विपी नेपाली आन्दोलनको नाम हाेः थापा

पोखरा ।
कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसका संस्थापक एवं पूर्वप्रधानमन्त्री विपी कोइरालाको तुलना राष्ट्रियताको सवालमा कसैसँग हुन नसक्ने उल्लेख गरेका छन् ।
नेपाली कांग्रेस कास्कीले शनिबार पोखरामा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्तिका लागि उत्पादनसँग कांग्रेस’ विषयक परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् । महामन्त्री थापाले कोइराला अघि सारेको समाजवादको अवधारणा प्रत्यक्ष रुपमा उत्पादनसँग जोडिएको जिकिर गरे । ४२ औं विपी स्मृति दिवसको सन्दर्भमा कार्यक्रममा उनले विपी नेपालको परिवेशमा आन्दोलनको नाम भएको जिकिर गरे ।
नेता थापाले भने, ‘उहाँले गरेका व्याख्या पढ्दा, सुन्दा, चिन्तन गर्दा थाहा हुन्छ; विपीको समाजवाद प्रत्यक्ष रुपमा उत्पादनसँग जोडिएको छ ।’ अहिलेको परिवेशमा विपीले कुनै बेला लिएका अडान र दूरदर्शी निर्णयलाई अंगीकार गर्दै अघि बढ्नु नै उनको योगदानको सच्चा सम्मान हुने महामन्त्री थापाले औंल्याए ।
महामन्त्री थापाले आफू सत्यको पक्षमा एक्लै भए पनि उभिने प्रष्ट्याए । पार्टीलाई एकतावद्ध र थप बलियो बनाउन एक्लै उभिन आफू तयार भएको उनले सुनाए । ‘कांग्रेसको केन्द्रीय समितिको बैठक पुनः आइतबार बस्दै छ । त्यहाँ मेरो धारणा आउने नै छ,’ थापाले भने, ‘सत्यको पक्षमा उभिँदा कहिलेकहीँ एक्लै भए पनि उभिनुपर्छ, म उभिन्छु ।’
केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षले थापाको चर्को आलोचना गरेका छन् । थापाप्रति केन्द्रीय सदस्यले पार्टी सभापतिको विरुद्धमा बोलेकाले स्पष्टिकरण माग गरेका छन् । केन्द्रीय समितिको बैठकमा आफूले असल कर्म गर्दा फलको आश नगर्ने बताए । ‘महामन्त्री हुँदा मैले गर्ने कर्म भनेको जे देखें, त्यहीँ बोल्ने हो,’ उनले भने, ‘यसमा तपाईंहरुले भन्नुभएको बाटो नै हिँड्नेछु ।’ कांग्रेसले शुल्क तिर्न नसक्ने, बैंकको लोन तिर्न नसक्नेको पक्षमा बोल्नुपर्ने उनले बताए । ‘उहाँहरुले जसरी कांग्रेसलाई विश्वास गर्नुभएको छ । त्यसैगरी हामीहरुले पनि साथ दिएर भरोसा गर्नुपर्छ,’ उनले भने ।
कांग्रेस सहमहामन्त्री जीवन परियारले गरिब, धनी, जात, धर्मका बन्धन रहेसम्म समृद्धिको यात्रा कठिन हुने विचार राखे । उनले कमजोर र सीमान्तकृत वर्गलाई राज्यले विशेष सुविधा र रोजगारी दिएर विकासको मूल प्रवाहमा समाहित गर्नुपर्ने तर्क गरे ।
कांग्रेस कास्की सभापति किशोरदत्त बरालले विपीको समाजवाद भनेकै उत्पादन भएको तर्क गर्दै उत्पादनबिना समाजवादको कल्पना नहुने र समाजवादविना समृद्धि सम्भव नहुने विचार राखे । कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री कोपिला रानाभाट, संविधानसभा सदस्य कर्ण शाही लगायतले धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया