा प्रमुख मनोज विश्वकर्मा, राजस्व शाखा प्रमुख कृष्णराज घिमिरे, घरनक्सा शाखा प्रमुख अमृत केसी, शिक्षा शाखाका नवीन पराजुली, सम्बन्धित शाखाबाट सम्पादन भएका सेवा प्रवाहको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नगरवासीहरुले आफ्नो गुनासो नगरप्रमुख सामु राखेका थिए ।

तपाईको प्रतिक्रिया