१ वर्षमा १७४ किमी बाटो कालोपत्र

पोखरा ।
गण्डकी प्रदेशमा १ वर्षको अवधिमा १ सय ७४ किलोमिटर सडक कालोपत्र, १५ सडक पुल र १२ झोलुंगे पुल निर्माण भएका छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०७९/०८० मा ४ भवन निर्माण भएका छन् ।
पोखरामा बिहीबार भएको वार्षिक समीक्षा कार्यक्रममा मन्त्रालय अन्तर्गतका पूर्वाधार विकास निर्देशनालय, सहरी विकास तथा भवन र पूर्वाधार विकास कार्यालयका प्रमुखहरुले सडक, सडक पुल, झोलुंगे पुल र भवन निर्माणसम्बन्धी आयोजनाको प्रगति विवरण प्रस्तुत गरेका हुन् ।
पूर्वाधार विकास निर्देशनालयका प्रमुख राम पराजुलीले गत आर्थिक वर्षमा १ सय ७४ किलोमिटर सडक कालोपत्र, ७८ किलोमिटर ग्राभेल, १५ सडक पुल र १२ वटा झोलुंगे पुल निर्माण भएका जानकारी दिए ।
‘प्रदेश सरकारले ६ सय ६८ किलोमिटर सडक कालोपत्र, ५ सय ९९ किलोमिटर सडक ग्राभेल, ८५ सडक पुल र ६३ वटा झोलुंगे पुल निर्माण गरेको छ,’ उनले भने, ‘नयाँ आर्थिक वर्षमा थप ३ सय किलोमिटर सडक कालोपत्र, २५ सडक पुल र २० झोलुंगे पुल निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य छ ।’
यस वर्ष ३ सय किमी कालोपत्र, २५ सडक पुल र २० झोलुंगे पुल बनाउने लक्ष्य
सहरी विकास तथा भवन कार्यालयका प्रमुख शोभियत खड्काले गत वर्ष बहुउद्देश्यीय/सामुदायिक, गैर आवासीय भवन, निर्मित भवनको संरचनात्मक सुधार, स्याटालाइट सिटि, सहरी पूर्वाधार र अन्य गरी ४३ वटा योजना सञ्चालन गरेकोमा ३० वटा सकिएको जानकारी दिए ।
स्याटालाइट सिटी कार्यक्रममार्फत् पर्वतको फलेवास नगरपालिका २ र ११ को वडा कार्यालय, पोखरामा २ मन्त्री आवास भवन निर्माण भएका हुन् । महेन्द्रगुफा बृहत विकास परियोजना, संक्रामक तथा सरुवा रोग अस्पताल र प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन निर्माण जारी छन् ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले यसपालि ३० लाखभन्दा कम बजेटका आयोजना नबनाएको जानकारी गराउँदै व्यक्तिगत र व्यवसायिक स्वार्थका योजनामा बजेट परेको भेटिए कार्यान्वयन नगर्ने घोषणा गरे । ‘अर्को वर्ष रुग्ण आयोजनाको काम सम्पन्न भएको अथवा ठेक्का तोडेको विवरण ल्याउनुहोस्,’ उनी भन्छन्, ‘अन्तर मन्त्रालय समन्वय र नीतिगत समस्या समाधानको नेतृत्व हामीले गर्छौं । बजेट बिनियोजन भएका योजना समयमै कार्यान्वयन गर्न साउनको दोस्रो साताभित्र समय तालिका बनाएर काम गर्नुहोस् ।’
गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले आयोजनाहरुको वातावरणीय असर न्यूनीकरण गर्ने योजना कार्यान्वयनका लागि निर्देशिका बनाउन र समस्याग्रस्त आयोजना पहिचान गरेर सहजिकरणको पहल गर्न आग्रह गरे । उनले आवश्यकता र उपयोगिताका आधारमा योजना छनोट गर्ने बिधि बसाल्न सुझाए ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसीराम भट्टराईले गत वर्ष समग्रमा मन्त्रालयले ५७ प्रतिशत बजेट खर्च गरेको जानकारी दिए । ‘गत वर्षदेखि निर्माण भएका सडकको दिगो प्रयोग र मर्मत सम्भारका लागि हेरालु राख्न थालिएको छ,’ उनले भने, ‘यो वर्ष रुग्ण भएका आयोजनालाई पूर्णता दिन र दीर्घकालीन महत्वका बहुवर्षीय योजना कार्यान्वयनमा केन्द्रित भएका छौं ।’
आर्थिक मामिला मन्त्रालयका सचिव विष्णुप्रसाद शर्माले समग्र प्रदेशको करिब ४० प्रतिशत बजेट कार्यान्वयन गर्ने भौतिक मन्त्रालयको प्रगति प्रदेश सरकारको उपलब्धिसँग जोडिने भएकाले बजेट बिनियोजन भएका योजनाको समयमै कार्यान्वयनका लागि कर्मचारीले व्यवसायिक र जिम्मेवार भएर काम गर्नुपर्ने बताए ।
‘गत वर्ष चुनाव, ३ पटक सरकार र मन्त्रालयको नेतृत्व परिवर्तन हुनु तथा अस्वस्थ प्रतिस्पर्धा गरेर आयोजनाको ठेक्का पारेका निर्माण व्यवसायी व्यवसायिक नहुनु जस्ता कारणले अपेक्षाकृत बजेट कार्यान्वयन हुन सकेन्,’ उनी भन्छन्, ‘जनशक्ति अभावको समस्या समाधानका लागि प्रदेश लोक सेवा आयोगसँग समन्वय गरेका छौं । समयमै काम हुने वातावरण बनाउनुहोस् ।’
कार्यक्रममा पूर्वाधार विकास कार्यालयका प्रमुखहरुले दरबन्दी अनुसारका जनशक्ति कमी, भएका जनशक्ति पनि अधिकांश करारका हुहु टुक्रे योजना धेरै हुनु, ठूला आयोजनामा पर्याप्त बजेट नहुनु जस्ता समस्याका विषयमा ध्यानाकर्षण गराएका छन् ।









इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया