मन्त्री नै सेवाग्राही बनेर पुगे यातायात

पोखरा ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली बिहीबार पोखराको यातायात कार्यालय पुगे । यातायात व्यवस्था कार्यालय कास्कीको सवारी चालक अनुमतिपत्र र सवारी साधन दर्ता तथा नविकरणसम्बन्धी सेवा दिने कार्यालयमा मन्त्री जुग्जाली सेवाग्राही बनेर अनुगमनमा गएका हुन् ।
सेवाग्राहीसँगै लाइनमा बसेर उनले गुनासा र सुझाव सुने । सवारी चालक अनुमतिपत्रका लागि ट्रायल परीक्षा सञ्चालन गरिने सेन्टर पनि उनले अनुगमन गरे । यसअघि गत जेठ महिनामा पनि मन्त्री जुग्जालीले यातायात कार्यालयहरुको अनुगमन गरी सुधारका लागि कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका थिए ।
सवारी साधन दर्ता तथा नवीकरणसम्बन्धी कार्यालयमा पहिलेको तुलनामा सेवाग्राहीले कम समय लाइन बस्नुपरेको र छिटो सेवा पाएको प्रतिक्रिया दिएका छन् । अहिले ट्रायल परीक्षा बिहान ८ बजेदेखि नै सञ्चालन गर्न थालिएको छ । सवारी चालक अनुमतिपत्रको नवीकरणका लागि अनलाइनबाटै शुल्क तिर्ने व्यवस्था मिलाइएको छ ।
मन्त्री जुग्जालीले यसअघि दिएको निर्देशन कार्यान्वयन भए/नभएको, सेवाग्राही र कार्यालयको समस्या पहिचानका लागि अनुगमन गरेको जानकारी दिए । यातायात कार्यालयका प्रमुखहरु डिल्लीराम रिजाल र जितेन्द्र केसीले सेवाग्राहीलाई बाह्य व्यक्तिको सहयोग बिनै छिटो, छरितो र सहज रुपमा सेवा उपलब्ध गराउने प्रयास गरेको जानकारी दिए । दरबन्दी अनुसारका कर्मचारी नहुँदा समस्या भएका कार्यालय प्रमुखहरुको भनाइ छ ।
यातायात कार्यालयहरुमा चाडै थप जनशक्ति व्यवस्थापन र पोखराको ट्रायल सेन्टरमा सेवाग्राहीको चाप घटाउन बागलुङमा चार पाङ्ग्रेको सवारीको ट्रायल परीक्षा सञ्चालन गर्ने तयारी भएको मन्त्री जुग्जालीले उल्लेख गरे ।
सो क्रममा कार्यालय प्रमुख तथा कर्मचारीहरुले छरितो र सहज रूपमा सेवा उपलब्ध गराउन हरसम्भव प्रयास गरिएको मन्त्रीसमक्ष बताएका थिए । यातायात व्यवस्था कार्यालयको सेवा चुस्त र प्रभावकारी बनाउन मन्त्री जुग्जालीले मन्त्रालयको जिम्मेवारीमा आएको सुरुदेखि नै पहल लिएका थिए । कार्यालयले बिहानी सेवा पनि सुरू गरेपछि अहिले सेवा प्रवाह थप प्रभावकारी बनेको छ ।
राजस्व बुझाउनेदेखि ‘लाइसेन्स’ को लिखित र प्रयोगात्मक परीक्षासमेत बिहान ८ बजेदेखि नै सुरू हुन्छन् । जसले गर्दा कार्यालयमा हुने भीडभाड घटेको छ । कर्मचारीले सहज र छरितो ढंगले सेवा दिन पाएका छन् । दिउँसोमा सेवाग्राहीको चाप थेगिनसक्नु भएपछि कार्यालयले गत जेठदेखि बिहानी सेवा सुरू गरेको थियो ।
बिहानी सेवा सुरू भएपपछि अहिले करिब ३० प्रतिशत सेवाग्राहीले १० बजेअघि नै सेवा लिइसक्ने कार्यालयले जनाएको छ । घन्टौँ लाममा बस्नुपर्ने स्थिति हटेको छ । मन्त्री जुग्जालीले यातायातसम्बन्धी सेवाका लागि कार्यालय धाइरहन नपर्ने स्थितिको सिर्जनाका लागि आफूहरू लागिपरेको सुनाए ।
तपाईको प्रतिक्रिया